स्याउको उत्पादन बढाउन बगैंचा व्यवस्थापनमा जोड
नौ जिल्लाका ३३ कृषिलाई तालिम

जुम्ला– कर्णालीको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनको मुख्य स्रोत मानिएको स्याउखेतीको विस्तार तथा उत्पादन वृद्धिका लागि कर्णाली कृषि अधिकृत तथा कृषि प्राविधिकलाई तीन दिने स्याउ बगैंचा व्यवस्थापन विषयक तालिम सञ्चालन गरिएको छ । स्याउको उत्पादन वृद्धि, रोगकीरा निवारण तथा समग्रमा बगैंचा व्यवस्थापनबारे सिकाउने उद्देश्यले साविक कर्णालीका पाँचसहित नौ जिल्लाका ३३ जना कृषि अधिकृत तथा कृषि प्राविधिकिलाई बगैँचा व्यवस्थापनबारे तालिम आयोजना गरिएको हो ।
सहभागीलाई शितोष्ण बागवानी विकास केन्द्र मार्फा, मुस्ताङका बागवानी विकास अधिकृत मद्मनाथ आत्रेय, परियोजना कार्यान्वयन एकाइ नुम्ना सुर्खेतका वरिष्ठ कृषि विकास अधिकृत डा. लक्ष्मीनारायण दास, परियोजना कार्यान्वयन एकाई खुमलटार, ललितपुर वरिष्ठ कृषि अधिकृत दिनेशप्रसाद सापकोटाले स्याउ बगैंचाबारे प्रशिक्षण दिएका थिए ।
कृषि विकास कार्यालय डोल्पाका कृषि अधिकृत महेन्द्र मल्लले वर्षेनी स्याउखेती विस्तार भए पनि सीप र ज्ञानको अभावले उत्पादन घटेको बताए । उनले भने, ‘व्यावसायिक रूपमा खेती गरे पनि मल बीउ, सिँचाइ बिरुवा काटछाँट, रोग किराको निवारण, व्यवस्थापन लगायतका विषयमा धेरै कुरा सिकेका छौं । जिल्लामा भएर गाउँगाउँमा सिकाउन प्रतिबद्ध छौं । तर साविक कर्णालीका किसानलाई लाभान्वित हुनेगरी आयोजना भएको तालिम स्याउ बगैँचा व्यवस्थापनका लागि कोशेढुंगा सावित हुनेछ ।’
यतिबेला कर्णालीमा स्याउ बगैंचा व्यवस्थापनको समय हो । उपयुक्त समयमा बगैँचा व्यवस्थापनबारे तालिम पाउँदा राहत मिलेको सिंजा गाउँपालिका कृषि विकास शाखा प्रमुख मनीषा बुढाले बताइन् । उनले परम्परागत रूपमा गरिएको स्याउखेतीले श्रमअनुसारको प्रतिफल नदिने भएकाले आवश्यक ज्ञानसीप आवश्यक रहेको उल्लेख गरिन् ।
कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख डाक्टर नवराज आचार्यले कर्णालीलाई अर्गानिक स्याउको प्रदेश बनाउन गुणस्तर उत्पादनमा ध्यान दिनुपर्ने बताए । तालिममा सिकेका कुरा व्यवहारमा लागू गरी स्याउ खेतीलाई फष्टाउन सहयोग पुग्ने उल्लेख गरे । परियोजना कार्यान्वयन एकाई खुमलटार, ललितपुरका वरिष्ठ कृषि अधिकृत दिनेशप्रसाद सापकोटाले कर्णालीमा स्याउको प्रचुर सम्भावना भए पनि बगैंचा व्यवस्थापन र रोग कीरा निवारणबारे ज्ञान नहुँदा अपेक्षित उत्पादन हुन नसकेको बताए ।
उनले भने, ‘जुम्लाको स्याउलाई ब्राण्डिङ गर्न उत्पादन गुणस्तर हुनुपर्छ । ग्रेडिङ अनिवार्य हुनुपर्छ । खेती विस्तारमात्र नभई उत्पादनदेखि बजारीकरणमा सहज हुनेगरी नीतिगत कुरामा सरकारले जोड दिनुपर्छ भने किसानलाई आवश्यक ज्ञान सीप दिन आवश्यक छ ।’ कर्णालीलाई अर्गानिक प्रदेश भनिए पनि यहाँको उत्पादनलाई पूर्ण अर्गानिक बनाउन खेतीपातिदेखि, रोग किरा निवारण, मलजल व्यवस्थापन, उत्पादन, लेबलिङ प्याकेजिङमा ध्यान दिनुपर्ने उल्लेख गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्णप्रसाद चौलागाईंले तालिम औपचारिकतामा मात्र सीमित नभई उत्पादन वृद्धि हुनेगरी कार्यान्वयन गर्नुपर्ने बताए । किसान सरकारी सीप ज्ञान, अवसरबाट वञ्चित भएका छन् । अब स्याउ किसानका पक्षमा प्राथमिकता दिनसमेत सुझाव दिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ, खुमलटार ललितपुर, परियोजना कार्यान्वयन एकाइ (समन्वय), सुर्खेत र परियोजना कार्यान्वयन एकाइ, जुम्लाको संयुक्त आयोजनामा स्याउ बगैँचा व्यवस्थाबारे तालिम सञ्चालन गरिएको परियोजना जुम्लाका प्रमुख खेमराज शाहीले बताए । जुम्लामा पहिलो पटक कृषि अधिकृत/सहायकस्तरीय स्याउ बगैंचा व्यवस्थापन तथा काँटछाँट विषयक तालिम सञ्चालन भएको र यसले स्याउको उत्पादन वृद्धिमा टेवा पुर्याउने विश्वास छ ।
उनका अनुसार जुम्लामा उच्च घनत्वको ५२ सय हेक्टर क्षेत्रफलमा स्याउखेती भइरहेको छ भने यस वर्षमा स्याउ निर्यातबाट ६१ करोड आर्थिक भित्रिएको छ । जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा, अछाम, दार्चुला र सुर्खेत गरी आठ जिल्लाका ३३ जना कृषि अधिकृत तथा कृषि प्राविधिकको सहभागिता रहेको प्रमुख शाहीले उल्लेख गरे ।