हेभी इक्युपमेन्टको लाइसेन्स लिन चारपाङ्ग्रेको नचाहिने «

हेभी इक्युपमेन्टको लाइसेन्स लिन चारपाङ्ग्रेको नचाहिने

सरकारले हेभी इक्युपमेन्ट चालक अनुमतिपत्र (लाइसेन्स) लिने प्रक्रिया सरल बनाएको छ । नयाँ व्यवस्थाअनुसार हेभी इक्युपमेन्टको लाइसेन्स लिन चारपाङ्ग्रेको लाइसेन्स नचाहिने भएको छ । यसअघि हेभी इक्युपमेन्टको लाइसेन्स लिनका लागि यसअघि चारपाङ्ग्रे हलुका सवारीको लाइसेन्स लिएको दुई वर्ष पूरा भएपछि मात्र ट्रायल प्रक्रियामा सहभागी हुन पाउने व्यवस्था थियो । यो व्यवस्थाका कारण मुलुकभर हेभी इक्युपमेन्ट चालक अभाव भएको भन्दै व्यवसायीहरूले विरोध गर्दै आएका थिए ।
पूर्वाधार विकासले गति लिएसंगै बर्सेनि हजारौं इक्युपमेन्ट भित्रिरहेका छन् । इक्युपमेन्ट भित्रिए पनि त्यो सञ्चालन गर्ने दक्ष अपरेटर (चालक) नहुँदा समस्या छ । लाइसेन्स लिन विगतमा भएको झन्झटिलो प्रक्रियाका कारण दक्ष चालकको उत्पादन नै कम हुन्थ्यो भने सयौंको संख्यामा अपरेटरहरू रोजगारीका लागि विदेशिने क्रमले स्वदेशमा हेभी इक्युपमेन्ट अपरेटरको चरम अभाव हुँदै आएको छ । सरकारले क्रेन, डोजर, रोलर÷कम्प्याक्टर, ब्याक्होलोडर, ग्रेडरलगायत १६ वटा इक्युपमेन्टको लाइसेन्स लिनका लागि सरलीकरण गरेको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराइले जानकारी दिए । “विगतमा यस्ता इक्युपमेन्टको लाइसेन्स लिन चारपाङ्ग्रे सवारीको लाइसेन्स लिएको दुई वर्ष पुगेको हुनुपर्ने प्रावधान थियो,” उनले भने, “यस्तो प्रावधान झन्झटिलो भएको व्यापक गुनासो आएपछि यसलाई सरलीकृत गरेर ४५ दिने तालिम लिएको प्रमाणपत्र पाएकाले हेभी इक्युपमेन्टको लाइसेन्स लिन ट्रायल प्रक्रियामा सहभागी हुन पाइन्छ ।”
बुधबार राजपत्रमा प्रकाशित भएसँगै यो नियम कार्यान्वयनमा आएको भट्टराईले बताए । “अब हेभी इक्युपमेन्ट ट्रायल पनि सडक विभागअन्तर्गतको हेभी इक्युपमेन्ट कार्यालबाट हुने व्यवस्था मिलाइएको छ,” उनले भने । यसले हेभी इक्युपमेन्ट अपरेटर उत्पादनका लागि सहज हुने विश्वास विभागले लिएको छ ।
जलविद्युत्, सडक जनस्ता पूर्वाधारको विकास विस्तार भएसँगै मानिसले गरेर सम्भव नहुने भएकाले परियोजना समयमा नै सम्पन्न गर्नका लागि हेभी इक्युपमेन्टको प्रयोग हुन थालेको हो । विभिन्न परियोजनाका कामले गति लिएको र विकासका काममा उत्साह देखिएकाले इक्युपमेन्ट आयात बढेको तर इक्युपमेन्ट अपरेटरहरू भने काम हुँदै गएको नेपाल हेभी इक्युपमेन्ट व्यवसायी महासंघका अध्यक्ष तराबहादुर कुँवरले बताए ।
“हामीले धेरै लामो समयदेखि गरेको प्रयास बल्ल सार्थक भएको छ,” कुँवरले भने, “माघ २६ गते मन्त्रिस्तरीय निर्णय भएपछि फागुन १६ गतेको राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको छ ।” हेभी इक्युपमेन्टको लाइसेन्स लिन चारपाङ्ग्रे सवारीको लाइसेन्स नचाहिनले नयाँ व्यवस्थाले अब अपरेटर उत्पादन हुने व्यवसायीले समस्या झेल्नुनपर्ने विश्वास उनले गरे । “हेभी इक्युपमेन्ट भित्रिने क्रम तिब्र छ तर उक्त मेसिन चलाउने अपरेटरहरू विदेशिने गरेकाले नेपालमा अपरेटरको चरम अभाव देखिएको छ,” कुँवरले भने, “नयाँ व्यवस्थासँगै अब यस्तो अभावले व्यवसायीहरूले विदेशबाट अपरेटर ल्याउने अवस्था कम हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्