दाङका ३४२ साना उद्योग बन्द

दाङ– चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा तीन सय ४२ उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय दाङको तथ्यांकले यस्तो देखाएको हो । कार्यालयका अनुसार धेरै वाणिज्यतर्फका व्यवसाय बन्द भएका छन् । पुस महिनामा मात्रै वाणिज्यतर्फ २५ वटा फर्मको लगत कट्टा गराइएको छ ।
पुस मसान्तसम्म वाणिज्यतर्फका दुई सय एक व्यवसायको लगत कट्टा गरिएको कार्यालयको तथ्यांक सहायक नरेश चौधरीले जानकारी दिए । बन्द भएका तर लगत कट्टा नगराउनेहरू पनि धेरै रहेको व्यवसायीहरू बताउँछन् । यही अवधिमा उद्योगतर्फका एक सय ४१ वटा व्यवसायको लगत कट्टा गरिएको छ । पुस महिनामा मात्रै १३ वटा उद्योग व्यवसायको लगत कट्टा गरिएको हो ।
दैनिक रूपमा उद्योग व्यवसाय बन्द हुने क्रम वृद्धि भए पनि यसलाई रोक्न सरकारी निकाय तथा निजी क्षेत्रको नेतृत्वको भुमिका समेत देखिएको छैन । विना योजना व्यवसाय सञ्चालन गर्ने कारणले उद्योग व्यवसायहरू बन्द हुने गरेका जानकारहरू बताउँछन् । तर, राज्यले व्यवसायमा लगानी गरी सकेकाहरूलाइ टिकाउने वातावरणसमेत नबनाएको निजी क्षेत्रको भनाइ छ ।
यस अवधिमा ५ सय ५५ वटा वाणिज्य तथा उद्योग दर्ता भएका छन् । उद्योगतर्फ दुई सय ३० र वाणिज्यतर्फ तीन सय २५ वटा व्यवसाय दर्ता भएको सूचना अधिकारी पौडेलले बताए । पुस महिनासम्ममा ६ सय ३५ वटा उद्योग तथा वाणिज्य फर्मको संशोधन गरिएको छ । जसमा उद्योगतर्फ दुई सय ८४ र वाणिज्यतर्फ तीन सय ५१ वटा व्यवसायको संशोधन गरिएको छ ।
यसरी थपिएको उद्योग तथा व्यवसायमा एक हजार तीन सय १७ जना उद्यमी बन्न सफल भएका छन् । उद्योगतर्फ पुरुष तीन सय २२ र महिला दुई सय ३५ गरी पाँच सय ५७ जना उद्यमी बन्न सफल भएका हुन । वाणिज्यतर्फ पुरुष पाँच सय ५ जना र महिला दुई सय ५५ गरी ७ सय ६० जना उद्यमी बन्न सफल भएको कार्यालयको तथ्यांक रहेको छ । ६ महिनाको अवधिमा उद्योगमा ४१ करोड २२ लाख रुपैयाँ र वाणिज्यतर्फ ६२ करोड ९१ लाख गरी एक अर्ब चार करोड रुपैयाँ लगानी थपिएको छ ।
कार्यालयले पुस मसान्तसम्ममा ८५ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उद्योगतर्फ ३३ लाख ८५ हजार रुपैयाँ र वाणिज्यतर्फबाट ५१ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको हो । घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिज जन्य, निर्माण उद्योग, पर्यटनमूलक, सेवामूलक र सूचना तथा प्रविधि सम्बन्धी उद्योग दर्ता हुँदै आएका छन् ।
कार्यालयका सूचना अधिकारी गोपाल पौडेलले लगत कट्टा गर्नेको संख्या बढ्दै गएको बताए । ‘व्यवसाय चलेन, लाखौं ऋणमा परियो, कसरी व्यवसाय चलाउनुभन्दै व्यवसायको लगत कट्टा गराउन आउने धेरै छन्’ सूचना अधिकारी पौडेलले भने, ‘हामीले लगत कट्टा गराउन आउनेको कारणसमेत सोध्ने गरेका छौं । अधिकांशले व्यवसाय नचलेकै कारण बन्द गर्नु परेको बताउँछन् ।’
कोभिडपछिको आर्थिक मन्दीकै कारण हालसम्म व्यवसाय चलायमान नभएको साथै बन्द गर्ने बढ्दै गएका छन् । नयाँ दर्ता गर्नेमा उत्साह घट्दै गएको उनको भनाइ छ । मन्दीका कारण नयाँ दर्ता गर्ने र बन्द गर्नेबराबर जस्तो हुन थालिसकेको कार्यालयले बताएका छ ।
लगत कट्टा गराउने व्यवसायीले बन्द गराउनुको कारण लेख्दा पसल/व्यवसाय नचलेको र सोही कारणले बिदेसिन बाध्य भएको पौडेल बताउँछन् । ‘धेरै व्यवसायी व्यवसायको लगत कट्टा गराएर बिदेसिन चाहेको जस्तो देखिन्छ’ उनले भने, ‘विकल्पमा विदेश भन्ने उत्तर पाइएको छ ।’ नयाँ दर्ता गर्नेमा ऋण तथा पुँजी वृद्धि पनि देखिएको उनले बताए । धेरै जसो नयाँ दर्तामा पनि ऋण तथा पुँजी वृद्धि देखाउनकै लागि गर्ने गरेको पाइएको उनको भनाइ छ ।