Logo

उपल्लो डोल्पाका बालबालिकाको पीडा

माध्यमिक तह पढ्न गाउँ छोडनुपर्ने बाध्यता

वीरेन्द्रनगर– उपल्लो डोल्पामा उच्च शिक्षा पढनका लागि विद्यार्थीले गाउँ नै छाड्नुपर्ने बाध्यता छ । तीनवटा पालिकामा आधारभूत तहसम्मका विद्यालय भए पनि सोभन्दा माथिको विद्यालय नहुँदा उच्च शिक्षा पढन घर छोडनुपर्ने बाध्यता भएको हो । कक्षा ११, १२ पढनका लागि ठूलीभेरी नगरपालिका अर्थात् सदरमुकाम दुनै आउनुपर्ने बाध्यता रहेको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष तथा गाउँ शिक्षा संयोजक पेम्मा वाङ्छेन गुरूङले जानकारी दिए ।

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा तापिरिचा माध्यमिक विद्यालय (कक्षा १–१०) मात्र रहेको छ । त्यस्तै डोल्पाबुद्ध गाउँपालिकाको धो मा क्रिष्टिल माण्टेन माध्यमिक विद्यालयमात्र रहेको छ । अन्य आधारभूत तहका विद्यालयमात्र रहेका छन् । कक्षा ११, १२ पढनका लागि सदरमुकाम दुनै नै जानुपर्ने भएपछि उपल्लो डोल्पाका बालबालिका समस्यामा पर्ने गरेको वाङ्छेन गुरूङले जानकारी दिए ।

उपाध्यक्षले भने, ‘गाउँपालिकाभरि जम्मा एउटा माध्यमिक विद्यालय, नौवटा आधारभूत विद्यालय र तीनवटा बालविकास केन्द्र छन् । एउटा गाउँबाट अर्को गाउँमा जान पनि २/३ दिन लाग्ने र आधारभूत तहको शिक्षा पूरा गरेपछि माध्यमिक विद्यालय पढ्न घर नै छाडेर बस्नु पर्ने बाध्यता छ । गाउँमा रहेको एउटामात्र माध्यमिक विद्यालयमा छात्रावासको व्यवस्था नभएकाले बालबालिकाहरू थप अध्ययनका लागि सहर पस्नुपर्ने बाध्यता अर्कोतिर छ ।’

उपाध्यक्ष गुरूङले याङजेर गुम्बा आधारभूत विद्यालयको भौतिक पूर्वाधार बनाउँदा बनाउँदै बीचैमा रोकिएकाले उक्त भवन निर्माण सम्पन्न गर्न आवश्यक बजेट नहुँदा समस्य भएको बताए । ती विद्यालयलाई कक्षा ११, १२ को रूपमा विकास गरी आवश्यक भौतिक संरचना, शिक्षक दरबन्दी र सेवा सुविधा सम्पन्न आवासीय विद्यालयमा रूपान्तरण गर्न संघीय सरकारसँग उनले माग गरे ।

शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र वडा नं.३ साल्दाङमा रहेको शेली डुग्ड्रा आधारभूत विद्यालयलाई माध्यमिक तह (कक्षा १–१०) मा स्तरवृद्धि गरी आवश्यक भौतिक संरचना, शिक्षक दरबन्दी र सेवा सुविधा सम्पन्न आवासीय विद्यालयमा रूपान्तरण गरेमात्र यहाँ केही सहज हुने उनले बताए । यस्तै अन्य पालिकामा समेत ठाउँ तथा भूगोल सुहाउँदो विद्यालय निर्माण गरेर यहाँका विद्यार्थी कक्षा ११, १२ पढनका लागि सदरमुकाम नै जानुपर्ने बाध्यता अन्त्य गर्न अभिभावकले आग्रह गरेका छन् ।

शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाको साझा समस्या छ । माथिल्लो डोल्पामा धेरै चिसो तथा हिमपात हुने भएकाले आवासीय विद्यालयको आवश्यकता छ । सडक सञ्जालसँग नजोडिएको उपल्लो डोल्पामा जान र आउनसमेत सहज नभएको अवस्था छ । हिउँदयाममा चिसो, हिमपातले लामो यात्रा गर्न मुस्किल पर्दछ । गर्मीयाममा खेतीपातीदेखि अन्य काम हुने गरेका छन् ।

आर्थिक रूपमा राम्रो हैसियात भएकाले बाहिर गएर पढाइ गरे पनि आर्थिक रूपमा कमजोर रहेका परिवारका बालबालिकाले विद्यालय छोडनुपर्ने बाध्यता रहेको स्थानीयबासी कान्सिङ गुरुङको भनाइ छ । उनले भनिन्, ‘जम्बु, यार्सागुम्वा संकलनबाट कमाएको रुपैयाँले छोराछोरी पढाउने, खाद्यान्न खरिद गर्न नै पुग्दैन । एक बोरा चामलाई पाँच हजार पर्छ । पालिकाभित्र स्कुल छैन । बाहिर पढाउन पठाउन लाखाैं रुपैयाँ हामीसँग छैन के गर्नु ?’

यहाँका निम्न आर्थिक हैसियात भएका अधिकांश स्थानीयबासीका बालबालिका उच्च शिक्षा पढन आर्थिक अभाव हुँदा विद्यालय नै छोडने गरेका छन् । सानैमा व्यापार, व्यवसायतीर जोडिनुपर्ने बाध्यता छ । चौँरी, भेडा पालन गरेर आम्दानीको बाटो खोज्ने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्