सिमेन्टको मूल्यवृद्धिले निर्माण कार्य प्रभावित

बारा– निर्माण क्षेत्रको सिजन सुरु भएसँगै सिमेन्टको मूल्यवृद्धिले बाराका निर्माण कार्य प्रभावित भएको छ । जिल्लामा निर्माणाधीन गौरवका योजनादेखि प्रदेश तथा स्थानीय सरकारका सबै पूर्वाधार निर्माणका काम सिमेन्टको मूल्य आकासिएपछि प्रभावित भएको हो । निजी क्षेत्रका तारे होटल, अस्पताल, विद्यालयसमेत निर्माण कम्पनीले काम रोकेर अवरुद्ध पारेपछि दैनिक ज्यालादारीका मजदुरहरू प्रत्यक्ष मारमा परेका छन् ।
दशकदेखि निर्माणको सिजनमा प्रतिबोरा सय रुपैयाँले बढ्ने गरे पनि यो पटक अप्रत्याशित मूल्यवृद्धिपछि काम गर्न नसक्ने भन्दै ठेकेदारहरूले पूर्वाधार निर्माण रोकेका छन् । ‘गत महिनासम्म प्रति बोरा पाँच सय रुपैयाँमा पाइरहेको सिमेन्ट एका–एक आठ सय २० रुपैयाँ भएपछि हामीले काम गर्न सक्ने अवस्था नभएकोले तत्काललाई निर्माण कार्य बन्द गरेका हौं’ निर्माण व्यवसायी संघका कोषाध्यक्ष रामकुमार अर्यालले निर्माण क्षेत्रको आवश्यक वस्तुमा राज्य बेखबर बन्दा पूर्वाधार निर्माणको सिजनमै काम ठप्प भएको बताए ।
निर्माण रोकिएसँगै श्रमिक, मिस्त्री, कामविहीन बनेका छन् । नदीजन्य सामग्री उत्पादन गर्ने क्रसर, निर्माणजन्य सामग्री छड, फलामका हार्डवेयर, ढुवानी गर्ने ट्रिपर र ट्याक्टरको प्रयोग बन्द भएको छ । गत साउनमा सिमेन्टको मूल्य प्रतिबोरा ४ सय १० रुपैयाँ रहे पनि माघ महिनासम्म आइपुग्दा सिमेन्टको भाउ बढेर ८ सय १५ रुपैयाँ स्थानीय बजारमा पुगेको अर्यालले बताए ।
विगतमा प्रत्येक वर्ष निर्माणको सिजन सुरु भएसँगै पुस, माघमा सय रुपैयाँले प्रतिबोरा मूल्य बढ्ने गरेकोमा यो पटक एक्कासि ६ महिनामै डब्बल भएको निर्माण व्यवसायीहरूले बताएका छन् । ठूला निर्माण कम्पनीहरूले पेटी कनट्र्याक्ट स्थानीय निर्माण कम्पनीलाई दिएको निजी क्षेत्रका ठूला अस्पताल, शैक्षिक संस्था, तारे होटल निर्माणका काम सिमेन्टको उच्च मूल्यवृद्धिले रोकिएको छ । स्थानीय ठेकेदारहरूले तिनै तहका सरकारका स्थानीय परियोजनाका कामसमेत बन्द गरेपछि बजारसमेत प्रभावित हुन पुगेको नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले बताए ।
साउनकै सिमेन्टको मूल्यमा डेढ दुई सय बढी लागत राखेर निर्माण कबोल गरेका ठेकेदारहरूले सिमेन्टको मूल्य ४ सय बढी भएपछि ५० लाखको पूर्वाधार योजनामा सात, आठ लाखसम्म सिमेन्टमा मात्रै नोक्सान हुने अर्जुन निर्माण सेवा सिमराका सञ्चालक अर्जुन लामिछानेले बताए । उनले स्थानीयको प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहका साना प्रकृतिका बाटो, घाटो, पुल, कल्भर्ट, विद्यालय, पाटी पौवाको रोकिएको निर्माण कार्य सिमेन्टको मूल्य समायोजन नहुँदासम्म काम गर्न नसक्ने बताए ।
निर्माण कम्पनीले काम रोकेपछि दैनिक ज्यालादारीका श्रमिक प्रत्यक्ष मारमा परेका छन् । दैनिक ज्यालाबाट जीविकोपार्जन गर्ने सयौँ श्रमिक बेरोजगार बनेपछि मजदुर संठनहरूले सरकारले तत्काल सिमेन्टको मूल्यबारे छानबिन गर्न माग गरेका छन् ।