Logo

भैरहवा आईसिपी ६७ प्रतिशत बन्यो

भैरहवा– अघिल्लो वर्षदेखि भैरहवामा निर्माण सुरु भएको एकीकृत भन्सार जाँच चौकी (आईसिपी)ले गति लिएको छ ।

नेपाल र भारतबीच १९ वर्षअघि भैरहवा, वीरगञ्ज, विराटनगर र नेपालगञ्जमा आईसिपी निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार वीरगञ्ज, विराटनगर र नेपालगञ्जमा निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । भैरहवामा भने करिब दुई वर्ष अघिमात्र निर्माण सुरु भएको हो ।

दुई मुलुकबीचको आयात–निर्यात सहज बनाउने उद्देश्यले २०६४ सालमा नेपाल र भारत सरकारबीच नेपाल–भारतका मुख्य चार नाकाका आईसिपी निर्माण गर्ने सम्झौता भएको थियो । दुवै देशका तर्फबाट आवश्यक जग्गा अधिग्रहण गर्ने र भारत सरकारको प्राविधिक तथा आर्थिक लगानीमा आईसिपी निर्माण गर्ने सहमतिअनुसार भैरहवामा अहिले दु्रत गतिमा काम भइरहेको छ । भारतीय निर्माण कम्पनी केएसएम वसिर मोहम्मद एन्ड सन्स र कन्सल्टेन्ट राइट्स कम्पनीले दुई वर्षमा निर्माण सक्ने गरी काम गरिरहेका छन् । भैरहवा आईसिपी निर्माणका लागि एक अर्ब ६१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सम्झौताअनुसार नै काम भइरहेको संघीय आयोजना कार्यान्वयन एकाइ भैरहवाका इन्जिनियर निरज केसरीले बताए । निर्माण कम्पनीले २०७९ वैशाखदेखि काम सुरु गरेको हो । माघ पहिलो हप्तासम्म भौतिक प्रगति ६७ प्रतिशत र वित्तीय प्रगति ६० प्रतिशत पुगेको छ ।

मुख्य टर्मिनल बिल्डिङ, मुख्य कार्यालय भवन, कार्यालय भवन, प्रिकाष्ट बिल्डिङको काम सम्पन्न भई फिनिसिङको क्रममा रहेको केसरीले बताए । गोदाम घर, कर्मचारी आवास, प्रशासकीय भवन, भन्सार, क्वारेन्टाइन, विद्युत सबस्टेसन र सुरक्षाकर्मी बस्ने भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ‘सम्झौताअनुसार यही वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने हो । तर, तोकिएको समयमा निर्माण सम्पन्न नहुने भएपछि निर्माण कम्पनीले सेप्टेम्बर २०२५ सम्मका लागि थप समय माग गरेको बुझिएको छ । यही रफ्तारमा काम हुँदै गए अबको ८ महिनामा निर्माण सम्पन्न हुने देखिन्छ,’ इन्जिनियर केसरीले भने ।

उता भारततर्फ पनि निर्माण कार्य धमाधम भइरहेको छ । भारततर्फ पहिले निर्माण गर्ने भनिएको स्थानमा जग्गाको समस्या आएको थियो । पछि भारत सरकारले विवाद समाधान गरी पहिलेको स्थानभन्दा एक किमी अघि पश्चिमतर्फ आयोजनाका लागि जग्गा व्यवस्थापन गरेको थियो । आईसिपी परियोजनाका नोडल अफिसर संघीय आयोजना कार्यान्वयन एकाइ भैरहवाका प्रमुख राजु न्यौपाने हुन् ।

सम्झौताअनुसार नेपाल र भारत दुवैतर्फ आवश्यक भौतिक संरचना निर्माण सकिएपछि बल्ल आईसिपी सञ्चालन हुन्छ । भैरहवा आईसिपी निर्माण ५२ बिघा १७ कठ्ठा जमिनमा भइरहेको छ । नेपाल–भारत दुवैतर्फ नाका वारपार निर्माण गरिने आईसिपीको मुख्य उद्देश्य दुई देशबीचको आयात–निर्यात व्यापारलाई सरलीकरण गर्नु रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । ‘आईसिपीमा भन्सार, बैंक, प्लान्ट तथा पशु क्वारेन्टाइन, भन्सार प्रयोगशाला आदि आवश्यक सेवासुविधा एकै स्थानमा हुने हुँदा आयात र निर्यातकर्तालाई दश ठाउँ दगुर्नुपर्ने बाध्यता अन्त्य हुन्छ,’ रेग्मीले भने ।

आईसिपी निर्माणपछि प्रतिदिन आयाततर्फ ७०० र निर्याततर्फ ३०० मालवाहक गाडी पार्किङको क्षमता हुने भएकाले अहिलेको पार्किङ समस्या स्वतः हट्ने प्रमुख भन्सार अधिकृत रेग्मीको भनाइ छ । अहिले दैनिक ४ देखि ५ सयसम्म मालवाहक साधन आउँछन् । भन्सार यार्डमा सबै नअट्दा सडकमै पार्किङ गर्नुपर्ने बाध्यता छ ।

आईसिपी समयमै निर्माण सम्पन्न भए आयात–निर्यात सहज भई व्यवसाय अझै बढ्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउँछन् । ‘हाम्रो माग वीरगञ्ज, विराटनगरमा जस्तै रेलवे लाइन कनेक्सन आईसिपी भैरहवासम्म होस् भन्ने हो । हामीले यो कुरा सम्बन्धित ठाउँमा पुर्‍याइरहेका छौं । रेलवे सुविधा भैरहवा आईसिपीसम्म जोडियो भने व्यापार अझ सहज हुन्छ,’ श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्