Logo

८२ वटा आईपीओ पाइपलाइनमा

काठमाडौं- धितोपत्र बोर्डमा सार्वजनिक निष्काशनका लागि तयारी सेयरको थुप्रो लागेको छ । एक वर्षदेखिको प्राथमिक निष्काशन प्रक्रिया रोकिएका कारण हालसम्म ८२ वटा कम्पनीको आईपीओ पाइपलाइनमा रहेको धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डका अनुसार, समग्रमा ५१ अर्ब ११ करोड २४ लाख १ हजार ६३२ रुपैयाँ बराबरको ३५ करोड ५० लाख ३७ हजार २८५ कित्ता सेयर प्राथमिक निष्काशनको प्रक्रियामा रहेका छन् । सरकारले गत मंसिर १० गते धितोपत्र बोेर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गरेको थियो । श्रेष्ठले कार्यभार सम्हालेलगत्तै क्रमैसँग आईपीओ निष्काशन हुँदै जाने बताएका थिए ।

तर आईपीओ निष्काशन निकै सुस्त भएको भन्दै लगानीकर्ता तथा अन्य सरोकारवालाले गुनासो गर्न थालेका छन् । बोर्डले अध्यक्ष पाएसँगै हालसम्म चार वटा मात्रै कम्पनीले सेयर निष्काशन स्वीकृति पाएका छन् । बाँकी ८२ वटा कम्पनी आईपीओ निष्काशनका लागि पाइपलाइनमा छन् भने ६ वटा कम्पनीले एफपीओ निष्काशनका लागि पाइपलाइनमा बसेका छन् ।

बोर्डका अनुसार, अहिले २०८० मंसिर देखिको आईपीओ पाइपलाइनमा रहेका छन् । तर ती आईपीओ कहिलेसम्ममा निष्काशन हुन्छ भन्ने कुराको टुंगो लागेको छैन । गत मंसिर १० देखि माघ १३ गतेसम्म तीन वटा कम्पनीको आईपीओ र एक वटा कम्पनीको एफपीओ निष्काशन प्रक्रिया बोर्डले स्वीकृत गरेको छ ।

बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बोर्डले अहिले पाइपलाइनमा रहेका आईपीओ निष्काशनका लागि प्रक्रियामा रहेकाले क्रमैसँग निष्काशन हुँदै जाने बताए । उनले अब प्रक्रिया पूरा भएका कम्पनीहरूको आईपीओ निष्काशन हुँदै जानेसमेत बताए । बोर्डका अनुसार गत मंसिर ७ गतेदेखि अहिलेसम्म चारवटा कम्पनीले आईपीओ निष्काशनको अनुमति पाएका छन् ।

स्वीकृति पाउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्माक्युटिकल्स लिमिटेडले आईपीओ निष्काशनका लागि स्वीकृति पाएका छन् । यसमध्ये गार्डियन लाइफले आईपीओ निष्काशन गरिसकेको छ । यस्तै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले पनि वैदेशिक रोजगारीमा जानेहरूका लागि आईपीओ निष्काशन गरेको छ ।

कुन कुन छन् पाइपलाइनमा ?
धितोपत्र बोर्डका अनुसार, होटल तथा पर्यटन समूहअन्तर्गत सात वटा कम्पनीले ३ करोड ५३ लाख ६० हजार कित्ता सेयर निष्काशनका लागि पाइपलाइनमा रहेको छ ।

बोर्डका अनुसार, ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको सेयर निष्काशनका लागि पाइपलाइनमा रहेको हो । एपेक्स हस्पिटालिटी लिमिटेड, होटल फरेस्ट इन लिमिटेड, अन्नपूर्ण केवल कार, बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड, अकामा होटल लिमिटेड तथा ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आइपीओ निष्काशनका लागि प्रक्रियामा रहेका हुन् ।

बोर्डका अनुसार, हाइड्रोपावरतर्फ ४२ वटा कम्पनी आईपीओका लागि पाइपलाइनमा रहेका छन् । ४२ वटा कम्पनीको १७ करोड ९० लाख ६१ हजार १९१ कित्ता सेयर निष्काशनका लागि पाइपलाइनमा रहेका छन् । यी कम्पनीको १८ अर्ब ३१ करोड ३३ लाख ८३ हजार ९३६ रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेका हुन् ।

यस्तै इन्भेष्टमेन्टतर्फ तीन वटा कम्पनीको आईपीओ निष्काशनका लागि पाइपलाइनमा रहेका छन् । यी कम्पनीको २ अर्ब ८४ करोड ३३ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ७३ हजार ५ सय कित्ता सेयर निष्काशनका लागि अनुमति पर्खिएर बसेका छन् ।

बोर्डका अनुसार, म्यानुफ्याक्चरिङ तथा प्रोसेसिङतर्फ १५ वटा विभिन्न कम्पनीहरू आइपीओ निष्काशनका लागि धितोपत्र बोर्डको स्वीकृति पर्खिएर बसेका छन् । यी कम्पनीको २२ अर्ब ५४ करोड ३७ लाख ७६ हजार ६ सय ९६ रुपैयाँ बराबरको ९ करोड ६ लाख ५५ हजार ६८४ कित्ता सेयर निष्काशनका लागि प्रक्रियामा रहेका हुन् ।

यस्तै माइक्रो फाइनान्सतर्फ स्वस्टिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ८० लाख रुपैयाँ बराबरको ८० हजार कित्ता सेयर निष्काशनका लागि प्रक्रियामा रहेका छन् । यस्तै माइक्रो इन्स्योरेन्सतर्फ तीन कम्पनीको ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता सेयर निष्काशनको प्रक्रियामा रहेका छन् । यस्तै अन्य समूहतर्फ ११ वटा कम्पनीहरूको ३ अर्ब ४१ करोड ७८ लाख ९१ हजार रुपैयाँ बराबरको २ करोड ७४ लाख ५६ हजार ९१० कित्ता सेयर निष्काशनको प्रक्रियामा छन् ।

प्रतिक्रिया दिनुहोस्