Logo

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

काठमाडौं- सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको ब्रेक थ्रु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ दोभान नजिकै आयोजनाको बेस क्याम्पमा औपचारिक समारोहकाबीच शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि ‘ब्रेक थ्रु’ भएको हो ।

प्रधानमन्त्रीको सम्बोधनपछि ‘ब्रेक थ्रु’ उत्सवका लागि खन्न बाँकी राखिएको १.८ मिटर भागमा प्राविधिकले ब्लास्ट (विष्फोट) गराएर छिचोलेको थियो । दक्षिणतर्फ सिद्धबाबा मन्दिर र उत्तरतर्फ तिनाउ जलविद्युत आयोजनाको हेडबक्सतिरबाट खनिँदै आएको सुरुङ छिचोलिएको छ ।

ब्रेक थ्रु उत्सव समारोहलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिद्धबाबा क्षेत्रमा हरेक वर्ष बस दुर्घटना हुने, सवारी साधनहरु पहिरोमा पर्ने समस्याबाट नागरिक पीडित भएको समस्या देखेर त्यसलाई अन्त्य गर्न सुरुङ मार्ग बनाउन सुरु गरिएको बताए ।

सुरुङ बनेपछि पाल्पा, पोखरा लगायत जिल्ला आवत जावत गर्न सुक्षित हुने र कुनै समस्या नआउने प्रधानमन्त्री ओलीले उल्लेख गरे । प्रधानमन्त्रीले अहिलेको संयुक्त सरकारले सुशासन र विकासमा ध्यान दिएको जिकिर गरे । उनले छोटो समयमै सुरुङको ब्रेक थ्रु अवस्थामा ल्याइपुर्‍याएको भन्दै चिनिया निर्माण कम्पनीलाई धन्यवाद दिए ।

यसअघि सुरुङमार्ग अन्तर्गत १५१ मिटर लम्बाईको पहिलो बाइपास टनेल गएको असोज ४ मा, १३० मिटर लम्बाइको तेस्रो बाइपास टनेल गएको भदौ २६ मा र १६१ मिटरको दोस्रो बाइपास टनेल गएको पुस ७ गते ब्रेक थ्रु गरिएको थियो ।

समारोहमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पुर्वाधार विकास मन्त्री देवेन्द्र दाहाल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्