निर्विरोध पदाधिकारी बनेका ३ जना शाक्यको पक्षमा, साथ छाडेकोमा श्रेष्ठ मौन

उवासंघ चुनावमा नयाँ मोर्चाबन्दी
भरतपुर-उद्योग वाणिज्य संघ चितवनको आसन्न चुनावका उम्मेदवारले समूह परिवर्तन गरेका छन् । पूर्ववरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने तयारी गरेको चुननारायण श्रेष्ठले शनिबार अध्यक्षका उम्मेदवार संघका विशिष्ट सदस्य ज्ञानेन्द्रमान शाक्यलाई समर्थन गरेका छन् । शाक्य समूहबाट वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने तयारी गरेका पूर्वतृतीय उपाध्यक्ष विष्णुप्रसाद कँडेलले उम्मेदवारी फिर्ता गर्ने सहमतिअनुसार शाक्यको ‘प्यानल’ मा चुननारायण आएका हुन् ।
शनिबार कँडेलले उम्मेदवारी फिर्ता लिएसँगै चुननारायण दोस्रो कार्याकालका लागि वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भएका छन् । विष्णुप्रसा दगत चुनावमा राजुको प्यानलबाट वरिष्ठ उपाध्यक्ष पदमा पराजय भोगेपछि यसपालि शाक्य समूहबाट उठ्न लागेका थिए । तर, उनको चुनावी दौड रोकिएको छ । शुक्रबार उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका वाणिज्यतर्फका सुमनकुमार श्रेष्ठ र वस्तुगत, कर्पोरेट, क्षेत्रीय संगठित सदस्यतर्फका भोजराज कौडाल निर्विरोध चयन भएपछि शाक्यको समूहमा जोडिएका छन् । यसअघि श्रेष्ठ, कौडाल अध्यक्षका उम्मेदवार राजु श्रेष्ठसँगै मिलेर मत माग्दै उद्योगी व्यवसायीको घरदैलो अभियानमा सक्रिय थिए ।
निर्विरोध चयन भएका उद्योग तर्फका उपाध्यक्ष चिरञ्जिवी सुवेदीले राजुलाई साथ दिइरहेका छन् । चुननारायण श्रेष्ठ अध्यक्षमा उम्मेदवारी दिने सोचमा रहेपनि केही पूर्वअध्यक्षहरुको रोहबरमा गोलाप्रथाबाट वरिष्ठ उपाध्यक्ष र राजु श्रेष्ठ अध्यक्षमा लड्ने सहमति भएको थियो । लगत्तै नेपाली कांग्रेस चितवनले गोलाप्रथाबाट भएको सहमतिको विरोध जनाएपनि कांग्रेस निकट व्यवसायीले राजु श्रेष्ठको साथ छाडेका थिएनन् । तर, शनिबार नारायणस्थित होटलामा शाक्य समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्विरोध बरिष्ठ उपाध्यक्ष बनेका चुननारायण, उपाध्यक्ष सुमनकुमार र भोजराजले शाक्यको नेतृत्वलाई समर्थन गरी जिताउने प्रतिबद्धतासहित प्यानल फेरेका छन् । निर्विरोध चयन भएका अर्का उपाध्यक्ष सुवेदी, कर्पोरेटतर्फका सदस्य राजेन्द्र ओली, सिरिस पन्त र क्षेत्रीय संगठित सदस्यतर्फका सदस्य मुक्तिकुमार श्रेष्ठले राजु समूह त्यागेका छैनन् ।
राजु गत चुनावमा वर्तमान अध्यक्ष सहनलाल प्रधानसँग, ज्ञानेन्द्रमान २०६८ सालमा डा. तिलचन्द्र भट्टराईसँग पराजित भएका थिए । गत चुनावमा राजुको प्यानलले अधिकाँस पदमा हार व्यहोरेको थियो । शाक्य ०६८ सालमा भट्टराईसँग एक्लै भिडेका थिए । संघको मंगलबार हुने चुनावमा अध्यक्ष र सदस्यतर्फका पदका लागि मात्रै चुनाव हुने भएको छ । कार्यसमिति सदस्यतर्फ उद्योग तर्फ ६ जनाका लागि ८ जना, वाणिज्यतर्फ ६ जनाका लागि १० जना, वस्तुगतर्फ ४ जनाका लागि ७ जना र १ महिला उद्यमी सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ । संघको चुनावले राजनीतिक रंगको रूप लिएको प्रष्ट देखिन्छ । राजु र चिरञ्जिवी नेकपा निकट हुन् । शाक्य, चुननारायण, सुमनकुमार, भोजराज कांग्रेस निकट हुन् । दुबै समूहले प्यानल सहितको सूचि सार्वजनिक गर्ने दाबी गरेपनि अन्ततः प्यानलबाट सदस्यमा उठेकाहरुको नामावली बताउन चाहेनन् ।
उद्योग वाणिज्य संघ चितवनको आसन्न अधिवेसनलाई लक्षित गरी आयोजित उम्मेदवार परिचयात्मक कार्यक्रम (ककस) मा उम्मेदवारहरुले व्यावसायिक हकहितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्षका उम्मेदवार ज्ञानेन्द्रमान शाक्यले संस्था बचाउन उम्मेदवारी दिएको तर्क गरेका छन् । “गोलाप्रथा गरेर मतलाई अनिर्णयको बन्दी बनाउन खोजेपछि म फेरी अध्यक्षमा उम्मेदवारी दिएको हुँ”, उनले भने, “सिष्टममा संस्था चल्नुपर्छ, सिष्टम बसेमा संस्था बाँच्छ, संस्था बचाउन नेतृत्वमा दाबी गरेको छु ।” उनले व्यक्ति विशेषका आधारमा नेतृत्वमा पु¥याउने शैली विरुद्ध उद्योगी व्यवसायीले मताधिकार मार्फत जवाफ दिने बताए । “पहिले एक्लै लड्दा पनि साथ पाएको थिएँ, अहिले धैरेको साथ छ”, उनले भने, “संघमा २ वर्ष प्रतिवद्ध भएर सेवा गर्न पाउनेमा ढुक्क छु ।” उनले स्थानीय तहले लगाएका जथाभावी कर संसोधन गराई साना तथा मझौला व्यवसायीमैत्री वातावरण बनाउन लागिपर्ने बताए । उनले वैज्ञानिक घरभाडा निर्धारण, नारायणी नदीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने जस्ता योजना सुनाए । “संघभित्र आर्थिक अनियमितता कुनै हालतमा हुन दिनेछैन”, उनले भने, “सचिवायल व्यवस्थापन, छरिएका उद्योगी व्यवसायीलाई संघमा समेट्नेछु ।” नारायणी नदी किनारको सौन्दर्यता बढाउन आफूले बुद्ध मूर्ति तथा चौतारी बनाउने काम गरेको भएपनि अन्य पूर्वाधार अघि बढ्न नसकेको दुखेसो पोखे ।
अध्यक्षका उम्मेदवार राजु श्रेष्ठले संघको छवि गरिमा उच्च बनाइराख्न प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता जनाए । “यो संस्था क वर्गको बनेको छ, यसको गरिमा बढ्ने गरी योजना कार्यान्वयन गर्नेछु”, उनले भने, “सबै व्यवसायीका समस्या नजिकबाट नियालेको छु, सबैको साझा संस्था बनाउनेछु ।” उनले विगतमा पराजित भएपनि व्यवसायीका समस्या समाधान गर्न भूमिका खेलेको सम्झे । उनले नारायणगढ क्षेत्रमा भरतपुर महानगरसँग समन्वय गरेर पार्किङ क्षेत्र बनाउने, क्याम्पाचौरमा मिनि स्टेडियम बनाउन पहल गर्ने, स्थानीय प्रशासनसँग समन्वय गरी पोके व्यवसायी विस्थापित गर्ने लगायतका योजना सुनाए । “अब नारायणगढ क्षेत्रमा रात्रिकालिन व्यवसाय चलाउन पहल गर्नेछु”, उनले भने, “नारायणी नदी किनारलाई पर्यटकीय गन्तव्य बनाउने काम गर्नेछु ।”