Logo

बुटवल पश्चिमका स्थानीय भन्छन्

सडक विस्तारमा बुटवल–नारायणगढ जस्तो समस्या नदोहोरियोस्

बुटवल– सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएपछि बुटवल पश्चिमका स्थानीय उत्साहित भएका छन् । उत्साहसँगै सास्ती भोग्नुपर्ने कल्पनासमेत गरेका छन् । बुटवल–नारायणगढ सडकमा यात्रा गरेकाले पश्चिमको आफ्नो ठाउँमा पनि त्यस्तै नियति भोग्नुपर्ने त होइन भन्ने उनीहरूको चिन्ता छ ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–गोरुसिंगे सडक विस्तारको भर्चुअल रूपमा शिलान्यास गरेका थिए । शिलान्यास समारोहमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल भौतिक रूपमै उपस्थित थिए । शिलान्याससँगै सडक विस्तारको काम औपचारिक रुपमा सुरु भएको छ । विकास निर्माणको काम गर्दा केही दु:ख त हुन्छ । तर सडक विस्तारको काम व्यवस्थित रूपमा समयमै सकियोस् भन्ने धेरै स्थानीयको भनाइ छ ।

बुटवल पश्चिमको सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद पोखरेलले स्थानीयलाई लामो समय धुलो नखुवाउने गरी काम हुनुपर्ने बताए । ‘बुटवल– नारायणगढ सडक हेर्दा त बेस्सरी लथालिंग छ । कहिले काम गरेको छ । कहिले काम छोडेको छ । पाँच वर्ष भने १० वर्ष लाग्ला जस्तो छ ।’ कारोबारसँग उनले भने हाम्रोमा त्यस्तो नहोस् । तीन वर्षको म्याद छ, त्यही समयभित्र निर्माण सकियोस् । लामो समयसम्म धुलो खान र यात्रामा सास्ती भोग्न नपरोस् ।’

पोखरेलले दायाँबायाँ काम सकेपछि मात्र बीचको दुई लेन सडक भत्काउनुपर्ने बताए । ‘बीचमा गाडी चलिरहेको ठाउँलाई नभत्काइकन पहिले दायाँबायाँ गर्नुपर्ने काम अघि बढाउनुपर्छ । त्यहाँ सम्पन्न भएपछि मात्र बीचको काम गर्दा हामीलाई सजिलो हुन्छ,’ उनले भने, ‘नगरपालिकाका मेयर सापलगायत सडक आयोजनालाई पनि हामीले यही भनेका छौं ।’

कपिलवस्तुको वाडगंगा नगरपालिकामा पूर्वपश्चिम राजमार्गको १५ किलोमिटर जति दूरी पर्दछ । बाडगंगाका मेयर चक्रपाणि अर्यालले सडक विस्तारको समयअवधि भन्दा बढी आफूहरूलाई दु:ख नदिन आग्रह गरे । ‘विकास र निर्माणको क्रममा स्वाभाविक रूपमा केही दु:ख त भोग्नै पर्‍यो । तर सम्झौताअनुसार तोकिएको समयमा काम हुनुपर्‍यो,’ उनले भने, ‘नियमन गर्ने निकायले तालिका बनाएर कति दिनमा कुन कुन काम हुनुपर्ने हो । सोहीअनुसार कार्यान्वयन गराउनुपर्‍यो ।’

राजमार्ग विस्तारको ईआईएको सार्वजनिक सुनुवाइको क्रममा सडक आयोजनासँग आफ्नो कुरा राखेको मेयर अर्यालले जानकारी दिए । ‘यहाँ ईआईएको छलफलका क्रममा पहिले रुख काट्ने, बिजुलीको पोल सार्ने काम गरिसकेपछि मात्र सडकको काम गर्न भनेका छौं । उहाँहरूले त्यसै गर्छौं भन्नुभएको छ,’ उनले भने । बुटवल–नारायणगढ सडकको जस्तो दर्दनाक अवस्था बन्न नदिन जनस्तरबाट निगरानी समिति पनि बनाउने तयारी गरिरहेको मेयर अर्यालले बताए ।

लेखक तथा बुटवल–१२ बेलबासका स्थानीय ऋषि आजादले सडक विस्तारमा ढिलाइ नहोस् भनेर आफूले नागरिक निगरानी समूह बनाउन पहल गरिरहेको जानकारी दिए । ‘यहाँबाट गोरुसिंगेसम्मलाई समेटेर सातदेखि नौ जनासम्मको निगरानी समूह बनाउँछौं । त्यसमा सडकसम्बन्धी काम गरेका इन्जिनियरलाई नै संयोजक तोक्ने तयारी गरेका छौं,’ उनले भने, ‘सडक भत्काउने, धुलो धुवा बढाउने, ढिलासुस्ती गर्न दिँदैनौं । छिटो छरितो सडक अघि बढाउन दबाब दिन्छौं ।’ निगरानी समूहले चुनौती दिनेभन्दा पनि सहयोगी र सहजीकरणको भूमिका निर्वाह गर्ने आजादले जानकारी दिए । सहजीकरणको लागि सम्बन्धित पालिकाका जनप्रतिनिधि, सडक आयोजनासँग पनि निरन्तर समन्वय गर्ने उनले बताए ।

सडक विस्तार शिलान्यस समारोहमा पनि उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि सडक विस्तारमा अब ढिला सुस्ती नहुने उल्लेख गरेका थिए । अर्का उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सडक आयोजनाका लागि बजेटको समस्या हुन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले बुटवल–नारायणढ सडकको अवस्था आउन नदिने भन्दै छेउको सडक बनाएर मात्र बीचको सडक निर्माणतर्फ लाग्न आग्रह गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ भए पनि बुटवल–गोरूसिंगे सडकखण्डको स्तरोन्नतिको काम समयमै सम्पन्न हुने दाबी गरे । बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरूसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरी सडक निर्माणका लागि ल्याब, क्रसर र कंक्रिट बनाउने ठाउँ बनाइसकेको छ । सडक निर्माणका लागि एउटै कम्पनीले ठेक्का लिए पनि दुई भागमा विभाजन गरी अलगअलग ठेक्का सम्झौता गरिएको बुटवल–गोरूसिंगे सडक निर्माण आयोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले जानकारी दिइन् । निर्माणको काम पनि बुटवल र कपिलवस्तु दुवैतर्फबाट एकैपटक सुरू हुने उनले बताइन् ।

कुल १३ अर्ब ५५ करोड ९५ लाख रुपैयाँमा निर्माण हुने ५० किलोमिटर सडकका लागि बुटवल–कोठीनदी खण्डको सात अर्ब ८९ करोड र कोठीनदी–गोरुसिंगे खण्डको पाँच अर्ब ६६ करोड रुपैयाँमा सम्झौता भएको छ । यो सडक विस्तारका लागि विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ । ५० किलोमिटर सडकअन्तर्गत कपिलवस्तुतर्फको सालझण्डी–पिपरा र वनगाई–गोरुसिंगेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ ।

जंगल क्षेत्रमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ । बुटवलतर्फ भने अधिकांश बजार र बस्ती क्षेत्र छ । बजार र बस्ती भएको क्षेत्रमा दुवैतर्फ सर्भिस लेनसहितको ६ लेन सडक बन्ने छ । सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ । ठूला चोकमा अन्डर पास र ओभर पास हुनेछ । सम्झौताअनुसार कार्यादेश लिएको मितिदेखि तीन वर्षभित्र अर्थात् २०८४ असोजभित्र सडक विस्तारको काम सक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्