Logo

आयुर्वेदका बारेमा नागरिकलाई बुझाउन जरुरी : मन्त्री बराल

दाङ-प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आयुर्वेदका बारेमा नागरिकलाई बुझाउन नसकिएको बताएका छन् । नागरिकलाई बुझाउन नसक्दा नै आयुर्वेदिक उपचारमा नागरिकहरू नआउने गरेको उनको भनाइ छ ।
घोराहीमा आयोजित नेपाल आयुर्वेद औषधि व्यवसायी संघको प्रदेश नं ५ को प्रथम भेला तथा प्रदेश अधिवेशनको उद्घाटन बरालले सो कुरा बताउका हुन् । आयुर्वेदका बारेमा बुझाउन सकिएमा यसतर्फ नागरिकको आकर्षण बढने उनको भनाइ छ । यसतर्फ लाग्न आयुर्वेदिक क्षेत्रमा कार्य गर्दै आएका व्यक्तिलाई आग्रह गरे । “हाम्रो विज्ञान हाम्रो हातबाट बाहिर जाँदैछ,” मन्त्री बरालले भने । यसतर्फ सचेत हुनसमेत उनले सबैमा आग्रह गरे । यसका बारेमा धेरैले विश्वास नगर्ने भएकाले धेरै मेहनत गर्न आवश्यक रहेको समेत उनको भनाइ छ । आयुर्वेदको विकासका लागि आफ्नो तर्फबाट सहयोग हुनेसमेत उनले बताए । “आयुर्वेदको क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्नेछ,” मन्त्री बरालले भने । आयुर्वेदको क्षेत्रमा प्रदेश सरकारले अघिल्लो वर्ष छुट्याएको बजेट फ्रिज भएको उनले बताए । “तपाईंहरूले सरकारले सहयोग गरेन भन्नुहुन्छ प्रदेश सरकारले छुट्याएको बजेट खर्च नभएर फ्रिज हुने गरेको छ,” मन्त्री बरालले भने । प्रदेश सरकारले आयुर्वेदको विकासका लागि जिल्लास्तरीय अस्पतालहरूलाई आधुनिकीकरण गर्दै अगाडि बढन थालेको समेत बताए ।
दाङमा रहेको बिजौरी आयुर्वेद अस्पताल र लुम्बिनी अस्पताललाई आधुनिकीकरण गरिने उनको भनाइ छ । प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले आयुर्वेदिक उपचार वैज्ञानिक विधि रहेको बताए । आयुर्वेदिक औषधिलाई परिस्कृत गर्न जरुरी रहेको उनको भनाइ छ । कार्यक्रममा राप्ती आयुर्वेद प्रादेशिक अस्पताल बिजौरी चिकित्सालयका निर्देशक डा.रामकार्मेश्वर ठाकुर, सरकारी आयुर्वेद संघका केन्द्रीय अध्यक्ष डा. मदन बिसी, नेपाल आयुर्वेद औषधि व्यवसायी संघका संस्थापक उद्धव गौतमलगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्