Logo

तामाकोसी–बाह्रबिसे प्रसारण लाइन तयार हुँदै

दोलखा– तामाकोसी–बाह्रबिसे–काठमाडौं चार सय केभी प्रसारण लाइनको पहिलो खण्ड एक महिनामा पूरा हुने भएको छ । यो प्रसारणलाइन तयार भएपछि सिन्धुपाल्चोकको बाह्रबिसेबाट खिम्ती हुँदै विद्युत तराई र काठमाडौंसम्म पुग्छ ।

प्रसारण लाइनको ११८ वटा टावर निर्माण गर्नुपर्छ । ११६ वटा टावर तयार भएको छ । सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका–२ मा ५८ बार १ र ५८ बार २ का दुईवटा टावरको जग तयार भएर ठड्याउने काम जारी रहेको तामाकोसी–बाह्रबिसे–काठमाडौं प्रसारणलाइन आयोजनाका सहायक प्रबन्धक गजेन्द्र यादवले जानकारी दिए ।

रामेछापको मन्थली नगरपालिका–१२ मा दुईवटा टावर, दोलखाको मेलुङ गाउँपालिका–७ मा र सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाका सातवटा टावरमा एक वर्षदेखि निर्माण ढिलाइकै कारण आयोजनाको काममा पनि ढिलाइ भएको हो । दुई वर्षअघि सिन्धुपाल्चोकमा केही टावरको डिजाइन परिवर्तन र थपिएका टावरका सामान आयातमा अर्थ मन्त्रालयको अनुमतिमा ढिलाइ हुँदासमेत आयोजनाको काम ढिलाइ भएको छ ।

यस्तो छ आयोजनाको प्रगति
खिम्ती–बाह्रबिसे पहिलो खण्ड ४४ किलोमिटर लामो छ । दुई खण्डमा निर्माणाधीन आयोजनाको काम दुवैको प्रगति उस्तै छ । आयोजनाका सहायक प्रबन्धक गजेन्द्र यादवका अनुसार ४४ किलोमिटरमध्ये ४० किलोमिटरको लाइन तान्ने काम पूरा भएको छ । पहिलो प्याकेजको तीन जिल्लामा पर्छ । तारमुनि पर्ने जग्गाको क्षतिपूर्ति वितरणको काम पनि उल्लेख्य प्रगति भएको छ ।

आयोजनाले टावरले ओगटेको जग्गाको मुआब्जा वितरण पूरा गरेको छ । तामाकोसी नदी र सुनकोसी नदी आसपासको विद्युत काठमाडौंसम्म पुर्‍याउन तामकोसी–काठमाडौं चार सय केभी प्रसारणलाइन आयोजनाअन्तर्गत २ प्याकेजका काम भइरहेको छ । आयोजनाको पहिलो खण्डको तामाकोसी (रामेछापको साँखेदेखि सिन्धुपाल्चोकको बाह्रबिसे) सम्मको नयाँ ठेक्का भारतीय कम्पनी केईसी इन्टरनेसनल लिमिटेडले पाएको छ ।

कम्पनीले करिब ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि एक करोड ७३ लाख १७ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९७ हजार (करबाहेक) रुपैयाँमा ठेक्का पाएको छ । पहिलेको चिनियाँ कम्पनीसँगको ठेक्का तोडिएपछि केईसीसँग सन् २०२१ अक्टोबरमा पूरा गर्ने गरी २० मे २०१९ मा ठेक्का सम्झौता भएको हो । समयमा पूरा हुन नसक्दा ६।६ महिना गरी समय थप हुँदैछ । आयोजनाको हालसम्म भौतिक र वित्तीय प्रगति ९८ प्रतिशत भएको छ । आयोजनाको १५ प्रतिशत भेरियसन पनि भइसकेको छ ।

दोस्रो प्याकेज र सबस्टेसन सुस्त
दोस्रो प्याकेजको बाह्रबिसेदेखि काठमाडौंको लप्सीफेदीसम्म पर्छ । लप्सीफेदीमा सबस्टेसनको काम सुरु हुन नसक्दा सिन्धुपाल्चोकमा निर्माणको अन्तिम चरणमा पुगेको १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको विद्युत खिम्ती–बाह्रबिसे हुँदै प्रसारण गर्नुपर्छ ।

सोही आयोजनाअन्तर्गत चार सय केभी क्षमताको बाह्रबिसे सबस्टेसनको काम भने सुस्त गतिमा भइरहेको छ । दुई वर्षमा पूरा गर्ने गरी सन् २०१७ डिसेम्बरमा ठेक्का सम्झौता भए तापनि अहिलेसम्म पूरा हुन सकेको छैन । बाह्रबिसे सबस्टेसनको ठेक्का चिनियाँ कम्पनीहरू ग्वाङ्सी ट्रान्समिसन एन्ड सबस्टेसन कन्स्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले पाएको छ । ढिला गरी भए पनि सबस्टेसनको काम पूरा भएको छ ।

अब सबस्टेसनमा जोडिएका उपकरणको परीक्षणमात्रै बाँकी रहेको सहायक प्रबन्धक यादवले बताए । मध्यभोटेकोसी आयोजना एक वर्षअघि नै परीक्षण गरे तापनि सुरुङबाट पानी चुहिएपछि पुर्न मर्मत जारी छ । अब मध्यभोटेकोसी मर्मतपछि विद्युत उत्पादन भए प्रसारण लाइनको समस्या नहुने भएको छ । ढिला गरी भए तापनि बाह्रबिसे–लप्सीफेदी प्रसारण लाइनको १२२ वटा टावरमध्ये ११८ वटाको काम पूरा भएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–३ मा दुईवटा टावर निर्माणाधीन अवस्थामा छन् ।

लप्सीफेदी सबस्टेसन तयार नहुँदासम्म भने प्रसारण लाइनको काम पूरा भएर पनि प्रयोगमा भने आउन सक्ने छैन । लप्सीफेदी सबस्टेसन प्रहरी परिचालन गरेर सरकारले निर्माण थालेको छ । एसियाली विकास बैंकको ऋण लगानीमा यो आयोजना निर्माणाधीन छ । लप्सीफेदीबाट नुवाकोट–पोखरा–बुटवल क्षेत्र भने एमसीसीको आयोजनाले चार सय केभीकै अर्को प्रसारणलाइन निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्