Logo

दोधारा–चाँदनीमा सडक कालोपत्रे गरिँदै

महेन्द्रनगर– कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा सडक कालोपत्रे गर्ने काम सुरु गरिएको छ । दोधारा–चाँदनी नगरपालिका अन्तगर्तका विभिन्न वडाका सडक कालोपत्रे गर्ने काम सुरु गरिएको हो । दोधारा–चाँदनी नगरपालिका–६ का वडाध्यक्ष ओम बस्नेतले एकै साथ वडाभित्र रहेका विभिन्न टोलमा सातवटा सडक कालोपत्रे गर्ने काम सुरु गरिएको बताए ।

उनका अनुसार सडक ग्राभेलसँगै सडक कालोपत्रे गरिने छ । वडाध्यक्ष बस्नेतले सोनाखरी–संगम चोक हुँदै बोगटी टोलसम्म दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्रेका लागि काम भइरहेको बताए । ‘संगम चोकदेखि गलमेली टोलसम्म पाँच सय मिटर सडक कालोपत्रे हुँदैछ,’ उनले भने, ‘गुरुङ टोलमा चार सय मिटर र प्रधान टोलमा पाँच सय मिटर सडक कालोपत्रे गर्ने योजना छ ।’

भैरवथान–पत्थरनाला पाँच मिटर, पथ्थरनाला–बन्दाघाटसम्म दुई सडक मिटर सडक कालोपत्रेका लागि ठेक्कामार्फत् काम अघि बढेको छ । मिलन चोकदेखि फिल्म हलसम्म दुई सय मिटर सडक कालोपत्रे काम भइरहेको वडाध्यक्ष बस्नेतले बताए । त्यसैगरी वडाका सडक स्तरोन्नति गरी चालु आर्थिक वर्षभित्रका काम सम्पन्न गरिसक्ने लक्ष्य छ ।

वडाध्यक्ष बस्नेतले संघ र प्रदेश सरकारको बजेटअन्तर्गत करिब चार करोड बजेट चार दशमलव पाँच किलोमिटरभन्दा बढी सडक कालोपत्रेका लागि योजना सञ्चालन गरिएको बताए । ‘कच्ची सडक हुँदा स्थानीयले सास्ती खेप्नु परेको थियो,’ उनले भने, ‘केन्द्रदेखि प्रदेशसम्म धाएर सडक कालोपत्रेका लागि बजेट विनियोजन गराउन सफल भएका छौँ । यसै आर्थिक वर्षमा सडक कालोपत्रेको काम सम्पन्न हुन्छ ।’

वडाका अन्य सडक स्तरोन्नतिका लागि चाँडै योजना सुरु गरिने उनले दाबी गरेका छन् । उक्त क्षेत्रका स्थानीयले सडक कालोपत्रे हुन थालेपछि हर्षित भएका छन् । सोनाखरी टोलका स्थानीय अनिल थापाले सडक निर्माण कार्य सुरु हुँदा स्थानीयले भोग्नुपर्ने सास्ती कम हुने बताए । उनले वडाध्यक्षको चुनावी प्रतिबद्धता अनुसार सडक कालोपत्रेका काम भइरहेको बताउँदै समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्