चियामा अनिवार्य अक्सन लागू नगर्न माग

झापा– नेपाली चियाको सबैभन्दा ठूलो बजार रहेको भारतले नेपालमा उत्पादित चियाको आयात रोक्न अनिवार्य अक्सनको प्रावधान ल्याउने तयारी गरेसँगै उद्योगी व्यवसायी चिन्तित बनेका छन् । भारतको केन्द्र सरकारले त्यहाँ आयात हुने चियालाई अनिवार्य रूपमा अक्सनमा राख्ने गृहकार्य सुरु गरेपछि नेपाली चियाको निर्यातमा संकट देखिएको भन्दै उनीहरु चिन्तित बनेका हुन् ।
भारतले सबै प्रकारका आयातित चिया अक्सन प्रणालीबाटै भित्र्याउने गरी कानुन निर्माण गर्ने तयारी गरिरहेको छ । भारतमा चिया निर्यातसम्बन्धी नयाँ कानुन जारी भए अर्थोडक्स र सिटिसी दुवै प्रकारका चियाको निर्यातका लागि अक्सन प्रक्रिया अपनाउनु पर्ने भएपछि नेपाली चिया निर्यातमा संकट उत्पन्न हुने उनीहरुको भनाइ छ ।
झापाको बिर्तामोडमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोड, संवाद समूह र प्रादेशिक चिया समन्वय समितिले गरेको छलफल कार्यक्रममा उनीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । चियामा देखिएको समस्याको दीगो समाधानका लागि उनीहरुले काठमाडौंमै पुगेर प्रधानमन्त्रीसहित सम्बद्ध मन्त्रालयहरुमा चिया क्षेत्रका समग्र समस्याको ठोस र दीगो समाधानका लागि निर्णायक पहल गर्ने बताएका छन् ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले भारतमा नयाँ कानुनी व्यवस्था लागू भए नेपाली चिया क्षेत्र नराम्ररी प्रभावित हुने भन्दै समयमै निकास निकाल्नु पर्नेमा जोड दिए । उनले भारतले भारतीय अक्सनमा नेपाली चियालाई अनिवार्य राख्नुपर्ने प्रावधान बनाउन खोजेर नेपाली चियाको निर्यात निरुत्साहित गर्न खोजेको बताए ।
अधिकारीले नेपाली चियाको दीगो समाधानको लागि नेपालको खाध्य तथा गुण नियन्त्रण प्रयोगशालाको रिपोर्टले मान्यता पाउनुपर्ने बरु नेपाल सरकारले प्रमाणित गरेपछि मात्र भारत निर्यात गर्न सकिने नीति भारतीय पक्षले स्वीकार गर्नुपर्ने बताए । उनले चियाको दीर्घकालीन समाधानका लागि नेपालले आफ्नै अक्सन केन्द्र सञ्चालन गर्नु उत्तम हुने जनाए ।
प्रादेशिक चिया समन्वय समितिका संयोजक तथा नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले नेपाली चिया रोक्न भारतले अन्तिम अस्त्र प्रयोग गर्न लागेको टिप्पणी गरे । उनले भारतीय चिया लिलामी प्रणालीमार्फत नेपाली चिया बिक्रीको व्यवस्था लागू भए नेपाली चिया उद्योग संकटमा पर्ने बताए । भारतले नियतवश नेपाली चिया रोक्न लागेको बताउँदै उनले चिया निर्वाध रुपमा भारत जाने वातावरण बनाउन माग गरे ।
सूर्योदय चिया उत्पादक संघका इलामका अध्यक्ष उत्तमकुमार श्रेष्ठले नेपाली चियाको समस्या दीर्घकालिन समाधान खोज्नुपर्नेमा जोड दिए । केन्द्रीय चिया सहकारी संघका अध्यक्ष हर्क तामाङले भारतले नेपाली चिया रोक्न पटक पटक विभिन्न अड्को थाप्दै आएको बताउँदै नेपालमै अक्सन बजार, तेस्रो मुलुक निर्यात जस्ता विकल्पमा जानु पर्ने बताए ।
नेपालमा अक्सनका लागि पूर्वाधारसमेत बनेर अक्सनमा नजाँदाको फाइदा भारतले उठाउन खोजेको उनको भनाइ छ । भारतले आफूले नेपालबाट आयात गर्ने चियामा अनिवार्य अक्सनको प्रणाली लगायो भने नेपालको समग्र चिया उद्योग संकटमा पर्ने उनको भनाइ छ । नेपालका चिया व्यवसायीले भारतमा अक्सनमा चिया बिक्री गर्न सबैभन्दा पहिले आफ्नो चिया त्यहाँको अक्सनको बोर्डको गोदाममा लगेर राख्नुपर्ने र ती अक्सन बोर्डको चियाको गोदाम भारतको कोलकाता, सिलिगुडी र गुवाहटीमा रहेको उनले बताए ।
अक्सन बोर्डमा चिया राखेपछि बोर्डको प्रयोगशालामा चियाको गुणस्तर परीक्षण गर्ने र अक्सन बोर्डले विषादी प्रयोग भएनभएको परीक्षण गरेर रिपोर्ट दिने प्रक्रिया पूरा गर्न एक महिना लाग्ने भएकाले नेपाली चिया बिग्रने डर हुने चिया उत्पादक संघका अध्यक्ष पराजुलीले बताए । अक्सन बोर्डले चियालाई परीक्षणमा पास नगरे व्यवसायीले त्यसलाई फर्काएर नेपाल ल्याउन नपाउने, अक्सन बोर्डले सो चियालाई अखाद्य ठहर गर्दै नष्ट गरिदिने बताउँदै उनले भारतीय प्रयोगशालामा नेपाली चिया पास हुनेमा आफूहरु विश्वस्त नभएको जनाए ।
भारतको नियतमा खोट रहेको बताउँदै उनले चिया गुणस्तरीय भए पनि नेपाली चियालाई कुनै न कुनै खोट लगाएर त्यहाँ गुणस्तरहीन प्रमाणित गर्ने र अक्सन बोर्डको परीक्षणमा नेपालको चिया पास भयो भने त्यहीँका ब्रोकरले क्रेता खोजिदिने र बाध्य भएर बिक्री गर्नुपर्ने उनको भनाइ छ । भारतले नेपाली चिया आयातमा कडाइ गर्न अनिवार्य अक्सनको प्रावधान ल्याएको बताउँदै सहभागीहरुले यसले नेपाली चिया बिक्रीमा ठूलो धक्का लाग्ने भएकाले यसको दीगो समाधान खोजी गर्नुपर्नेमा जोड दिए ।
नेपालबाट आयात हुने अर्बौंको चिया आयात रोक्ने उपायको खोजीमा भारत सरकार लागेको र अहिले अनिवार्य अक्सनको व्यवस्था गर्न खोजेको चिया उद्योगी तथा व्यवसायी समिरकुमार पोखरेलले बताए । भारतीय चिया उत्पादकहरूको पहलसँगै यसअघि पनि पटक–पटक दुख दिँदै आएको भारत सरकारले अब भने पूर्णरूपमै चियाको आयात रोक्ने योजना बनाएको उनको भनाइ छ । भारतमा नेपालबाट सबैभन्दा धेरै चिया आयात हुन्छ । यसपछि दोस्रोमा केन्याबाट सबैभन्दा धेरै चिया आयात हुने गरेको छ । यस्तै, भियतनाम, श्रीलंका र इरानसमेत चिया आयात हुने गरेको छ ।