ग्रामीण सडकले बढायो रोजगार

बारा– बाराको स्थानीय तहले ग्रामीण क्षेत्रमा सडक विस्तार गर्दा स्थानीय युवालाई रोजगार बनाएको छ । सडकले गाउँमा मालसामान तथा यात्रु बोक्ने थोरै लगानीका साना विद्युतीय सवारीको प्रयोग बढाएपछि स्थानीय युवामा रोजगार बढेको हो । जिल्लामा पालिकाले आफ्नो क्षेत्रभित्रका गाउँमा कंक्रिटका बाटो निर्माण गरेको छ भने प्रदेश र संघीय सरकारले मुख्य राजमार्ग तथा सहर, बजारदेखि ग्रामीण सडक जोडने पक्की सडक, पुल, कल्र्भट निर्माण गरेको छ ।
बाटोको व्यापकताले गाउँमा चहलपहल हुँदा स्थानीय बजारदेखि साना ईभीको सञ्चालनले गाउँमै रोजगार बढेपछि थोरै भने पनि युवा पलायन रोक्न मद्दत पुगेको उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले बताए । उनले देशमा धेरैभन्दा धेरै विद्युत ऊर्जा उत्पादन भइरहेकाले ईभीको प्रयोग अझै बढ्ने क्रममा रहेकाले आन्तरिक विद्युत खपत बढ्ने हुँदा सरकारलाई नै फाइदा पुग्ने बताउँछन् ।
जिल्लामा करिब पाँच सय ईभी सञ्चालन भएको अनुमान छ । पाँच लाखसम्म मूल्यका तीनपांग्रे विद्युतीय सवारीमा स्वरोजगार बन्ने सदस्यलाई ग्रामीण क्षेत्रमा सञ्चालित सहकारीले धमाधम लगानी गरेपछि गाउँमै रोजगारीको अवसर बनेको छ । अहिले यो क्षेत्रमा १५ सयभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
खेतीपातीको सिजनबाहेक अन्य समय त्यत्तिकै डुलेर बिताउने ग्रामीण क्षेत्रका मानिस तीनपांगे्र सवारी सञ्चालन गरेर व्यावसायिक बन्न थालेका छन् । मालबाहक तीनपांग्रे ईभी सञ्चालकले आफ्नै खेतबारीको उत्पादन लिएर गाउँघर, बजारमा आफैले बेच्नेदेखि सहर बजारदेखि गाउँको घरसम्म भाडामा मालसामान ओसारपसार गर्ने गरेका छन् । मालबाहक टेम्पोमा किसानको आफ्नो उत्पादन तरकारी बारीबाट सोझै बजारमा लैजान थालेपछि उपभोक्तासमेत लाभान्वित भएका छन् ।
स्थानीय सरकारले सडक बनाएर गाउँमा चहलपहल बढाएको र रोजगारीसमेत सिर्जना गरेको बताउँदै पिलुवाका ३६ वर्षीय चन्द्र थापा मगरले पाँच लाखमा विद्युतीय सवारी आफैले सञ्चालन गर्दा परिवारसँगै बसेर ३०/४० हजार कमाउने गरेकाले विदेशको मोह हटेको बताए । न्यूनतम खर्चमा राम्रो आम्दानी भएपछि ग्रामीण क्षेत्रमा आकर्षण बनेको विद्युतीय साना सवारी एकपटक दर्ता गरी सञ्चालन गर्न सकिने सरल प्रविधि भएकोले घरको जिम्मेवारी र सार्वजनिक सवारी हाँकेर स्वरोजगार बन्ने महिलाको संख्या पनि बढेको छ ।
सामान्य लेखपढ गर्न नसक्ने महिलाका लागि समेत साना सवारी अर्थोपार्जनको गतिलो माध्यम बनेको छ । यसले महिला र पुरुष दुवैलाई स्वरोजगार एवं आत्मनिर्भर बन्न सघाइरहेको छ । घरमै राति चार्ज गर्दा अधिकतम दुई सय रुपैयाँ खर्च हुने दिनभर चलाउन मिल्ने, बिग्रिएका पार्टपुर्जा र मिस्त्री पनि सजिलै उपलब्ध हुने हुँदा इन्धनवाला सवारीभन्दा कम खर्चिलो भएको चालक थापाले बताए । ठूला बस ट्रक गुड्न नसक्ने घना बस्ती भएका सहरी क्षेत्रका साँघुरा भित्री सडकदेखि गाउँगाउँको सामान्य बाटोसम्म तीनपांग्रे ईभीको प्रयोगले रोजगारी सिर्जना गरेको छ ।