Logo

२० वर्ष पूरा गरी बिहे गर्नेलाई गाउँपालिकाको सम्मान

हेटौंडा– कम्तिमा १० कक्ष उत्तीर्ण गरी २० वर्ष उमेर पार भएपछि मात्र बिहे गर्ने किशोरीले स्थानीय सरकारबाट नगदसहित सम्मान पाएका छन् । मकवानपुरको विकट कैलाश गाउँपालिकाले बाल बिवाह न्युनीरकणका लागि बिगत २ वर्षदेखि सञ्चालन गर्दै आएको चेली प्रोत्साहन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको हो ।

मंगलबार गाउँपालिकाको १५औं हिउँदे अधिवेशनका अवसरमा ९ जनालाई नगदसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । उनीहरुलाई प्रतिव्यक्ति २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित हुनेमा कैलाश–९ कि अम्बिका अर्याल, अनिता रुम्बा, कल्पनामाया घलान, कैलाशसविना रुम्बा, वडा–६ कि हिरा मुक्तान, वडा–९ कि देवकी वर्ताैला, वडा–१० कि लक्ष्मी ब्लोन, शान्ति तितुङ र अबिगेल प्रजा रहेका छन् ।

विवाह अघि कम्तिमा पनि १२ कक्षा पास गर्नुपर्छ र २० वर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको गाउँपालिका अध्यक्ष मुक्तानले बताए । उनले देशभरका स्थानीय तहमध्ये यो कार्यक्रम पृथक कार्यक्रम भएको बताए । गाउँघरमा छोरीलाई बालविवाह गर्ने, पढाइबाट वञ्चित गर्ने चलन अझै रहेको बताउँदै उनले यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।

उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले कार्यक्रम विस्तार गर्दै लैजाने बताए । उनले २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न चेतना फैलियोस र परिपक्व भएपछि मात्र विवाह गर्नुपर्छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए । गाउँपालिकाले हरेक वर्ष चेली प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गर्दै आएको छ ।

गाउँपालिकाको बजेट संशोधन
कैलाश गाउँपालिकाले २ करोड ३० लाख रुपैयाँ थप आयव्यय अनुमानसहित चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट संशोधन गरेको छ । चालू आवमा २७ करोड ३७ लाख रुपैयाँको बजेट बनाएको गाउँपालिकाले सोमबारको १५औं गाउँसभाबाट २ करोड ३० लाख २४ हजार रुपैयाँ थप अनुमानसहित बजेट संशोधन गरी २९ करोड ६७ लाख ४४ हजार रुपैयाँ बनाएको हो ।

थपिएको बजेट आन्तरिक स्रोतबाट प्राप्त हुने अनुमान गरिएको छ । गाउँसभाको बैठकमा उपाध्यक्ष मल्लले बजेट संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि प्रस्ताव पेश गरेकोमा गाउँसभाबाट सर्वसम्मतिले पारित गरिएको हो । गाउँसभाबाट चालुतर्फका ८ योजनामा थप बजेट र ६ वटा नयाँ योजनामा ३४ लाख ६३ हजार रुपैयाँ बजेट थप गरिएको छ ।

त्यसैगरी पुँजीगततर्फ ३४ योजनामा बजेट थप गरिएको छ भने २९ वटा नयाँ योजना थपिएका छन् । पुँजीगततर्फ ३५ करोड २० लाख ५ हजार रुपैयाँ बजेट थप गरिएको छ । गाउँसभाबाट चालुतर्फ २५ वटा योजनाको रकमान्तरण गरिएको छ भने पुँजीगततर्फ १४ योजनाको रकमान्तरण गरिएको छ । गाउँसभाबाट खानेपानी सरसफाई ऐन र पशु स्वास्थ्य तथा पशु सेवा ऐन पारित गरिएको छ । ३ वटा ऐन संशोधन गरिएकोमा २७ वटा कार्यविधि संशोधन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्