Logo

चिकित्सा शिक्षा अध्ययनको रोजाइमा जुम्ला

जुम्ला– स्वास्थ्य सेवा प्रवाहमा पश्चिम नेपालकै भरोसा केन्द्र बनेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला अध्यापनमा पनि देशकै रोजाइको केन्द्र बन्न थालेको छ । स्थापनाको डेढ दशकमा प्रतिष्ठानले स्वास्थ्य सेवा, अनुसन्धान तथा अध्ययन क्षेत्रमा गरेको उल्लेखनीय कामकै कारण चिकित्सा शिक्षा अध्ययनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सबैको रोजाइ बन्न थालेको हो । जल, जमिन, जडिबुटी, जलविद्युत, पर्यटनको प्रचुर सम्भावनाका बीच पनि जुम्ला विकट क्षेत्रका रूपमा कहलियो ।

यहाँको विकटता देख्नेले नदेखेको सम्भावनालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उजागरमात्र गरेको छैन । कुनै समय शवको पोष्टमार्टम गर्न डाक्टर कुर्ने कर्णाली, समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य कर्णाली अहिले विशेषज्ञ डाक्टर उत्पादनको थलो बनेको छ । प्रतिष्ठानको स्थापनापछि कर्णालीका दूरदराज गाउँबस्ती गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुगेको तथ्यलाई पनि नर्कान सकिँदैन ।

कुनै समय डाक्टर कुर्ने जुम्लाले देशभर डाक्टर पठाएर, मेडिकल काउन्सिलका विभिन्न लाइसेन्स परीक्षामा शतप्रतिशत उत्तीर्ण भएर प्रतिष्ठानले शिक्षा क्षेत्रमा आफ्नो अब्बलता स्थापित गरेकै कारण सुगम क्षेत्र छाडेर डाक्टरी अध्ययन गर्न जुम्ला आउनेको लर्काे बढिरहेको छ । जसले गर्दा दुर्गममा स्थापना गरिएको प्रतिष्ठानले आफ्नो औचित्य पृष्टि गरेको छ ।

यसैबीच कर्णाली प्रतिष्ठानमा सञ्चालित विभिन्न फ्याकल्टीमा नयाँ भर्ना भएका विद्यार्थी जुम्ला आइपुगेका छन् । एमबीबीएस, बीएनएस, बी फार्ममा, बीएसी नर्सिङ, बीपीएचलगायत विषय अध्ययन गर्न नयाँ भर्ना भई जुम्लामा हालसम्म १०४ जना विद्यार्थी आइपुगेका छन् । बिहीबार नयाँ भर्ना भएका विद्यार्थी, उनीहरूका अभिभावक तथा प्रतिष्ठानबीच अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

अभिमुखीकरणमा प्रतिष्ठानका शिक्षाध्यक्ष डाक्टर डबल धामीले कर्णाली प्रतिष्ठानलाई विश्वास गरी अध्ययनको गन्तव्य बनाउन जुम्ला आइपुगेका देशभरका विद्यार्थीलाई स्वागत गर्दै देशकै अब्बल जनशक्ति बनाएर पठाउने बताए । संघीय राजधानी काठमाडौंको सुविधा सम्पन्न विश्वविद्यालय छोडेर कर्णालीलाई गरेको विश्वासले अध्ययन तथा अनुसन्धानका लागि कर्णाली प्रतिष्ठान थप जिम्मेवारी बोधसँंगै गौरवान्वित महसुस भएको उल्लेख गरे ।

बीपीएचमा नयाँ भर्ना भएका जुम्ला कनकासुन्दरी गाउँपालिका–५ का सुरज उपाध्यायले कुनै समय कुम्लो कुटिरो बोकेर काठमाडौं पढ्नु जानुपर्ने अवस्था अन्त्य भएर अहिले काठमाडौंबाट भारी बोकी जुम्ला आउनुपर्ने अवस्था बनेकोमा खुसी व्यक्त गरे । गरिबी, अभाव, रोग भोगको उपनामले कहलिएको कर्णाली, त्यसमा पनि जुम्ला चिकित्सा शिक्षा अध्ययनको केन्द्र बनेपछि परिवेश फेरिएको छ ।

उनले भने, ‘म पहिले कुम्लो बोकेर उच्च शिक्षा पढ्न काठमाडौं गएको थिएँ अहिले काठमाडौंबाट उच्च शिक्षा पढ्न कुम्लो बोकेर जुम्ला आएको छु । स्वास्थ्य क्षेत्रमा भएको उदाहरणीय विकासले यो सम्भव भयो । दुर्गम कर्णाली अब दुर्गम रहेन । जुम्लामा यस्तो सम्भावना ल्याउनु भएकोमा निकै धन्यवाद । यहाँको शिक्षा गुणस्तर भएको र आफ्नै जन्मभूमिमा पढ्न पाउने भएकाले खुसी छु ।’

एमबीबीएस अध्ययन गर्न जुम्ला पुगेकी रामेछापकी सम्झना मगर, गुल्मीकी चन्द्रकला अर्याल, काठमाडांैकी प्रतीक्षा ज्ञवाली, नवलपरासीका सागर विश्वकर्मा, ललितपुरकी पुष्पा डंगोललगायतका विद्यार्थीले कर्णाली प्रतिष्ठानको पठनपाठन, व्यवस्थापन लगायतका सबै पक्ष अब्बल लागेर अध्ययनका लागि जुम्ला रोजेको बताएका छन् ।

अभिभावकका तर्फबाट बोल्दै दाङका हुमबहादुर डाँगीले भने, ‘कर्णालीको विकटताभित्र लुकेका सम्भावना बुझेर मेरी छोरीलाई चिकित्सा शिक्षा पढाउन जुम्ला रोजेको हुँ । म डाक्टर होइन । मलाई सुई लगाउन आउँदैन । तर, घरमा सुई लगाउने मान्छे होस् भनेर कर्णाली रोजेको हुँ । देशका सुविधासम्पन्न कलेजमा पनि जान सक्थें । तर सम्भावना र भविष्य कर्णालीमै देखें । हाम्रो आशा र विश्वासलाई प्रतिष्ठानले पूरा गर्नेछ ।’

प्रतिष्ठानका विभिन्न फ्याकल्टीतर्फ १०४ जना विद्यार्थी भर्ना भइसकेका छन् भने आउने क्रम जारी छ । जसमा एमबीबीएसतर्फ–४३ जना, बीपीएचमा–१५, बी फार्मतर्फ–१४ जना, बीएचसी नर्सिङ पढ्न–१७ जना, बीएनएसतर्फ–१५ गरी कुल १०४ जना विद्यार्थी देशका विभिन्न जिल्लाबाट जुम्ला पुगेको स्कुल अफ पब्लिक हेल्थ बीपीएच चौथो वर्षका संयोजक उपप्राध्यापक ओपप्रकाश काफ्लेले बताए ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले विद्यार्थीलाई उद्देश्य पूरा गर्न दृढ रहन प्रेरित गर्दै भने, ‘जुन उद्देश्यले आउनुभएको छ । सोहीअनुसार आनन्दले पढ्नुस् । उद्देश्य पूरा गर्नुस् । विद्यार्थी र प्रतिष्ठानको शान्ति सुरक्षाका लागि प्रशासन सधै तैनाथ छ ।’ विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले खेलिरहेको भूमिकाबारे प्राध्यापक क्षितिज उपाध्यायले भने, ‘यहाँको एकजना शिक्षकले चारजना विद्यार्थीलाई दैनिक हेर्न सक्ने वातावरण छ । पढाइ तपाईंहरूले सोचेअनुसारको हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्