विर्तामोड नगरपालिकाबाट तरकारीको समर्थन मूल्य निर्धारण

विर्तामोड–विर्तामोड नगरपालिकाले स्थानीय क्षेत्रमा उत्पादित १६ प्रकारका तरकारीको न्यूनतम समर्थन मूल्य कायम गरेको छ । नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौलाका अनुसार यसलाई कार्यान्वयन गराउन तीन दिनअघि कार्यपालिकाको बैठकले न्यूनतम समर्थन मूल्य अनुदान भुक्तानी कार्यविधि २०८१ समेत पारित गरेको छ ।
नगर क्षेत्रका किसानले उत्पादन गरेको तरकारी बिक्रीलाई सहज बनाउने उद्देश्यले समर्थन मूल्य कायम गरिएको उनले बताए । पालिकाले काउलीको न्यूनतम समर्थन मूल्य प्रतिकिलो २६, बन्दागोवी २४, ब्रोकाउली ३५, खुर्सानी ५४, घिरौँला २६, करेला ३२, भन्टा २६, सिमी ४६, काँक्रा २५, भिन्डी ३६, फर्सी ३१, स्क्वास फर्सी २५, भेँडे खुर्सानी ५१, बोडी ३०, लौका २७ र टमाटरको ३० कामय गरेको उनले जानकारी दिए ।
उनले बजारमूल्य भन्दा थोरै सस्तो मूल्यमा यहाँ उत्पादित तरकारी बिक्री गरिने बताए । कहिलेकाहीँ बजारमा तरकारीको मूल्यमा उतारचढाव हुँदा किसानलाई मर्का नपरोस् भन्ने उद्देश्यले अनुदान भुक्तानी कार्यविधि नै पारित गरेको उनले बताए । ‘किसानलाई मर्का नपरोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भने,‘ तोकिएको मूल्यभन्दा कम मूल्यमा यी तरकारी बिक्री भएमा सो मूल्य बराबर किसानले पाउनेगरी अनुदानबाट उपलब्ध गराउँछौँ, यसो हुँदा किसानलाई घाटा हुँदैन ।’
यसै वर्षबाट तरकारी बिक्रीमा अनुदान दिनका लागि पालिकाले १० लाख बजेट छुट्याएको छ । नगरपालिकाले किसानलाई तरकारीखेतीमा प्रोत्साहन गर्नका लागि एक सय १७ किसान समूह नै बनाएको छ । त्यसमध्ये एउटा मूल कृषक समूह छ । समूहमा उत्पादन गरेको तरकारीलाई बिक्री केन्द्रमार्फत बिक्री गरिँदै आएको उपप्रमुख संग्रौलाले बताए । हाल विर्तामोडका छ वडामा तरकारी बिक्री केन्द्र राखिएको छ ।
उनले विर्तामोडमा उत्पादित तरकारीलगायत भण्डार गर्नका लागि विर्तामोड–७ को वडा कार्यालय नजिकै ९० लाखभन्दा बढीको लागतमा ७० टन क्षमताको चिस्यान केन्द्र निर्माण गरिएको बताए । चिस्यान केन्द्र सञ्चालनमा आएपछि यहाँका किसानलाई ठूलो राहत पुग्ने उनको भनाइ छ । भारतबाट ल्याइएका विषादी हालिएका तरकारीलाई निरुत्साहित गर्न तथा उपभोक्तालाई ताजा तरकारी उपलव्ध गराउन नगरपालिकाले पारीको होइन वारीको खाउँ भन्ने अवधारणा ल्याएको छ ।
विर्तामोडको कृषि उपज बजार कृषिथोकमा मूख्य तरकारी संकलन केन्द्र र अन्य विभिन्न ६ वटा स्थानमा तरकारी संकलन तथा बिक्री केन्द्र सञ्चालनमा रहेको छ । विर्तामोडका किसानले उत्पादन गरेको तरकारीमा ५ प्रतिशत विषादी मात्रा रहेको बताइएको छ । विर्तामोडको कृषि बजारमा रहेको विषादी परीक्षणमा ३५ प्रतिशतसम्मलाई उपभोग्य भनिएको बताए पनि भारतबाट आउने तरकारीमा विषादीको मात्रा उच्च देखिएको थियो । नगरपालिकाले व्यावसायिक रूपमा तरकारी उत्पादनमा लागेका किसानलाई आवश्यक तालिमहरू उपलब्ध गराइरहेको छ ।