बड्डिचौर–खम्बागाडे सडक
सुल्झिँदै विवाद, कामले गति लिँदै

वीरेन्द्रनगर– मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिकाको बड्डिचौरदेखि खम्बागाडे सडकको १३.१ किलोमिटरमा जग्गा भोगाधिकार र रुख कटानको प्रक्रिया अघि बढ्ने भएको छ । लामो समयदेखि राष्ट्रिय प्राथमिकता प्राप्त सडकलाई कर्णाली प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएपछि सिर्जना भएको अवरोध अन्तत: हट्ने भएको हो ।
राष्ट्रिय योजना आयोगले वन तथा वातावरण मन्त्रालयलाई उक्त सडक खण्ड पुन: राष्ट्रिय प्राथमिकतामा राखिएको पत्र लेखेसँगै लामो समयदेखिको भोगाधिकार र रुख कटानको अल्झन सुल्झिने संकेत देखापरेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त सडकमा हात हालेको प्रदेश सरकारले संघीय सरकारलाई जग्गा भोगाधिकारको अनुमति नपाइने छाँट देखापरेपछि पुन: मदन भण्डारी राजमार्गकै स्वामित्वमा रहने गरी प्रक्रिया अगाडि बढाइ दिन अनुरोध गरेको थियो ।
२ पुस २०८१ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बड्डीचौर–बिउरेनी–बाबियाचौर–विद्यापुर सडक खण्ड (१३.१ किमि) लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गरिदिन पत्र लेखेको थियो । प्रदेश सरकारको अनुरोधपछि संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २१ पुस २०८१ मा बड्डिचौर–खम्बागाडे सडकलाई राष्ट्रिय प्राथमिकतामा समावेश गरिदिन राष्ट्रिय योजना आयोगलाई पत्र लेखेको थियो ।
बुधबार आयोगले संघीय वन तथा वातावरण मन्त्रालयलाई पत्र लेख्दै मदन भण्डारी लोकमार्गअन्तर्गत बड्डीचौर–बिउरेनी–बावियाचौर–विद्यापुर सडक खण्ड (१३.१ किमि) स्तरोन्नति गर्ने कार्यका लागि आयोजना वर्गीकरणको आधार तथा मापदण्ड, २०८० को दफा १० बमोजिम राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तोकिएको जनाएको छ । आयोगले वन मन्त्रालयलाई पत्र लेखेसँगै बड्डिचौर–खम्बागाडे सडक खण्डमा पर्ने जग्गा भोगाधिकार र रुख कटानको प्रक्रिया अघि बढ्ने पूर्वाधार निर्देशनालय सुर्खेतका सूचना अधिकारी एवम् इन्जिनियर वीरेन्द्रजंग शाहीले जानकारी दिए ।
उनका अनुसार अब वन मन्त्रालयले स्वीकृति प्रदान गरेपछि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) बमोजिम उक्त सडक खण्डमा पर्ने रुख कटान र जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइने छ । बड्डिचौर–खम्बागाडे सडक स्तरोन्नतिको जिम्मा पाएको अनक जयदेवी जेभी बाँकेले पुनर्निर्माणको काम थालेको छ । पूर्वाधार निर्देशनालय सुर्खेतका सूचना अधिकारी शाहीका अनुसार अनक जयदेवीले विवाद नभएका ठाउँमा सडक चौडा पार्नेदेखि संरचना निर्माणको काम सुरु गरेको छ ।
गत पुसमा उक्त सडक निर्माणको काम सुरु नभए कानुनी प्रक्रिया थाल्ने प्रदेश सरकारको चेतावनी पछि अनक जयदेवीले फिल्डमा काम सुरु गरेको शाहीले बताए । ५ साउन २०७९ मा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बड्डीचौर–खम्बागाडे सडकको पहिलोखण्ड बराहताल गाउँपालिका–५ स्थित बड्डीचौरमा डोजर चलाएर निर्माण व्यवसायी एवं संघीय सांसद दिक्पालकुमार शाहीले स्तरोन्नतिको जिम्मा लिएका थिए ।
राष्ट्रिय प्राथमिकता प्राप्त उक्त खण्डमा पर्ने १३.१ किलोमिटर सडक २०८१ असार मसान्तसम्म सम्पन गर्ने कार्यादेशसहित सांसद शाहीले जिम्मा लिएका थिए । शाही सांसदमा निर्वाचित भएपछि उक्त कम्पनी उनका छोराले सञ्चालन गर्दै आएका छन् । दुई वर्षभित्र सक्ने गरी कुल ४२ करोड ४७ लाख रुपैयाँमा अनक जयदेवी र पूर्वाधार विकास निर्देशनालय सुर्खेतबीच १४ असार २०७९ मा सम्झौता भई काम अघि बढेको थियो ।
तर, निर्धारित समय सकिएको ६ महिनासम्म उक्त सडकले २१ प्रतिशतमात्रै भौतिक प्रगति गरेको छ । रुख कटान र जग्गा भोगाधिकारलाई देखाउँदै आएको निर्माण कम्पनीले पाएको थप एक वर्षमा पाँच महिना बित्दासमेत फिल्डमा काम अघि नबढेपछि प्रदेश सरकार एक्सनमा उत्रिएको थियो । विवाद नभएका ठाउँमा यथाशीघ्र काम नथाले कालोसूचीमा राख्ने प्रदेश सरकारको चेतावनीपछि निर्माण व्यवसायीले काम थालेको पूर्वाधार निर्देशनालयले जनाएको छ ।
मदन भण्डारी राजमार्गको काम तीव्र
संघीय सरकारले राष्ट्रिय प्राथमिकतामा राखेर तीव्र रूपमा अगाडि बढाइरहेको आयोजना हो मदन भण्डारी राजमार्ग । पश्चिमी खण्डअन्तर्गत पर्ने यो राजमार्गको सुर्खेत खण्डमा अहिले धमाधम सडक निर्माणको काम चलिरहेको छ । सुर्खेतको पूर्वी खण्डको ३५ किलोमिटर सडक निर्माणको प्रगति झण्डै ८० प्रतिशत पूरा भइसकेको छ भने पश्चिम खण्डको ८५ किलोमिटरको अधिकांश खण्डमा ठेक्का लागिसकेको छ । तर, संघीय सरकारले प्राथमिकताका साथ अगाडि बढाइरहेको आयोजनामा भाँजो हाल्दै प्रदेशले आफ्नो मातहतमा ल्याएर अगाडि बढाएको बड्डीचौर–खम्बागाडे १३ किलोमिटर सडक भने भोगाधिकारको गोलचक्करमा अघि बढ्न सकेको छैन ।
मदन भण्डारी राजमार्ग सुर्खेतमा मात्रै झण्डै १५८ किलोमिटर पर्छ । योमध्ये भेडाबारी–बोटेचौर–रैकर (छिन्चु–जाजरकोड–डोल्पा) सडक करिब १२, धुलियाविट–बाङ्गेसिमल (फोर लेन) सडक आठ र बाङ्गेसिमल–बड्डीचौर (कर्णाली राजमार्ग) सडक ३० किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी खण्डमा काम गरिरहेकाले अबको तीन वर्षमा यो मदन भण्डारी राजमार्गले पूर्णता पाउँदै छ । मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतले पूर्वी सूर्खेतबाट २८ असार २०७८ बाट काम थालेको थियो ।
अन्तिम चरणमा पुग्यो मंगलगढी–काँक्रेविहार सडक
सुर्खेतको प्रमुख धार्मिक एवम् पर्यटकीय क्षेत्र काँक्रेविहार जोड्ने मंगलगढी–काँक्रेविहार सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । २०७८ बाट निर्माण सुरु भई अलपत्र परेको सडक कर्णाली प्रदेश सरकारले कारबाही गर्ने चेतावनी दिएपछि निर्माण कम्पनीले पुन: काम थालेको थियो । दुई महिनाअघि सुरु भएको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको पूर्वाधार निर्देशनालय सुर्खेतले जनाएको छ ।
बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंँडेल र भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री शेरबहादुर बुढाले उक्त निर्माणाधीन सडकको स्थलगत अनुगमन गरेका थिए । अम्मर सिस्ने मेगा जेभीले १४ मंसिर २०७८ मा निर्माणको जिम्मा लिएर विभिन्न बहानामा अलपत्र पार्दै आएको थियो । २.५ किमि सडक स्तरोन्नति गर्न कुल १२ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको थियो । सडक स्तरोन्नति अन्तिम चरणमा पुगेसँगै लामो समयदेखि नागरिकले भोग्दै आएको सास्ती अन्त्य हुने भएको छ ।