Logo

प्रमुख प्रशासकीय अधिकृत नहुँदा बिगू गाउँपालिकाको कामकाज ठप्प

दोलखा– दोलखाको बिगु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक काम प्रभावित भएको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको दैनिक कामकाज र विकास निर्माणको काम ठप्पजस्तै छ । लामो समयदेखि निमित्तको भरमा गाउँपालिका सञ्चालन हुँदा विकास निर्माणका काम प्रभावित बन्न पुगेको छ भने आर्थिक कारोबार ठप्प छ । आर्थिक कारोबार ठप्प हुँदा अत्यावश्यक औषधि वितरणमा समेत प्रभाव परेको छ ।

गाउँपालिका अध्यक्ष सञ्जीव ओलीले प्रशासकीय अधिकृत नहुँदा अत्यावश्यक सेवा पनि प्रभावित भएको बताए । आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई मात्रै छ । दुवै संघीय सरकारले नै पठाउने गरेको छ । संघीय सरकारले समयमा अधिकृत नपठाउने र पठाएका पनि तुरुन्तै फर्कंदा समस्या भएको उनले बताए । जनप्रतिनिधिका नाताले नागरिकका सेवा सबै वडाध्यक्षदेखि पालिका अध्यक्ष र उपाध्यक्षले सुन्नुपर्छ ।

तर खरिदसम्बन्धी कामको अधिकार प्राप्त व्यक्ति नहुँदा अहिले झन समस्या भएको उनको भनाइ छ । नियमित कार्यपालिका बैठक नभएको र प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि नरहेकैले पालिकाका नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगी तथा विपन्न विरामीका लागि औषधि तथा आर्थिक सहयोगसमेत दिन नसकिएको अध्यक्ष ओलीले बताए । गाउँपालिकाले नेपाल सरकारले उपलब्ध गराउने नि:शुल्क औषधिको अतिरिक्त दीर्घरोगीलाई पनि अस्पतालको सिफारिस अनुसारको औषधिसमेत उपलब्ध गराउँदै आएको छ ।

तर अहिले ती औषधि पनि उपलब्ध गराउन नसक्ने अवस्था आएको छ । विगू गाउँपालिकामा नियमति औषधि सेवन गर्ने दीर्घरोगी २७० जना रहेको र उनीहरूलाई उपलब्ध गराउनु पर्ने ६० प्रतिशत औषधि अभाव रहेको पालिकाका स्वास्थ्य शाखा प्रमुख रत्नबहादुर थामीले बताए । बजेट अभावकै कारण औषधि उपचारवापत १० देखि २५ हजारसम्म उपलब्ध गराउनु पर्ने २३ जना विपन्न विरामीलाई समेत आर्थिक सहयोग उपलब्ध गराउन नसकिएको उनले बताए ।

मासिक पाँच हजार उपलब्ध गराउनु पर्ने किड्नी ट्रान्सप्लान्ट गरेका, डाइलसिस गराइरहेका, स्पाइनल इन्जुरी भएका र क्यान्सरका विरामी गरी ४५ जनालाई पनि आर्थिक सहयोग गर्न नसकिएको स्वास्थ्य शाखा प्रमुख थामीले बताए । आर्थिक अभावकै कारण एम्बुलेन्समा तेलसमेत हाल्न नसक्दा बन्द हुने अवस्थामा पुगेको छ । पेट्रोल पम्पमा धेरै बाँकी भएपछि तेल रोकिएको छ । अत्यावश्यक अवस्थामा गोजीबाटै भुक्तानी गरेर एम्बुलेन्स चलाउनु पर्ने अवस्था आएको उनले बताए ।

भदौको दोस्रो साता सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत छोइसाङ लामा छोटो अवधिमै सरुवा भएर गएपछि अहिले विगू गाउँपालिका निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । भदौमा आएका लामा करिब दुई महिनामात्रै बसेर गत कात्तिकमा सरुवा भएर गएका थिए । त्यसयता बिगू गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद रिजालको भरमा चल्दै आएको थियो । शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा रहेका रिजाल पनि सरुवाको प्रक्रियामा रहेका छन् ।

उनी सरुवाको प्रक्रियामा भएपछि बिगू गाउँपालिकाको निमित्त प्रमुखको जिम्मेवारी स्वास्थ्य शाखाका प्रमुख रत्नबहादुर थामीलाई दिइएको छ । निमित्तको जिम्मेवारी पाउने रिजाल र थामी दुवैलाई आर्थिक अधिकार छैन । सोही कारण बिगू गाउँपालिकाका कर्मचारीले समेत दसैंपछि तलब भत्ता खान पाएका छैनन् । यसअघि २०८० पुसमा जितबहादुर श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा बिगू आएका थिए ।

श्रेष्ठ पनि करिब चार महिना बसेर चैत महिनामै सरुवा भएर गए । श्रेष्ठको सरुवापछि शिक्षा अधिकृत रिजाललाई आर्थिक अधिकारसहित निमित्तको जिम्मेवारी दिइएको थियो । उनले २०८१ वैशाखदेखि गत असारसम्म आर्थिक अधिकारसहितको जिम्मेवारी लिएका थिए । कार्यपालिका सदस्य एवम् प्रवक्ता लोकबहादुर नेपालीले २०८१/०८२ को गाउँसभा सकिएयता गाँउ कार्यपालिकाको नियमित बैठक बस्न नसकेको बताए ।

गाउँ कार्यपालिकाको नियमित बैठक नभएकै कारण आर्थिक वर्ष २०८०/०८१ मा वडा तथा पालिकाको योजनाको काम सम्पन्न भई आर्थिक वर्षको अन्तमा भुक्तानी हुनुपर्ने तीन करोड ५० लाखभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको प्रवक्ता नेपालीले बताए । बैठक नबस्दा चालु आर्थिक वर्षको कुनै पनि योजनाको काम सुरु हुन सकेको छैन । आर्थिक वर्षको सातौं महिनासम्म योजनाको काम सुरु नभएको र दैनिक औषधिसमेत अभाव भएपछि वडाध्यक्षहरू र कार्यपालिका सदस्यले एक महिनाअघि पत्रकार सम्मेलन नै गरे ।

एक हप्ताअघि उपाध्यक्ष देविका थामीसहित सबै वडाध्यक्ष र कार्यपालिका सदस्यहरू संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र सचिवलाई भेटे । मन्त्री र सचिवले नै एक हप्ताभित्र प्रमुख प्रशासकीय अधिकृत पठाउने बाचा गरे । तर त्यो बाचा पनि पूरा हुन नसकेको प्रवक्ता नेपालीले बताए । देशभर अहिले २४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्