Logo

करोडौं लगानीका सोलार लिफ्ट अलपत्र

५७ लाखमा बिजुलीले चल्ने सिंँचाइ लिफ्ट निर्माण

जुम्ला– जुम्लामा सोलार लिफ्ट सिँचाइ आयोजना असफल भएको बेला विद्युतबाट सञ्चालन हुने लिफ्ट सिँचाइ आयोजना निर्माण भएको छ । करोडौं लगानीका ‘सोलार लिफ्ट’ सिँचाइ आयोजना अलपत्र परेका बेला तातोपानी गाउँपालिका–६ धौलापानीमा जिल्लाकै पहिलो ‘बत्तीबाट सञ्चालन हुने लिफ्ट सिँचाइ’ आयोजना निर्माण गरिएको हो ।

जुम्लाको कुल क्षेत्रफल दुई लाख ५३ हजार एक सय हेक्टरमध्ये ३९ हजार ४८६ हेक्टर खेतीयोग्य भूमि रहेको छ भने २६ हजार ४३५ हेक्टर कुल खेती भएको छ । जसमध्ये सिञ्चित क्षेत्र तीन हजार ३६४ हेक्टरमात्रै छ । खेतीयोग्य जमिन तर सिँचाइ अभावले बाँझिदै गएको भिरालो क्षेत्र, डाँडापाखामा सिँचाइ पहुँच विस्तार गर्ने र उत्पादन बढाउने लक्ष्यले जुम्लामा धमाधम सोलार लिफ्ट आयोजना निर्माण भए ।

पानीको स्रोत नभएको तर खेती हुनसक्ने जमिनमा सिँचाइ सुविधा पुर्‍याउन जुम्लामा नदी तथा खोलानालाको पानी सोलार लिफ्टमार्फत् सिँचाइ गर्ने कन्सेप्ट आएको हो । विशेषगरी तिला, तातोपानी र हिमा गाउँपालिकमा लिफ्ट सिँचाइका आयोजना निर्माण भएका हुन् । सोलार लिफ्टको दिगोपन, नदी खोलानाला छेउमा सोलार जडान गर्दा प्राकृतिक विपद्का बेला हुनसक्ने जोखिम मध्यनजर नगरी निर्माण गर्दा सोलार प्रणालीबाट पानी तान्ने सोलार लिफ्ट सिँचाइ आयोजना अलपत्र परेका छन् ।

तीन पालिकाको तथ्यांक हेर्दा तिला गाउँपालिकामा चारवटा, हिमा गाउँपालिकामा चारवटा र तातोपानी गाउँपालिकामा आठ गरी १६ वटा लिफ्ट सिँचाइका आयोजना निर्माण भएका छन् । प्रतिआयोजनामा कम्तीमा ५० लाखका दरले आठ करोड बजेट खर्च भएको देखिन्छ । यसमध्ये चारवटा आयोजनामात्रै सञ्चालनमा छन् भने १२ वटा लिफ्ट सिँचाइका आयोजना सञ्चालनमा छैनन् ।

दर्जनबढी लिफ्ट सिँचाइ आयोजनाका सोलार प्यानल नदी र खोलाले बगाइसकेको छ भने जीआई पाइप खोला नदीको किनारामा लथालिंग भेटिन्छन् । लाखौँ रकम खर्च गरेर निर्माण गरिएका आयोजना उपलब्धिविहीन भएका छन् । ५०/६० लाख रुपैयाँमा निर्माण गरिएका लिफ्ट सिँचाइ आयोजना सुरुमा पानी आए पनि अहिले धेरैजसो आयोजना प्रयोगविहीन भएका छन् ।

तातोपानी गाउँपालिकामा आठवटा लिफ्ट सिँचाइका आयोजना निर्माण भए पनि अहिले दुईवटा आयोजनामात्रै सञ्चालनमा रहेको योजना अधिकृत ओमबहादुर चन्दले बताए । उनले भने, ‘यहाँ निर्माण भएका लिफ्ट सिँचाइ आयोजना अघिल्लो पाँच वर्षे कार्यकालमा निर्माण भएका हुन् । सोलार प्रणालीबाट सञ्चालन गरिएका लिफ्ट सिँचाइ आयोजना खासै टिकाउ भएनन् । अहिले यो चालु आर्थिक वर्षमा १ र ६ नम्बर वडामा विद्युतीय प्रणालीबाट सञ्चालन हुने लिफ्ट सिँचाइ आयोजना निर्माण हुँदैछन् ।’ हिमा गाउँपालिकामा चारवटा सोलार प्रणालीमार्फत् सञ्चालन हुने चारवटा लिफ्ट सिँचाइका आयोजना निर्माण भएका हुन् । अहिले चारवटै आयोजना सञ्चालनमा नरहेको सूचना अधिकारी रतन रावतले बताए । .

विद्युतबाट चल्ने पहिलो लिफ्ट निर्माण
जुम्लामा विद्युतबाट सञ्चालन हुने पहिलो लिफ्ट सिँचाइ आयोजना निर्माण भएको छ । तातोपानी गाउँपालिका–६ धौलापानीमा ५७ लाख लगानीका बत्तीबाट सञ्चालन हुने लिफ्ट सिँचाइ आयोजना निर्माण भएको हो । आइतबार तातोपानी गाउँपालिकाका कार्यबाहक अध्यक्ष विशाल खड्काले आयोजनाको उद्घाटन गरे । सिँचाइको दिगो व्यवस्थापन तथा सिँचाइ अभावले बाँझिदै गएको जग्गामा खेती गरी उत्पादन बढाउने लक्ष्यले विद्युतबाट सञ्चालन हुने लिफ्ट सिँचाइ निर्माण गरिएको हो ।

जिल्लामा करोडौं खर्चिएर निर्माण गरिएका दर्जनौं सोलार लिफ्ट आयोजना भने असफल बनेका बेला विद्युतबाट सञ्चालन हुने पहिलो लिफ्ट सिँचाइ आयोजना दिगो हुने विश्वास गरिएको छ । तर बत्तीबाट सञ्चालन हुने धौलापानी लिफ्ट सिँचाइ आयोजना दिगो र व्यवस्थित हुने अपेक्षा गरिएको तातोपानी गाउँपालिकाका कार्यबाहक अध्यक्ष विशाल खड्काले बताए ।

‘सिँचाइ सुविधाको अभावले हाम्रो धेरै खेतीयोग्य जमिन बाँझो छ,’ उनले भने, ‘सुक्खा क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन लिफ्ट सिँचाइ आयोजनाले टेवा पुर्‍याउने छ भने पाखो बारीमा पनि खेतीपाती हुनेछ । आयोजनाको दिगो व्यवस्थापन, संक्षरण, सञ्चालनमा सबैले ध्यान दिन जरुरी छ ।’ ५७ लाख ६१ हजार लगानीमा निर्माण भएको आयोजनमा तातोपानी गाउँपालिकाको तीन लाख ५२ हजार लगानी छ भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ५४ लाख आठ हजार लगानी छ । आयोजनामा २५ किलोवाटको मोटर जडान गरिएको छ ।

हाल जाल्पादेवी विद्युत आयोजनाबाट १० किलोवाट विद्युतबाट लिफ्ट सिँचाइ आयोजना सञ्चालन हुने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका सिभिल ओभरसियर लोकबहादुर डाँगीले बताए । त्यस्तै इलेक्ट्रोनिक सामग्रीतर्फ विद्युत लाइन जडान, मोटर, पम्पलगायतका सामग्री खरिदमा २२ लाख ४७ हजार रुपैयाँ र सिभिल संरचना निर्माणमा ३५ लाख १३ हजार खर्च भएको सिभिल ओभरसियर डाँगीले जानकारी दिए । उनका अनुसार उक्त लिफ्ट सिँचाइ आयोजनाबाट तातोपानी–६ को पाँच हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्