गोल्छा समूह र प्रिज्मा ग्रुप सिनेमा निर्माणमा

काठमाडौं– व्यवसायिक घराना, गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा तथा प्रिज्मा एड्भटाइजिङका प्रमुख रन्जीत आचार्यको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रा.लिको ब्यानरमा सिनेमा निर्माणको औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले ‘परान’ सिनेमा निर्माणको औपचारिक घोषणा गरेको हो ।
चर्चित हास्य टेलिशृंखला ‘सक्किगोनी’का चर्चित पात्र ‘काकु’ को भूमिका निर्वाह गरेका दीपक आचार्यले सिनेमालाई निर्देशन गर्ने छन् भने यो उनको डेब्यु निर्देशन पनि हुनेछ । ‘परान’ मा नीर शाह केन्द्रीय भूमिकामा देखिने छन् भने शाहका अलावा मदन कृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।
त्यस्तै सिनेमामा बालकलाकारका रूपमा निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्य समेतको अभिनय रहनेछ । फागुनको पहिलो साताबाट सिनेमा फ्लोरमा जानेछ । सिनेमाको छायांकन काठमाडौं तथा धनकुटामा हुनेछ । बाइस्कोप सिनेमा प्रा.लिको पहिलो प्रस्तुति ‘परान’ लाई शिवराम श्रेष्ठले छायांकन गर्नेछन् भने सुप्रिम पराजुलीको रंग संयोजन रहने बताइएको छ ।