दाङमा पाँच सय शैयाको शिक्षण अस्पताल खुल्दै, तीन अर्ब लगानी

दाङ– दाङको घोराहीमा पाँच सय शैयाको शिक्षण अस्पताल सञ्चालनमा आउने भएको छ । निजी क्षेत्रको लगानीमा अस्पताल सञ्चालनमा ल्याउन थालिएको हो । घोराही उपमहानगरपालिका–३ गोग्ली भानपुरमा सञ्जीवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एन्ड टिचिङ हस्पिटल सञ्चालनका लागि अहिले भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ ।
अहिले भौतिक पूर्वाधार निर्माणको काम करिब ८० प्रतिशत सम्पन्न भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपक रोकाले जानकारी दिए । तीन तलाका नौवटा भवन निर्माणको काम तीव्र गतिमा भइरहेको छ । ‘अहिले नौवटै भवनको तीन तलासम्म निर्माण हुन्छ, पछि सबै भवनमा थप दुई तला गरेर पाँच तला पुर्याइने छ,’ रोकाले भने ।
भौतिक पूर्वाधार निर्माणको काम सँगसँगै अन्य प्राविधिक तयारी तथा अस्पताल सचालन स्वीकृतिका प्रक्रिया अगाडि बढाइएकाले अस्पताल छिट्टै सञ्चालनमा ल्याइने भएको छ । आउँदो नयाँ वर्षबाट सुरु गर्नेगरी तयारी थालिएको अस्पताल स्रोतले जानकारी दिएको छ । ‘काम गर्दै जाँदा कुनै प्राविधिक समस्या भएन भने नयाँ वर्षबाट अस्पताल सञ्चालन गर्नेगरी काम भइरहेको छ,’ प्रमुख कार्यकारी अधिकृत रोकाले भने ।
अस्पतालले आवश्यक पर्ने जनशक्तिको समेत माग गरेको छ । पाँच सय जना जनशक्ति आवश्यक पर्ने प्रमुख कार्यकारी अधिकृत रोका बताउँछन् । ‘छिट्टै नै अस्पताललाई आवश्यक पर्ने जनशक्ति भर्ना गर्ने काम हुनेछ,’ रोकाले भने । अस्पतालको भौतिक संरचना निर्माणसँंगै अन्य प्राविधिक कामसमेत भइरहेको उनको भनाइ छ ।
अस्पताल सञ्चालनमा आएपछि विशेषज्ञ चिकित्साअन्तर्गत कार्डियोलोजी, गैस्ट्रोएन्टरोलोजी, युरोलोजी, एमआरआई लगायतका विभिन्न २५ भन्दा बढी र विशिष्टिकृत सेवाअन्तर्गत १५ वटा सेवा उपलब्ध हुने उनले बताए । अस्पतालमा १४ वटा मोडुलर शल्यक्रिया कक्ष, आईसीयू, एसआईसीयू, एनआईसीयू, पीआईसीयू लगायतका सुविधा पनि पर्याप्त मात्रामा रहने भएको छ ।
यी सुविधा भएपछि जटिल प्रकृतिका प्रसूति तथा अन्य शल्यक्रियाका लागि काठमाडौं वा अन्यत्र जानु नपर्ने र सहजै दाङमा हुने रोकाले बताए । ‘अस्पताल सञ्चालनमा आएपछि अत्याधुनिक सुविधा भएको उपत्यका बाहिरको नमुना अस्पताल हुन्छ,’ रोकाले भने, ‘विशेषगरी पश्चिम नेपालमा यस्तो अत्याधुनिक सुविधा सम्पन्नशाली अस्पताल अन्त कतै छैन्, सञ्चालनमा आयो भने यो नै पहिलो हुन्छ ।’
अस्पताल सञ्चालन भएपछि दाङ, प्युठान, रोल्पा, रुकुम, सल्यानका जनतालाई विशेष लाभ मिल्ने उनी बताउँछन् । यी जिल्लाका बिरामी नेपालगन्ज, बुटवल, भैरहवा, काठमाडौंसम्म जानुपर्ने बाध्यता हटने उनको दाबी छ । ‘काठमाडौंकै सेवा दाङमा पाइने भएपछि अब बिरामीहरू अन्यत्र जानुपर्ने छैन,’ रोकाले भने, ‘मेडिकल व्यवसाय भनेको सामाजिक तथा मानव सेवासँग जोडिएको विषय पनि हो, गरिव, निम्न आय भएका जनताका लागि पनि विशेष सुविधा रहने छ ।’ बिरामी बाहिर जान नपरे पछि सहजता हुने उनको भनाइ छ ।
अस्पताल सञ्चालन भएपछि नर्सिङ र प्यारामेडिकल विषय पढाइ सुरु हुने रोकाले बताए । ‘अस्पताल सञ्चालन भएलगत्तै हामीले नर्सिङ र प्यारामेडिकल जस्ता विषय तुरुन्तै सञ्चालन गर्छौं,’ रोकाले भने । एमबीबीएस बीडीएस, एमडीजस्ता विषय अस्पताल सञ्चालन भएको तीन वर्षपछि मात्रै सञ्चालन हुने उनको भनाइ छ । ‘अहिलेको हाम्रो चिकित्सा शिक्षा ऐनमा यी विषय सञ्चालन गर्नका लागि न्यूनतम तीन सय शैया क्षमताको अस्पताल कम्तीमा तीन वर्ष सञ्चालन भएको हुनुपर्छ अनि मात्र ती विषय पढाउनका लागि विश्वविद्यालयमा प्रस्ताव पेस गर्न पाइन्छ,’ रोकाले भने ।
अस्पताल निर्माणमा कुल पौने तीन अर्ब लगानी हुने उनले बताए । अस्पतालको सञ्चालक अध्यक्ष मेडिकल व्यवसायी खुमाप्रसाद अर्याल हुन् । उनले कोहल्पुरमा नेपालगन्ज मेडिकल कलेज, भैरहवामा युनिभर्सल मेडिकल कलेज, पोखरामा गण्डकी मेडिकल कलेज र नेपालगन्जमा सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज सञ्चालनमा ल्याइसकेका छन् ।