‘राइट टु प्रोटिन’ हाफ म्याराथन: सन्तोषी र राजन प्रथम

काठमाडौं- मुलुककै सबैभन्दा धेरै खेलाडीको सहभागिता रहेको चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ विधामध्ये खुला हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ राजन रोकाय प्रथम भएका छन् ।
दश किलोमिटर (खुला) पुरुषतर्फ सञ्जय श्रेष्ठ, पाँच किमी (खुला) महिलातर्फ फूलमति राना, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किमी (पुरुष)तर्फ लोकेन्द्र बोहरा र तीन किमी महिलातर्फ अस्मिता भुजेल, तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड (महिला तथा पुरुष)तर्फ ऐश्वर्यकुमारी कुमाल र रमेश खत्री प्रथम भएको आयोजक समितिका संयोजक डा शीतलकाजी श्रेष्ठले जानकारी दिए ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायत विशिष्ट अधिकारीले विजयी खेलाडीलाई नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गरे । उनीहरुले विभिन्न आठ विधाका विजेता ४० खेलाडीलाई पुरस्कार प्राप्त गरे । प्रतियोगितामा हाफ म्याराथनमा पहिलो स्थान हासिल गर्ने महिला तथा पुरुष खेलाडीले जनही एक लाख ५० हजार प्राप्त गरेका छन् ।
दोस्रो स्थान हासिल गर्ने खेलाडीले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार तथा पाँचौँ हुने खेलाडीले ३० हजार प्राप्त गरेका छन् । १० किमी दौडमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँ हुने खेलाडीले १० हजार पाएका छन् ।
प्रतियोगिताअन्तर्गत पाँच किमी दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं हुने खेलाडीले क्रमश: ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार प्रदान गरिएको छ । तीन किमी दौडमा पहिलो हुने खेलाडीले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले पाँच हजार र पाँचौं स्थान हासिल गर्ने खेलाडीले दुई हजार पाँच सय प्राप्त गरे ।
ह्विलचियरतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले ३० हजार, दोस्रो हुने खेलाडीले रु २० हजार प्राप्त गरे । त्यसैगरी तेस्रो हुने खेलाडीले रु १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले पाँच हजार पाएका छन् । प्रतियोगितामा विभागीयसहित करिब आठ हजार धावकको सहभागिता रहेको आयोजकले जनाएको छ ।