Logo

१.५ अर्ब रुपैयाँ लगानी

बेस्ट वेस्टर्न प्लस काठमाडौं होटल सञ्चालनमा

काठमाडौं– विश्वप्रसिद्ध अमेरिकी ब्रान्डसँग सहकार्य गरी बेस्ट वेस्टर्न प्लस काठमाडौँ होटल सञ्चालनमा आएको छ । केएमसी ग्रुपका संस्थापककै प्रारम्भिक लगानीमा होटल सञ्चालनमा ल्याएको हो । नेपालको शिक्षा क्षेत्रमा अग्रणी स्थानमा रहेको केएमसी ग्रुपले होटल क्षेत्रमा पनि लगानी विस्तार गरेको हो ।

चारतारे स्तरको चेन होटलले विश्वप्रसिद्ध अमेरिकी ब्रान्ड बेस्ट वेस्टर्न प्लसलाई पहिलो पटक होटल व्यवस्थापनमा नेपालमा भित्र्याएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र ५ सय मिटरको दुरीमा र पशुपतिनाथ मन्दिरको पैदल दुरीमा पिङ्लास्थानमा अवस्थित होटलले पर्यटन उद्योगलाई टेवा दिने विश्वास लिएको छ ।

बेस्ट वेस्टर्न प्लस काठमाडौंले नेपाली मौलिक सांस्कृतिक र आधुनिकतालाई संयोजन गरेर होटल सञ्चालनमा आएको जनाइएको छ । पाहुनालाई मौलिक तथा न्यानो आतिथ्य मार्फत प्रत्येक अनुभव सम्झनलायक हुनेगरी सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ । दुई उत्कृष्ट रेस्टुरेन्ट र रुफ टफ बारबाट काठमाडौं शहरको मनोरम दृश्यसहित स्वादिष्ट भोजनको अनुभव लिन सक्नेछन् ।

मिटिङ र इभेन्ट्सका लागि होटलका २ हलहरूमा १२ सय ५० जना सेवा लिन सक्छन् । होटलमा तालिम सभा सम्मेलन तथा सेमिनार पार्टीको लागि उपयूक्त हुने जनाइएको छ । फिटनेस र वेलनेस,स्पा र स्विमिङ पुलरहेको छ । ७ रोपनी क्षेत्रफलमा अवस्थित यस होटलमा ८४ रुमहरू रहेका छन् । जसमा ४ सुइट रुम, ७ प्रिमियम रुम, १२ सुपर डिलक्स रुम र ६१ डिलक्स रुम छन् । दुई रेस्टुरेन्टमा १४० पाहुना सेवा क्षमताको सनराइज क्याफे र १४० क्षमताको ला–भिस्टा रुफटप रेष्टुरेन्ट छन् ।

६०० र ६५० को क्षमताका साथ हेल्थ क्लब, स्पा, स्टिम, र साउना रहेका छन् । रूफटप मा बार र स्वमिङ पुल छन् । चाँडै आईपीओमा जाने योजना सहित यो होटलले नेपालको पर्यटकीय सेवाको क्षेत्रमा एक महत्त्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास लिएको होटलका अध्यक्ष रामेश्वर अर्यालले जानकारी दिए । उनले भने, ‘चारतारे स्तरको होटल पब्लिक लिमिटेड कम्पनी अन्तर्गतको यस परियोजनामा १.५ अर्ब रुपैयाँ लगानी रहेको छ ।’

एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले होटलको उद्घाटन गरेका थिए । अमेरिकी चेन होटल ब्रान्ड बेस्ट वेस्टर्न प्लस पहिलो पटक नेपाल भित्रिएको हो । बेस्ट वेस्टर्नको १९ किसिमका ब्रान्डले १०० भन्दा बढी देशमा ४, हजार ८ सय भन्दा बढी होटल तथा रिसोर्टहरुको व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्