जुम्लामा यातायातको राजस्व दुई करोड ३८ लाख

जुम्ला– यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले बितेको साढे एक वर्षको अवधिमा करिब साढे दुई करोड राजस्व संकलन गरेको छ । कार्यालयले गत आव २०८०/०८१ को असार मसान्तसम्म र चालु आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्म गरी दुई करोड ३८ लाख १० रुपैयाँ राजस्व संकलन गरेको हो ।
यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले यातायात क्षेत्रको आम्दानी, चालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लू बुक) सम्बन्धी दस्तुर र सवारीसाधन करलगायतका शीर्षकमा राजस्व संकलन गर्दै आएको छ । उल्लेखित शीर्षकमा गत आर्थिक वर्षमा एक करोड ७० लाख ६६ लाख राजस्व संकलन भएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका लोकबहादुर महतले बताए ।
उनका अनुसार पछिल्ला वर्षमा लक्ष्यनुसार राजस्व असुलीमा गिरावट आएको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्म ६७ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । जसमा यातायात क्षेत्रको आम्दानीतर्फ १० लाख ४२ हजार, चालक अनुमति पत्र (लाइसेन्स ), सवारीसाधन दर्ता किताब (ब्लु बुक) दस्तुर ३० लाख ३५ हजार रुपैयाँ र सवारी साधनकरतर्फ २६ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन भएको निमित्त कार्यालय प्रमुख महतले जानकारी दिए ।
‘संघीयतापछि रोकिएको सवारी चालक अनुमतिपत्र वितरण कार्य सञ्चालन भएपश्चात राजस्व वृद्धि भए पनि लक्ष्यअनुसार संकलन हुन सकेको छैन ।’ उनले भने, ‘यातायात विभागको निर्णयनुसार अनुसूची ६ लगाई पुराना पेपर कार्ड लाइसेन्सको नवीकरण नहुँदा राजस्व घट्यो । जुम्लाबाट झण्डै चार हजारजति पेपर कार्ड लाइसेन्स वितरण भएका छन् । पुराना लाइसेन्सको ईडीएल भीआरएस सफ्टवेयरमा इन्ट्री भएका तर नवीकरण नहुँदा राजस्व सकंलन घटेको छ ।’
१० वर्षमा ३२ सय सवारी दर्ता
यातायात व्यवस्था सेवा कार्यालय जुम्लाको १० वर्षको तथ्यांकलाई हेर्दा तीन हजार दुई सय बढी सवारीसाधन दर्ता भएको देखिन्छ । आर्थिक वर्ष २०७१/०७२ देखि आव २०८१/०८२ को पुस मसान्तसम्मको तथ्यांकअनुसार जुम्लामा निजी र सरकारी सवारीसाधन गरी कुल ३२ सय ३३ वटा सवारीसाधन दर्ता भएको कार्यालयको विवरणमा उल्लेख छ ।
जसमा आव २०७१/०७२ र ०७२/०७३ सम्म २३१ वटा सवारी दर्ता भएका थिए भने आव २०७३/०७४ मा २४१ वटा, आव २०७४/०७५ मा २९५ वटा, आव २०७५/०७६ मा ३४० वटा, आव २०७६/०७७ मा ३०३ वटा सवारीसाधन दर्ता भएका छन् । त्यस्तै, आव २०७७/०७८ मा ४४५ वटा, आव २०७८/०७९ मा ६२६ वटा, आव २०७९/०८० मा ४२४ वटा, आव २०८०/०८१ मा १३६ वटा र आव २०८१/०८२ को पुस मसान्तसम्म ११३ वटा सवारीसाधन दर्ता भएको यातायात व्यवस्था सेवा कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।
एक दशकको अवधिमा कुल ३२ सय ३३ वटा सवारीसाधन दर्ता हुँदा सबैभन्दा बढी निजी मोटरसाइकलमात्रै २४ सय ९२ वटा दर्ता भएका छन् भने सरकारी मोटरसाइकल ४४८ वटा, जीप ६० वटा, एम्बुलेन्स १९ वटा, शवबाहन १,अटो रिक्सा ९४ वटा दर्ता छन् ।अन्य न्यून संख्यामा मिनि बस, ट्रयाक्टर, दमकल, ठूलो बस, संस्थान मोटरसाइकल जेसिभि लोडरलगायतका सवारीसाधन दर्ता भएका छन् ।
समग्र तथ्यांकअनुसार संघीयतापछि गाउँगाउँमा सडक निर्माण हुँदा सवारी साधनको प्रयोग बढेको देखिन्छ । सवारीसाधनको चाप बढे पनि सोहीअनुसार ट्राफिक चेतना र सडक सुरक्षाको विकास हुन सकेको छैन । अहिले पनि अधिकांश सवारीसाधन लाइसेन्स बिना सञ्चालन भइरहेका छन् ।