साढे ६ अर्व लागतमा झुम्सा खानेपानी आयोजना «

साढे ६ अर्व लागतमा झुम्सा खानेपानी आयोजना

सरकारले करिव ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ लागतमा झुम्सा खानेपानी आयोजना निर्माण गर्ने भएको छ । खानेपानी मन्त्रालयअन्तर्गतको नेपाल खानेपानी संस्थानले बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा प्रशोधित खानेपानी आपूर्ति गर्ने उद्देश्यले खानेपानी आयोजनाको काम अघि बढाएको हो ।
संस्थानले बुटवल शहरका लागि खानेपानी पु-याउने उद्देश्यले आयोजनाको ठेक्का आह्वान गरेको छ । पहिलो प्याकेजअन्तर्गत १० र २० इन्चको डीआइ पाइप खरिद कार्य भइसकेको छ भने दोस्रो प्याकेजअन्तर्गत खोलाको बाँध निर्माण र पाइप जडानको ठेक्का सम्झौता कार्य हुँदैछ । तेस्रो प्याकेजमा पाइप जडान गरी बिछ्याउने र ट्रस पुल बनाउने कार्यको ठेक्का आह्वान भएको छ । संस्थानले पाल्पा जिल्लाको तिनाउ गाउँपालिकामा अवस्थित झुम्सा खोलामा बाँध तथा इन्टेक निर्माण गरी खोलाको पानीलाई प्रशोधन गरेर बुटवल उप–महानगरपालिकाका सबै वडाहरुमा खानेपानी सेवा विस्तार गर्न लागेको हो । झुम्सा खोलाबाट प्रतिदिन ३ करोड १० लाख लिटर पानी ल्याएर बुटवलमा प्रशोधन गर्ने र त्यहीँबाटै वितरण गर्ने योजना रहेको संस्थानको बुटवल खानेपानी आयोजना प्रमुख बुद्धरत्न महर्जनले बताए । बुटवल खानेपानी शुद्धीकरण आयोजनाको नामबाट दुईवटा मुख्य कामहरु अघि बढाइएको छ । पहिलो कामअन्तर्गत झुम्सा खोलामा बाँध निर्माण गर्ने, ट्रस पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याउने त्यस्तै दोस्रो आयोजनाको कामअन्तर्गत बुटवल उप महानगरपालिका वडा नं. ३ स्थित रामफेदीमा पानी प्रशोधन प्लान्ट बनाउने, रिजर्भवायर पानी ट्यांकी बनाउने र पानी वितरणका कामहरु गर्ने रहेको छ ।

बुटवल शहरमा करिब ६ सय १२ किलोमिटर डीआइ पाइप तथा एचडीपीइ पाइप विस्तार गर्ने र नौ वटा ओभरहेड ट्यांकी निर्माण गर्ने योजना रहेको आयोजना प्रमुख महर्जनले जानकारी दिए । अबको चार वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेर आयोजनाको काम अघि बढाइएको छ । बुटवल उपमहानगरपालिकाका सबै वडाहरुमा २४ सै घण्टा खानेपानी उपलब्ध गराउने उद्देश्यले यो आयोजनाको डिजाइन तयार गरिएको छ । करिब ३ लाख जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संस्थानले जनाएको छ ।
के हो झुम्सा खानेपानी आयोजना ?
वि.सं २०५३ सालमा ४ करोड रुपैयाँ लागतको ‘सिस्ने खोला खानेपानी योजना’ त्यतिकै बिलाएर गएपछि झुम्सा खोला खानेपानी आयोजना अगाडि सारिएको थियो । बुटवलका स्थानीयलाई दैनिक ८० लाख देखि १ करोड लिटर खानेपानी उपलब्ध गराउने योजना अनुसार आयोजना अघि सारिएको थियो ।
बुटवलको खानेपानी समस्या समाधान गर्न भन्दै २२ वर्षअघि झुम्सा खानेपानी आयोजना सुरु गरिएको थियो । पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गतको झुम्सा खोला बुटवलबाट करिब १४ किलोमिटर टाढा पर्छ । २२ वर्षअघि तत्कालीन मेयर सूर्यप्रसाद प्रधानको पालामा यसबारे छलफल सुरु भएको थियो ।
दुई वर्षअघि झुम्सा खोलाको फिरफिरे घाटमा इन्टेक निर्माणको काम सकिएर केही किलो मिटर पाइप लाइन बिछ्याइसकेपछि बाढीले इन्टेक नै बगाइदिएको थियो । इन्टेक बगाएपछि आयोजनाको काम रोकिएको थियो ।
सुरुमा १९ करोड ५६ लाख रुपैयाँ लागत अनुमान गरी २०६८ सालको असारभित्र सक्ने लक्ष्य लिइएको थियो । बुटवलको मेलम्चीको रुपमा व्याख्या गर्दै आएको झुम्सा खानेपानी आयोजना बुटवल शहरबासीका लागि गौरवको कुरा हो । हाल बुटवलमा दैनिक ३ करोड ५० लाख लिटर पानीको माग रहेको छ । जुन माग यो आयोजनाले पूरा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्