Logo

१५ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीको बीमा शुल्क

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिने अवधिमा जीवन बीमा कम्पनीहरूले १५ अर्ब ८४ करोड रुपैयाँ नयाँ व्यवसाय (प्रथम बीमा शुल्क आर्जन) गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीहरूले १३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

गत आवको तुलनामा चालु आवमा प्रथम बीमा शुल्क आर्जन १४.६५ प्रतिशतले वृद्धि भएको हो । चालु आवमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक ३ अर्ब ९२ करोड ६५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । यसलाई पछ्याउँदै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ३४ करोड २० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै एलआईसी नेपालले १ अर्ब ३३ करोड १ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा हिमालयन लाइफले १ अर्ब १९ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ ।

तथ्यांक अनुसार, सूर्यज्योति लाइफले १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै सिटिजनले ९० करोड १६ लाख रुपैयाँ, एशियन लाइफले ८२ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । सानिमा रिलायन्सले ७५ करोड ६९ लाख रुपैयाँ, मेट लाइफले ६२ करोड ८१ लाख रुपैयाँ, रिलायबलले ६२ करोड ५५ लाख रुपैयाँ, प्रभु महालक्ष्मीले ६० करोड ४५ लाख रुपैयाँ, आइएमई लाइफले ५९ करोड ८३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।

प्राधिकरणका अनुसार, सन नेपालले ४७ करोड १८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले ४४ करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । वृद्धिदरका आधारमा हेर्ने हो भने प्रभु महालक्ष्मीले आक्रामक रूपमा व्यवसाय विस्तार गर्न सफल भएको छ । कम्पनीको ४८.९४ प्रतिशतले वृद्धि भएको छ भने दोस्रोमा राष्ट्रिय जीवन बीमाको ४१.२६ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै एलआईसीको २७ प्रतिशत, नेपाल लाइफको २४.६० प्रतिशत, सूर्यज्योतिको २२.९६ प्रतिशत, नेशनलको १७.६२ प्रतिशत, हिमालयनको १३.५८ प्रतिशत र सिटिजनको १३.०८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै सानिमा रिलायन्सको ६ प्रतिशत, एशियन लाइफको ४.९६ प्रतिशत र मेट लाइफको ३.८६ प्रतिशतले वृद्धि भएको छ भने ३ वटा कम्पनीको घटेको छ । यसरी घट्नेमा रिलायबलको २.९४ प्रतिशत, आइएमईको ११ प्रतिशत र सन नेपालको २९.२७ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन घटेको छ ।

सम्पत्ति शुद्धीकरणमा बीमा कम्पनीको छुट्टै शाखा
नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमा क्षेत्रमा हुन सक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि बीमा कम्पनीहरुले छुट्टै शाखा स्थापना गर्नुपर्ने बताएका छन् । प्राधिकरणमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कार्य गर्ने गरी प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको र बीमालाई पनि निर्देशन दिएको जानकारी दिए । ‘बीमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बीमा प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको छ,’ उनले भने

बीमा कम्पनीहरूलाई समेत यस सम्बन्धी कार्य गर्ने गरी छुट्टै शाखा स्थापना गर्न निर्देशन भइसकेको उनले बताए । बीमा कम्पनीलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी आवश्यक प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको उनले बताए । जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका अधिकारीहरु सहभागी कार्यक्रममा दाहालले सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बीमा क्षेत्रको पनि भएकाले जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्