प्रदेश–३ को नाम बागमती, स्थायी राजधानी हेटौंडा «

प्रदेश–३ को नाम बागमती, स्थायी राजधानी हेटौंडा

हेटौंडा-प्रदेश नम्बर ३ को नामाकरण र स्थायी राजधानीको अन्तिम टुङ्गो लागेको छ । प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएको छ । नेपालको संविधानको धारा २८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम २८ को उपनियम १ को खण्ड ख बमोजिम प्रदेशसभाको दुईतिहाईभन्दा बढी मतले स्थायी राजधानी र नामाकरण गरिएको हो ।
शनिबारको प्रदेशसभामा प्रदेशको स्थायी राजधानीका लागि मकवानपुरको हेटौंडा र काभ्रेको धुलिखेल प्रस्ताब दर्ता भएकोमा आइतबार मतदानमार्फत राजधानीको टुङ्गो लगाइएको हो । मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरको हेटौंडालाई प्रदेशको स्थायी राजधानी तोकियोस् भनी प्रस्ताव गरेकोमा दुईतिहाईभन्दा बढी मतले प्रस्ताव स्वीकृत भएको हो । मुख्यमन्त्री पौडेलले गरेको प्रस्तावको पक्षमा एकसय पा“च र विपक्षमा तीन मत परेको थियो । एकसय दश सदस्य रहेको प्रदेशसभामा मतदानका लागि एकसय आठ जना मात्रै सहभागी थिए ।
प्रदेश ३ को राजधानी काभ्रेपलान्चोकको धुलिखेल हुनुपर्ने भन्दै विवेकशील नेपाली दलका सांसद रमेश पौडेलको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले अस्वीकृत गरेको छ । धुलिखेलको पक्षमा पक्षमा तीन मत र विपक्षमा एकसय एक मत परेको थियो । काभ्रेबाट निर्वाचित सांसद्हरु लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, चन्द्र लामा र रत्न ढकालले धुलिखेलको पक्ष÷विपक्षमा भएको मतदानमा सहभागी भएनन् । यद्यपी हेटौंडाको पक्षमा भने उनीहरुले मत जाहेर गरे ।
मुख्यमन्त्री पौडेलले हेटौंडालाई स्थायी राजधानी कायम गर्नुपर्ने भन्दै गरेको प्रस्तावमा विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानिया“, राप्रपा नेपालकी रिता माझी, राप्रपा (संयुक्त) की रिना गुरुङले समर्थन गरेका थिए । प्रदेशसभाको आइतबारकै बैठकमा भएको मतदानमा दुइतिहाई बढी सांसदले प्रदेशको नाम बागमती राख्ने पक्षमा मत दर्ता गराएका थिए ।
प्रदेशकोे नामको लागि एउटा मात्र प्रस्ताव दर्ता भएकोमा मतदानमा सहभागी सबैले पक्षमा मतदान गरेका थिए । एक सय १० सांसदमध्ये एक सय ८ मत खसेकोमा सबैले बागमती प्रदेशको पक्षमा मतदान गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेशको नाम बागमती राख्नुपर्ने भन्दै गरेको प्रस्तावमा नेकपाको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेल, राप्रपा, राप्रपा संयुक्त, नेपाल मजदुर किसान पार्टी, विवेकशील नेपाली दल र साझा पार्टीले समर्थन गरेका थिए । प्रदेशसभाका स्वतन्त्र सांसद प्रेम तामाङ राजधानी र नामाकरणको विषयमा भएको मतदानमा अनुपस्थित भए ।
संसदमा प्रस्तावित स्थायी राजधानीसम्बन्धी प्रस्तावमाथि सांसदहरुले राखेको प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेल र सांसद रमेशकुमार पौडेलले जवाफ दिएपछि स्थायी राजधानीको लागि मतदान सुरु गरिएको थियो । स्थायी राजधानीको प्रक्रिया टुङ्गिएपछि नामकरणमाथि सदनमा उठेको प्रश्नको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्रबहादुर बानिया“ले जवाफ दिएसँगै प्रस्तावको पक्ष र विपक्षमा मतदान गरिएको थियो ।
प्रदेश स्थापना भएको दुइवर्ष बितिसक्दा पनि स्थायी राजधानी र नामाकरण टुङ्गो लाग्न नसकेपछि नेकपाको सचिवालय बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती राख्ने प्रदेशसभालाई निर्देशनात्मक सुझाव दिएको थियो । प्रदेशमा नेकपा एक्लैको दुई तिहाई भन्दा बढी मत भए पनि आन्तरिक किचलोका कारण राजधानी र नाम टुङ्गो लाग्न सकेको थिएन । केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न पनि नेकपाको प्रदेश संसदीय दलभित्र लामो छलफल भएको थियो । केही नेताहरु केन्द्रको निर्णय चित्त नबुझेको भन्दै संसदीय दलको बैठकमा नोट अफ डिसेन्ट लेखे पनि निर्णय कार्यान्वयनमा भने एकै मत जाहेर गरेका हुन् ।
नेकपाको सचिवालयको निर्देशनपछि चार महिनादेखि स्थगित प्रदेशसभा बैठक पुस २१ गतेबाट सुरु भएको थियो । बैठकको सुरुदेखि नै राजधानी र नामाकरणको विषयमा छलफल भएको थियो । राजधानी सम्भाव्यता अध्ययन गर्न प्रदेशसभाले डेढ वर्षअघि नै विशेष समिति गठन गरी प्रतिवेदन तयार गरेको थियो । उक्त प्रतिवेदनअनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुर स्थायी राजधानीका लागि योग्य भएको भन्दै सिफारिस भएको थियो ।
सोही प्रतिवेदनको आधारमा राजधानी सम्बन्धी कार्यविधि पनि बनाइएको थियो । २०७६ वैशाख ३१ गते सभामुख श्रेष्ठले सदनमा पेश गरेको कार्यविधि छलफलपछि जेठ ८ गते सर्वसम्मतरुपमा पारित गरिएको थियो । समितिले डेढ वर्षअघि नै प्रदेशसभा सचिवालयमा दर्ता भएको राजधानीसम्बन्धी प्रतिवेदनमाथि पुस २१ गतेको बैठकबाट मात्र छलफल थालिएको थियो । तीन दिनसम्म भएको छलफलमा ५९ जना सांसदले आफ्नो धारणा राखेका थिए ।
प्रदेशसभामा यसअघि गौरीशंकर, नेवा–ताम्सालिङ, नेपाल मण्डल, पशुपतिलगायत नाम राख्नुपर्ने भन्दै प्रस्ताव दर्ता भएको थियो । अन्ततः राजनीतिक सहमति र आन्तरिक ह्विपका कारण सभामा एउटा मात्रै नामको प्रस्ताव परेको थियो । प्रदेशसभामा नेकपाको ८०, कांग्रेसको २२, विवेकशील र साझा पार्टीको तीन मत, नेमकिपा दुई, राप्रपा नेपाल र राप्रपा संयुक्त तथा स्वतन्त्र सांसद्को एक÷एक मत रहेको छ ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ पुस २ गते हेटौंडालाई प्रदेशको अस्थायी मुकाम तोकेको थियो । प्रदेश अस्थायी मुकाम तोकिएसँगै २०७४ माघ १८ गते पहिलो पटक प्रदेशसभाको बैठक बसेको थियो ।

‘तत्कालीन सरकारको निर्णयलाई निरन्तरता’
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानीको लागि हेटौंडा सबै हिसाबले उचित रहेका कारण तत्कालीन सरकारकै निर्णयलाई नै सदर गरिएको बताएका छन् । काठमाडौं उपत्यका बाहिर राजधानी हुनुपर्ने आफ्नो सुरुदेखिकै अडान रहेको भन्दै उनले हेटौंडालाई स्थायी राजधानीको रुपमा पाउँदा खुसी व्यक्त गरे ।
हेटौंडा प्रदेशको राजधानी राखिनु विकेन्द्रीकरणको नमूना अभ्यास भएको पनि उनको भनाइ थियो । “संविधानअनुसार हामी अहिले विकेन्द्रीकरणको अभ्यास गरिरहेका छौं । संघीय राजधानी रहेको काठमाडौं उपत्यकाभित्रै प्रदेश राजधानी लगिएको भए त्यसको खासै अर्थ रहँदैनथियो । प्रदेश सिंहदरबारको छाया“मा रहन्थ्यो,” उनले भने । विभिन्न ६ वटा राजमार्ग जोडिएको हेटौंडा आवतजावत गर्न प्रदेशका सबैलाई पायक पर्ने दावी गरे । २ वर्षभित्रमा सुरुङमार्ग निर्माण गर्ने र मकवानपुर र काभ्रे जोड्ने सडकसमेत निर्माण गरिने मुख्यमन्त्री पौडेलको भनाइ थियो । हेटौंडालाई अन्य जिल्लासँग जोड्ने सडकको पनि स्तरोन्नतीको काम भइरहेको उनले बताए ।

‘कांग्रेसको रणनीतिक जीत’
प्रदेशको स्थायी राजधानी हेटौंडा कायम हुनुलाई नेपाली कांग्रेसले भने रणनीतिक जीतको रुपमा लिएको छ । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले हेटौंडालाई अस्थायी राजधानीको रुपमा तोकेकोमा त्यसैलाई निरन्तरता दिँदै स्थायी राजधानी बनाइएको भन्दै कांग्रेसले सकारात्मक रुपमा लिएको छ ।
कांग्रेस नेतृत्वको सरकारले सबै हिसाबले उचित ठानी हेटौंडा राजधानी तोकेको भन्दै नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले दुई तिहाईभन्दा धेरै मतले स्थायी राजधानी हेटौंडा नै कायम हुनु कांग्रेसको लागि खुसीको विषय भएको बताए ।
दुई वर्षअघिदेखि कांग्रेसले स्थायी राजधानी तोक्न माग गर्दै पटक पटक संसदसमेत अवरुद्ध गरेको थियो । प्रदेशको नाम र राजधानी स्थायी भएसँगै अब अस्थायी मानसिकताको अन्त्य भएको भन्दै बानियाँले प्रदेशको विकास र समृद्धिको लागि सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्