६ महिनामा साढे सात अर्बको बीमा त्याग

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन–पुस) मा ५४ हजार ४ सय १४ वटा बीमा पोलिसी सरेन्डर भएर ७ अर्ब ४६ करोड रुपैयाँ जीवन बीमा कोषबाट बाहिरिएको छ । गत कात्तिकसम्ममा जीवन बीमा कम्पनीहरुको करिब ३६ हजार पोलिसी सरेन्डर भएकोमा पुसमा यो संख्या ५४ हजार नाघेको हो ।
अर्थतन्त्र चलायमान नभएर व्यक्तिको आम्दानीमा समेत त्यसको प्रभाव परेको छ । जसकारण उनीहरूले बीमाको प्रिमियम तिर्न सकेका छैनन् । यसले गर्दा पोलिसी सरेन्डर बढेको हो । जीवन बीमा लामो अवधिको हुन्छ र यसका लागि तोकिएको समय (त्रैमासिक÷अर्धवार्षिक÷वार्षिक) रुपमा केही रकम प्रिमियमको रुपमा तिर्नुपर्ने हुन्छ । आवधिक रुपमा पोलिसी तिर्न नसक्ने अवस्थामा बीमा गर्ने व्यक्तिले बीमालाई निरन्तरता नदिई बीचैमा बन्द गर्ने अवस्थालाई पोलिसी सरेन्डर भनिन्छ । पोलिसी सरेन्डर गर्दा बिमितले पाउनुपर्ने रकमबाट केही प्रतिशत रकम बीमा कम्पनीले काटेर फिर्ता गर्छन् ।
पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा, करकापमा पोलिसी खरिद, प्रलोभनलगायतका कारण बीमा पोलिसी सरेन्डरको दर बढ्दै गएको जानकारहरु बताउँछन् । बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुमध्ये ६ महिनामा एलआइसी नेपालको पोलिसी सरेन्डर सर्वाधिक देखिएको छ । यो कम्पनीको १३ हजार ९६८ वटा पोलिसी सरेन्डर भएर २ अर्ब ३८ करोड रुपैयाँ बाहिरिएको छ ।
नेपाल लाइफको १२ हजार २४१ वटा बीमा पोलिसी सरेन्डर भएर २ अर्ब २ करोड रुपैयाँ बाहिरिएको छ । राष्ट्रिय जीवन बीमा कम्पनीको ७ हजार २०७ वटा बीमा पोलिसीबापत ६७ करोड ६ लाख रुपैयाँ सरेन्डर भएको छ । एशियन लाइफको ४४ सय ५ वटा बीमा पोलिसीबापत ४६ करोड ८१ लाख रुपैयाँ सरेन्डर भएको छ ।
त्यस्तै हिमालयन लाइफ इन्स्योरेन्सको ३ हजार ५९० वटा बीमा पोलिसी सरेन्डर भएर ३३ करोड २३ लाख रुपैयाँ रकम बाहिरिएको छ । नेसनल लाइफको ३१ सय चार वटा पोलिसीबापत ४६ करोड ५१ लाख रुपैयाँ सरेन्डर भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको २९ सय ४० वटा बीमा पोलिसी सरेन्डर हुँदा ३८ करोड ९४ लाख रुपैयाँ बाहिरिएको छ भने मेट लाइफको १७ सय ९४ वटा बीमा पोलिसीबापत १९ करोड ६६ लाख रुपैयाँ त्याग भएको छ ।
पुराना जीवन बीमा कम्पनीहरुको पोलिसी सरेन्डर दर बढी छ भने तुलनात्मक रुपमा नयाँ कम्पनीको कम रहेको तथ्यांकले देखाएको छ । सन नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, रिलायन्स नेपाल लाइफ, आईएमई लाइफलगायतको सरेन्डर दर कम छ ।
नयाँ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी सिटिजन लाइफ इन्स्योरेन्सको बीमा सरेन्डर बढी देखिएको छ । कम्पनीकाले १३ सय ८८ वटा बीमा पोलिसी सरेन्डर हुँदा ११ करोड ५८ लाख रुपैयाँ रकम भुक्तानी गरेको तथ्यांक छ । आइएमई लाइफको ९०८ वटा बीमा पोलिसीबापत ९ करोड ८६ लाख रुपैयाँ सरेन्डर भएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ९४२ वटा बीमालेख सरेन्डरबापत १३ करोड १२ लाख रुपैयाँ भुक्तानी भएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ८ सय ६३ वटा पोलिसी सरेन्डर हुँदा ५ करोड ५६ लाख रुपैयाँ बाहिरिएको छ भने प्रभु महालक्ष्मीको ७ सय ३ वटा पोलिसी सरेन्डर हुँदा ९ करोड ८२ लाख रुपैयाँ भुक्तानी भएको छ । सबैभन्दा कम बीमा पोलिसी सरेन्डर भने सन नेपाल लाइफ इन्स्योरेन्सको छ । यो कम्पनीको ६ महिनामा ३ सय ६१ वटा पोलिसी सरेन्डर भएर ३ करोड ५२ लाख रुपैयाँ रकम बाहिरिएको छ ।