Logo

‘राजस्व संकलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँ’

काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व संकलनमा गत वर्षको तुलनामा केही सुधार देखिए पनि चालु आर्थिक वर्षको लक्ष्य भेट्न नसकेको बताएका छन् । भन्सार विभागले आइतबार आयोजना गरेको ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा अर्थमन्त्री पौडेलले राजस्व संकलनमा राखेको वार्षिक लक्ष्य पूरा गर्न चाप देखिएकाले भन्सारलगायत कर प्रशासनले चुस्त रुपमा काम गर्नुपर्ने बताए ।

”अहिले हामी राजस्वको लक्ष्यका हिसाबले चापमा छौँ । गत वर्षको तुलनामा केही बढेको भएपछि यस वर्षका लागि तोकिएको लक्ष्यअनुसार सन्तोषजनक छैन । हामीले यो वर्षका लागि निर्धारण भएको लक्ष्य भेट्ने गरी काम गर्नुपर्छ”, अर्थमन्त्री पौडेलले भने । सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न, निजी क्षेत्रको मनोबल उकास्न र लगानीयोग्य वातावरण सिर्जना गर्न सरकारले अध्यादेशमार्फत केही कानुनहरु ल्याएकामा निजी क्षेत्रबाट पनि सरकारको यो कदमको स्वागत भएको उनको भनाइ थियो ।

मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकारले निरन्तर प्रयास गरिरहेको पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे । भन्सार कार्यालय र सुरक्षा निकायबीच समन्वय बढाउनुपर्नेमा पनि अर्थमन्त्री पौडेलले जोड दिए । ”लक्ष्यअनुसार राजस्व संकलन गर्नका लागि सुरक्षा संयन्त्र र भन्सार प्रशासनबीच समन्वय आवश्यक छ । सरकारले तपाईंहरुले गरेको कामको परिणामका आधारमा मूल्यांकन गर्छ”, अर्थमन्त्री पौडेलले भने ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले भन्सार प्रशासन सुधारका लागि प्रविधिको प्रयोग बढाउँदै लैजाने र जाँचपास प्रक्रियालाई सहज बनाउन सरकार गम्भीर रहेको बताए । भन्सार प्रशासनलाई पूर्ण स्वचालित बनाउनका लागि प्रविधिको प्रयोग बढाउँदै लगिएको उनको भनाइ छ । भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले वार्षिक लक्ष्यअनुसार राजस्व उठाउन विभागले अधिकतम प्रयास गरिरहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भन्सार प्रशासनलाई निजीक्षेत्रमैत्री र सेवाग्राही अनुकूल बनाउन सक्नुपर्ने बताए । भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाइनुपर्ने, कर्मचारीको तजबिजी अधिकार हटाइनुपर्ने, प्रविधिको प्रयोगमा जोड दिनुपर्नेलगायत सुझाव ढकालले दिए । तयारी वस्तुभन्दा कच्चापदार्थमा एक तह कम भन्सार लगाइनुपर्ने व्यवस्था प्रभावकारी कार्यान्वयन हुन नसकेको अध्यक्ष ढकालले बताए ।

त्यस्तै, उत्पत्तिको प्रमाणपत्रलाई पनि एकद्वार प्रणालीभित्र आबद्ध गरिनुपर्ने, एकीकृत भन्सार जाँचचौकी (आसिपी)को संख्या बढाइनुपर्ने, चोभार सुक्खा बन्दरगाहलाई बढी सक्रिय बनाउनुपर्नेलगायत सुझाव उनले दिए । सरकारले केही समयअघि अध्यादेशबाट ल्याएका कानुनी व्यवस्थालाई निजी क्षेत्रले स्वागत गरेको र यसले नीतिगत र प्रक्रियागत झन्झट कम गर्न मद्दत पुर्‍याउने विश्वास उनले व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भन्सार प्रशासनको नीतिगत र व्यावहारिक सुधार आवश्यक रहेको बताए । भन्सार जाँचपासका क्रममा प्रयोग हुने सन्दर्भ मूल्य पुस्तिका हटाएर कारोबार मूल्यलाई नै आधार बनाएर जाँचपास गरिनुपर्ने उनको सुझाव छ ।

त्यस्तै, पछिल्लो समय चोरीपैठारी बढ्दा सीमा क्षेत्रका बजारको व्यापार घटेको तर सीमापारीका बजार बढेको उनले बताए । अन्तर्राष्ट्रिय अभ्यासअनुसार हार्मोनाइज्ड कोड (एचएस कोड) १० अंकको बनाइनुपर्ने र सबै भन्सार कार्यालयहरुमा सुविधासम्पन्न ‘क्वारेन्टाइन ल्याब’ निर्माण गरिनुपर्ने आवश्यकता उनले औँल्याए ।

नेपाल समुद्रपार निकासी पैठारी संघका अध्यक्ष शिवकुमार अग्रवालले व्यापार सहजीकरणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औँल्याए । संसद्मा विचाराधीन भन्सार विधेयकमा निजी क्षेत्रको चासो सम्बोधन हुने र राजस्व परामर्श समितिमा संघको प्रतिनिधित्व हुनुपर्नेमा उनले जोड दिए । अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा विभागले क्युआर कोडसहितको प्रज्ञापनपत्र र एक्जिम कोड प्रणाली कार्यान्वयनमा ल्याएको छ । त्यस्तै, विभागले भन्सार स्मारिका र परिपत्र सङ्ग्रह सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्