नेपाल तत्काल विकासशील राष्ट्रमा स्तरोन्नति नहुने «

नेपाल तत्काल विकासशील राष्ट्रमा स्तरोन्नति नहुने

नेपालले तत्काल विकासशील राष्ट्रको समूहमा स्तरोन्नति नहुने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सन् २०२१ भन्दा अघि विकासशील राष्ट्रमा जानसक्ने अवस्था नरहेको प्रष्टयाउँदै सोहीअनुसारको जानकारी संयुक्त राष्ट्र संघलाई गराउन परराष्ट्र मन्त्रालयलाई स्विकृति दिएको छ ।
अल्पविकसित मुलुकको स्तरबाट विकासशील राष्ट्रमा लैजान नेपाललाई आर्थिक तथा मानव सम्पत्तिको जोखिम अझै कायमै रहेकाले सोहीअनुसारको पत्राचार संयुक्त राष्ट्र संघलाई गर्ने प्रस्ताव बैठकले स्वीकृत गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । संयुक्त राष्ट्र संघले नेपाललाई सन् २०१८ मा नै विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले आर्थिक जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग लिनुपर्ने आवश्यकता भएको प्रष्टयाउँदै तत्काल विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने सम्भावना नरहेको प्रष्टयाएको हो । सरकारले सन् २०२१ पछि मात्रै विकासशील राष्ट्रमा स्तरोन्नति गर्न उपयुक्त हुने निष्कर्षसमेत निकालेको छ ।
तत्काल विकासशील मुलुकमा गए नेपालले अल्पविकसित मुलुकको रुपमा पाउँदै आएको सेवा र सुविधा कटौती हुनेमात्र नभइ तत्काल विकासशील राष्ट्र बन्ने मुख्य आधार प्रतिव्यक्ति आयको मापदण्ड पनि पुगेको छैन । राष्ट्रसंघले विकासोन्मुख राष्ट्रमा उन्नति गर्नलाई सन् २०१८ का लागि तोकेका तीन वटा सूचकमध्ये दुईमा लक्ष्य भेटाएको छ । कूल राष्ट्रिय उत्पादन प्रतिव्यक्ति आय, ह्युमन एसेट्स र इकोनोमिक भल्नरेविलिटी इन्डेक्समध्ये नेपालले प्रतिव्यक्ति आयमा मात्र लक्ष्य प्राप्त गर्न सकेको छैन । विकासोन्मुख मुलुकमा रूपान्तरण हुन प्रतिव्यक्ति आय वार्षिक १२०० अमेरिकी डलर, ह्युमन एसेट्स इन्डेक्स ६६ माथि र इकनोमिक भल्नरेविलिटी इन्डेक्स ३२ तल हुनुपर्छ । हाल नेपालको प्रतिव्यक्ति आय ७ सय अमेरिकी डलर हाराहारी, ह्युमन एसेट्स इन्डेक्स ६८.७ र इकोनोमिक भल्नरेविलिटी इन्डेक्स २६ छ । कुनै पनि तीन इन्डेक्समा दुई वटामा तोकिएको लक्ष्य पूरा गरेमा विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने व्यवस्था छ ।
नेपालले तत्काल स्तरोन्नति नहुने आफ्नो धारणा यसअघि नै बनाइ सकेको थियो । यसबारे राष्ट्रिय योजना आयोगले पनि अति कम विकसित तथा भूपरिवेष्ठित राष्ट्रका लागि राष्ट्रसंघीय उच्चस्तरीय प्रतिनिधि संस्थाको बैठकमा स्तरोन्नति नहुने जानकारी दिइसकेको थियो ।
सन् १९७१ देखि २५ देशबाट सुरू भएको अतिकम विकसित मुलुकहरुको सूची अहिले ४८ पुगेको छ । हालसम्म पाँच वटा मुलुकमात्र यो सूचीबाट स्तरोन्नति भएका छन् ।

प्रतिक्रिया दिनुहोस्