फाइनान्स कम्पनीको निष्क्रिय कर्जा झण्डै दोब्बर

काठमाडौं– अर्थतन्त्रको सुस्तता र आन्तरिक सुशासन अभावमा वित्त (फाइनान्स) कम्पनीहरुको निष्क्रिय कर्जा औषतमा झण्डै दोब्बर पुगेको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्स कम्पनीहरुको औषत निष्क्रिय कर्जा ६.५५ प्रतिशत थियो । यो वर्ष पुससम्ममा ११.७२ प्रतिशत पुगेको हो ।
पछिल्लो समय अर्थतन्त्रमा आएको सुस्ततासँगै ब्याजदर घट्दै जानु, कर्जा प्रवाह नहुनु, पुरानो ऋण नउठ्नु आदि कारणले फाइनान्स कम्पनीको वित्तीय विवरण नाजुक बनेको हो । कतिपय फाइनान्स कम्पनीको निष्क्रिय कर्जा ३० देखि ४० प्रतिशत हाराहारीमा पुगेको छ । केही फाइनान्सले यो अवधिमा निष्क्रिय कर्जामा सुधार पनि गरेका छन् । तर, अधिकांशको निष्क्रिय कर्जा बढ्दो क्रममा देखिन्छ । वित्तीय विवरणअनुसार यो पुससम्ममा ९ वटा फाइनान्सको निष्क्रिय कर्जा एकल अंकमा छ भने ६ वटाको दोहोरो अंकमा पुगेको छ । सबैभन्दा धेरै निष्क्रिय कर्जा जानकी फाइनान्सको ४०.८८ प्रतिशत छ भने सबैभन्दा कम ३.०६ प्रतिशत गोर्खाज फाइनान्सको छ ।
वित्तीय विवरण हेर्ने हो भने सबैभन्दा समस्याग्रस्त अवस्थामा जानकी फाइनान्स र पोखरा फाइनान्स परेका छन् । पुस मसान्तसम्ममा जानकी फाइनान्सको सञ्चित नोक्सानी ९६ करोड ९८ लाख रुपैयाँ पुगेको छ । ६९ करोड चुक्ता पुँजी रहेको यो फाइनान्सको सञ्चित नोक्सानी उच्च हुँदा पुँजीकोष अनुपात ०.८५ प्रतिशतले ऋणात्मक भएको छ । यो फाइनान्सको निष्क्रिय कर्जा बढेर ४०.८८ प्रतिशत पुगेको छ ।
यस्तै, पोखरा फाइनान्सको अवस्था पनि खराब छ । एक अर्ब ८ करोड चुक्ता पुँजी रहेको यो फाइनान्सको सञ्चित नोक्सानी १ अर्ब ५५ करोड पुगेको छ । यसको ३३.४४ प्रतिशत निष्क्रिय कर्जा अनुपात पुगेको छ भने पुँजीकोष अनुपात ३.१७ प्रतिशतले ऋणात्मक रहेको छ । अहिले यसले निक्षेप संकलन र कर्जा लगानी गर्न पाउँदैन ।
चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका मध्ये अधिकांश फाइनान्स कम्पनीको निष्क्रिय कर्जा निकै धेरै बढेको छ । केही फाइनान्सले मात्रै निष्क्रिय कर्जा घटाउन सकेका छन् । वित्तीय विवरण निकालेका फाइनान्सहरूको निष्क्रिय कर्जा औषतमा ११.७३ प्रतिशत पुगेको छ । गत आवको दोस्रो त्रैमासमा यी फाइनान्स कम्पनीहरूको औषत निष्क्रिय कर्जा ६.५५ प्रतिशत रहेकोमा अहिले ५.१८ प्रतिशत विन्दुले थपिएको हो ।
वित्तीय विवरणअनुसार समृद्धि फाइनान्सको निष्क्रिय कर्जा चालु आवको पुससम्ममा १९.३४ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा यो फाइनान्सको निष्क्रिय कर्जा ४.६८ प्रतिशत थियो । गत आवको पुससम्ममा ९.६७ प्रतिशत रहेको रिलायन्स फाइनान्सको निष्क्रिय कर्जा चालु आवको सोही अवधिसम्ममा १४.३१ प्रतिशत पुगेको छ । सेन्ट्रल फाइनान्सको ९.४४ प्रतिशतबाट बढेर ११.९४ प्रतिशत पुगेको छ भने मल्टिपर्पसको १.४८ प्रतिशतबाट बढेर ५.४५ प्रतिशत पुगेको छ ।
नेपाल फाइनान्सको १०.५२ प्रतिशतबाट घटेर १०.४६ प्रतिशतमा झर्दा प्रोग्रेसिभको ११.४५ बाट घटेर ७.५७ प्रतिशतमा झरेको छ । यस्तै, श्री इन्भेष्टमेन्टको १.९४ प्रतिशतबाट बढेर निष्क्रिय कर्जा ३.७१ प्रतिशत पुग्दा मञ्जुश्रीको ३.५ बाट बढेर ३.८६ प्रतिशत पुगेको छ ।
निष्क्रिय कर्जा बढेकाले फाइनान्सको सम्भावित कर्जा नोक्सानीबापतको व्यवस्था (प्रोभिजनिङ) व्यापक वृद्धि भएको छ । वित्तीय विवरण सार्वजनिक गरेका १५ फाइनान्समध्ये आधा दर्जन बढीको खुद नाफा घटेको छ । जानकी, पोखरा, गुहेश्वरी, गोर्खाज, रिलायन्स, समृद्धि र बेस्ट फाइनान्स नोक्सानीमा गएका छन् । पोखरा फाइनान्सको वित्तीय अवस्था संकटोन्मुख छ ।
यी फाइनान्स कम्पनीमध्ये केहीले मर्जर गरेर समस्या हल गर्न चाहेका छन् । धेरैले केही समय अघिमात्रै सम्पन्न भएको साधारण सभामार्फत मर्जर तथा एक्विजिसनको प्रस्ताव पारित गरेका छन् । केही फाइनान्सले यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिएर छलफल थालिसकेका छन् ।
अर्थतन्त्र चलायमान नबन्दा वित्त क्षेत्रमा समस्या चुलिएको फाइनान्स कम्पनीका सञ्चालकहरूले बताउँदै आएका छन् । एक फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अहिले फाइनान्स क्षेत्रमा मात्र नभई अर्थतन्त्रको सुस्तताको असर समग्र प्रणालीमा परेको बताए । उनले भने, ‘अर्थतन्त्र चलायमान छैन । कर्जाको माग पनि छैन । ऋणीको ऋण तिर्ने क्षमता पनि कम भएको छ । यसले समग्र क्षेत्रलाई असर पुगेको छ ।’ वित्त कम्पनीहरूको ९९ प्रतिशत घरजग्गा धितोमा राखिने भएकाले पनि त्यस क्षेत्रको व्यवसाय बिग्रँदा समस्या थपिएको उनले बताए ।