Logo

लोक संस्कृति प्रवर्द्धनले देश विकासमा सहयोग पुग्छ: मन्त्री सिंह

धादिङ– उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोक संस्कृतिको प्रवर्द्धनले आआफ्नो संस्कार र संस्कृतिले देशको पहिचान उचो राख्ने र देश विकासमा सहयोग पुग्ने बताएका छन् । धादिङ लोक सांस्कृतिक महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले देशको आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवर्द्धनका लागि लोक सांस्कृतिक पक्षको प्रचार महत्त्वपूर्ण रहेको बताए ।

लोक सांस्कृतिक महोत्सवले देशको पहिचान उचो बनाउँदै आर्थिक विकास, सामाजिक एकता र पर्यटन प्रवर्द्धनसँगै देशको समग्र विकास ठूलो योगदान दिने उपप्रधानमन्त्री सिंहले बताए । ‘हाम्रो देशको लोक संस्कृति र संस्कारप्रति नेपालीभन्दा विदेशी बढी आकर्षित हुन्छन् । यस्ता मेला महोत्सव बाह्य तथा आन्तरिक स्वदेशी पर्यटकलाई आकर्षित गर्ने माध्यम बनाउन सकिन्छ । जसले पर्यटन उद्योगलाई उकास्न मद्दत गर्दछ ।’ ‘महोत्सवको आयोजना गर्दा स्थानीय उत्पादनको बिक्री, होटेल व्यवसाय, हस्तकला तथा यातायात सेवामा आर्थिक गतिविधि बढ्छ र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ’ उपप्रधानमन्त्री सिंहले थपे ।

देशको मौलिक परम्परा, भेषभूषा, संगीत, नृत्य, र कला संरक्षण र प्रदर्शन गरेर सांस्कृतिक पहिचानलाई जोगाउन आवश्यक रहेको र यस्ता मेला महोत्सवले युवा पुस्तालाई आफ्नै संस्कृतिप्रति गर्व गर्न प्रेरणा दिने उपप्रधानमन्त्री सिंहले विश्वास व्यक्त गरे । अन्तरपालिका लोक दोहोरी प्रतियोगिता महोत्सवको प्रमुख आकर्षण हुनेछ । मौलिक र जातीय पहिचान झल्काउने खानालाई पनि प्राथमिकतामा राखिएको छ ।

महोत्सवबाट तीन करोड बराबरको आर्थिक कारोबार हुने र एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने आकलन गरिएको छ । धादिङको रैथाने मौलिक लोक संस्कृतिको प्रवर्द्धन, सांस्कृतिक पहिचानको प्रवर्द्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक सञ्चार तथा विकास केन्द्र धादिङले महोत्सव आयोजना गरेको हो । बिहीबार अर्थात माघ १० बाट सुरु भएको लोक सांस्कृतिक महोत्सव माघ २० गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवबाट जुट्ने आर्थिक स्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङमार्फत् परिचालन हुने गरी कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष राखिएको महोत्सव मूल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्