सूर्यविनायक नगरपालिकाको आफ्नै भवनबाट सेवा प्रवाह सुरु

भक्तपुर- सूर्यविनायक नगरपालिकाले मंगलबारदेखि आफ्नै नयाँ भवनबाट प्रशासनिक सेवा सुरु गरेको छ । यसअघि नगरपालिकाले टंकप्रसाद आचार्य प्रतिष्ठानको भाडाको घरबाट प्रशासनिक कार्यालय सञ्चालन गर्दै आएको थियो ।
नयाँ भवनमा ९२ वटा कार्यकक्ष, स्तनपान कक्ष, अपाङ्गमैत्री, पाँच सय सवारी साधन अट्ने दुई तल्लाको बेसमेन्ट पार्किङ, आठजना क्षमता रहेको दुईवटा लिफ्ट, तीन सयजना अट्ने सेमिनार हल, दुईवटा वैठक कक्ष, एउटा पुस्तकालय र एउटा तालिम कक्ष रहेका छन् ।
नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन २० करोड ४१ लाख ५२ हजारमा निर्माण गरेको हो । मासिक एक लाख २० हजार भाडा तिर्दै आएको नगरपालिकाले संघीय सरकारको दुई करोड, जिल्ला समन्वय समितिको ७५ लाख र बाँकी आफ्नै लगानीबाट भवन निर्माण गरेको जनाएको छ ।