नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारलाई आग्रह

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा व्यावसायिक गतिविधि बढाउन पाकिस्तान सरकारसँग आग्रह गरेका छन् । मन्त्रालयमा मन्त्री भण्डारी र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हश्मीबीच शुक्रबार भएको शिष्टाचार भेटका क्रममा सबै मुलुकसँग नेपालले व्यावसायिक सहकार्यलाई बढावा दिन चाहेकाले पाकिस्तान सरकारलाई पनि उनले सो आग्रह गरेका हुन् ।
नेपालको संघीय संसदले नेपाल–पाकिस्तान संसदीय मैत्री समूह गठन गरेको विषय जानकारी गराउँदै मन्त्री भण्डारीले यस संसदीय आदानप्रदानले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । नेपाल र पाकिस्तान निकट छिमेकी भए पनि सोचेजस्तो द्विपक्षीय व्यापार हुन नसकिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले व्यापार र आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक रहेको बताए ।
नेपाल र पाकिस्तानबीचको व्यापार तथा आर्थिक अन्तरनिर्भरता बढाउनका लागि दुवै देशको व्यापार सहजीकरण गर्ने र ‘लजिस्टिक’ चुनौतीलाई सम्बोधन गर्नेतर्फ संयुक्त रुपमा थप प्रयास गर्नुपर्ने उनको भनाइ थियो । लगानी, पर्यटन, संस्कृति र जनता–जनताबिचको सम्बन्धलगायत पारस्परिक लाभका लागि दुवै देशले मिलेर काम गर्नसक्ने धेरै क्षेत्र रहेका उनले उल्लेख गरे ।
उनले कृषि र पर्यटन सम्बन्धी संयुक्त कार्य समूहहरूको नियमित बैठकहरू आयोजना गर्ने कुरालाई प्राथमिकता दिनु आवश्यक रहेकामा जोड दिए । साथै मन्त्री भण्डारीले नेपालले जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, सूचना प्रविधि आदि क्षेत्रमा लगानी गर्न पाकिस्तानी लगानीकर्तालाई आग्रहसमेत गरे ।
पाकिस्तानी राजदूत हश्मीले पाकिस्तान सरकारले नेपालमा व्यावसायिक गतिविधि बढाउन चाहेको बताए । उनले नेपालको चिया तथा कफि पाकिस्तानमा राम्रै परिणाममा निर्यात भइरहेको उल्लेख गर्दै ब्राण्डिङ र गुणस्तर सुधार गरिए निर्यात वृद्धि हुने जानकारी गराए । हश्मीले दुई देशबीच व्यापारिक गतिविधि बढाउन दोहोरो करको समस्या रहेकाले त्यसको समाधान गर्नुपर्नेमा जोड दिए ।
यस वर्ष ३२ जना विद्यार्थीले पाकिस्तानमा अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको जानकारी गराउँदै उनले छात्रवृत्ति रकम वृद्धि गराउन सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाए । उनले नेपालको सगरमाथा र पाकिस्तानको केटु हिमालसम्म जोड्न पर्यटकीय मार्ग बनाउनुपर्नेमा जोड दिए । साथै उनले काठमाडौं–लाहोर नियमित सिधा हवाई उडानका लागि पहल थाल्ने प्रतिबद्धता जनाए ।