फागु पूर्णिमाको रौनक

आज फागु पूर्णिमा अर्थात् होली । काठमाडौंमा फागु पूर्णिमाको रौनक नै अलग छ । वसन्तुपुरमा चीर गाडेपछि एक हप्ता अघिदेखि नै फागु फुकेको मानिन्छ । फागु रगंहरूको मिश्रण र सहिष्णुता एवं प्रेममय पर्व हो । यही रमाइलोका कारण यसमा मानिसहरू बढी रम्छन् । काठमाडौं, भक्तपुर र ललितपुरका पसल एवं पेटीमा होलीको टिसर्ट भरिभराउ छन् । धेरैले होली सुरु हुनुभन्दा पहिलेदेखि नै यस्ता टीसर्ट लगाएर यसप्रतिको आकर्षण देखाइसकेका छन् । नेपालीहरूमात्रै हैन, विदेशी पर्यटक पनि यसमा निकै रमाउँछन् । पर्यटकीय स्थल ठमेलमा विदेशीहरूले यसको मज्जा लिने गरेका देखिन्छन् । नेपाली कला सस्ंकृति र विदेशी पर्यटकहरूले अझ यसलाई नजिकबाट नियाल्ने मौकामा रूपमा लिने गरेका छन् । होली खेल्न पाउँदा यहाँको संस्कृतिलाई अझ राम्रोसँग अनुभव गर्न पाइएको उनीहरू बताउँछन् । धार्मिक आस्थाका साथै रमाइलो उत्सवको रूपमा होलीलाई लिइन्छ । होलीमा रङमा रङमङिनेमा युवाहरूको जमात नै बाक्लो देखिन्छ । काठमाडौंको टुडिखेल, जावलाखेल, भुकुटीमण्डपमा आदि सार्वजिन स्थलमा त विशेष कार्यक्रम नै गरेर यसलाई उल्लासमय बनाइन्छ ।
फागु अर्थात होली रङ्गहरूको पर्व हो तर रङका साथै पानी छ्यापाछ्याप गरेर पनि होली खेलिने गरिन्छ । खास गरी काठमाडौंमा यस्तोे बढी पाइन्छ । यो चाड हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस पर्वले वसन्त ऋतु आएको जानकारी दिने गर्दछ । त्यसैले यसलाई प्रेमको पर्व पनि मानिन्छ । यो पर्व हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । होलिका दहनको पौराणिक प्रसंग यसमा जोडिन्छ । होलिका दहन गरेपछि होली खेल्ने भएकाले तराईमा पूर्णिमाको भोलिपल्ट होली खेलिन्छ भने उपत्यका र पहाडमा भने पूर्णिमाकै दिन होली खेलिन्छ । नेपाल भारत लगायत अन्य राष्ट्रमा रहेको हिन्दुहरूको मात्र चाड नभएर सम्पुर्ण जातजाती तथा धर्मापलम्बिहरुको चाड बनिसकेको छ ।
हिरण्यकश्यपुकी बहिनी होलिकाले विष्णुको भक्त हिरण्यकश्यपुका छोरा प्रल्हादलाई मार्न अग्नि नजिक जादा होलिका आफैँ जलेर नष्ट भएको कारण असत्य माथि सत्यको जित भएको दिनको रूपमा यो पर्व मनाइने गरेको पौराणिक आख्यान छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौंको पसन्तपुर दरवारअगाडि चीर (विषेश रूपले सजाएको लिङ्गो) गाडेपछि होली सुरु भएको मानिन्छ । होलीका लागि मयलको रुखको हागाँमा रङ्गीचङ्गी कपडाहरू झुन्ड्याई बाँधेर अग्लो बाँसको लिङ्ग ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एक आपसमा अबिर छ्यापी हर्ष र उत्साहका साथ होली खेल्न सुरु गरिन्छ । एक साता पछि फागुपर्व पूर्णिमाको दिन सो चीर ढलाएर टुँडिखेलमा पु¥याई विर्सजन गर्ने परम्परा रहेको छ । जलेको चीरको खरानीलाई शुभ कुराका रूपमा जो कोहीले घर लैजाने गरेको पाइन्छ ।
फागु पछिल्ला वर्षहरूमा धर्मसंग भन्दा पनि रमाइलो तथा सद्भावको पर्वको रूपमा मनाउने गरेको पाइन्छ । त्यसैले नेपालमा होलीको रौनक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भव्य हुने गरेको छ ।
नेपालमा विशेष गरी काठमाडौ, पोखरा, धरान, विराटनगर, धनगढीलगायतका सहरमा होलीको रौनक फरक हुने गरेको छ । सामाजिक, सास्कृतिक कार्यक्रमका साथै रङ्गहरूको वर्षातले गाउँको भन्दा सहरमा होली भव्यताका साथ मनाइन्छ । होलीको गीति गाउँदै रङहरू लगाइदिने प्रचलन छ । तर फागुको पुरानो गीतको प्रचलन भने कम हुँदै गएको छ । अचेल सिनेमाका होली गीत बजाएर नाच्ने र गाउने चलन सुरु भएको छ ।
होलीका दिन मानिसहरू एकअर्कामा विभिन्न प्रकारका रङगहरू हालेर एकअर्कालाई रङ्गीन बनाउने, दुःखकष्ट भुलेर खुसी मनाउने, दुस्मनीलाई भुलेर मिलेर होली खेल्ने गर्दछन् । साना साना बच्चादेखि वृद्धवृद्धासम्मका सबैले होलीको मज्जा लिने गर्दछन् । यो पर्व घरपरिवार, साथीभाइ आपसमा रङमा रङ्गिएर उत्साहपूर्वक मनाइने गरिन्छ । फागु पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा वृद्धवृद्धाहरू एक साथ भएर यो पर्व मनाउने गर्दछन् । पुराना यादहरू सँगाल्दै अबिर र केसरीको टीका लगाएर पाको पुस्ताले होली मनाउने गरेको छ । त्यस्तै होलीका टीका लगाइदिँदै आशिष दिने प्रचलनमा पनि छ ।
बालबालिकाहरूले पिच्कारी अनि ससाना बेलनहरूका साथमा मज्जा लिन्छन् । पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराईतिर बाँस काटेर त्यसका ढोडबाट बनाउने पनि गरिन्छ । प्लास्टिकका पुराना बोतलबाट बनाइएका पिच्कारीहरू पनि हुन्छन् । यसपालि म रङ्ग खेल्दिन भनेर बसे पनि सुस्तरी रङ्गीन वातावरण तथा साथीभाइको रङ लतपतिएको हात अनी पानीबाट बच्न गाह्रो पर्दछ । तराईतिर झन् रङ्गहरूले पोखरी नै रंगीन हुने गर्दछ । होली खेल्न नमान्नेलाई पोखरीमै फालिदिने पनि गर्छन् । पहिला पहिला काठमाडौंमा होलीका दिनमा लोेला अनि फोहोर पानी मिसाएर पदयात्री र काममा निस्केका मान्छेहरूलाई ताकेर हान्ने गलत अभ्यास पनि थियो जुन आजभोलि हराएर गएको छ । होलीको बहानामा महिलाहरूविरुद्ध यौन दुव्र्यवहार, बालबालिकाहरूसँग दुव्र्यवहार पनि हुन्थ्यो तर अहिले प्रहरीको गस्ती र सक्रियताका कारण बिस्तारै हट्दै गएको छ ।
धेरै तथा अप्राकृतिक रङले छालाको क्यान्सर
काठमाडौं । रङहरूको उत्सव मनाउँदा स्वस्थ्यमा पनि ध्यान दिनु पर्दछ । तर, बजारमा पाइने रङहरूमा विभिन्न रासायनिक पदार्थहरूको मिसावट हुने भएकोले यसबाट छालामा सबाधारण असर हुने देखि छालाको क्यान्सरसम्म हुनसक्ने संभावना रहन्छ । बजारमा पाइने धेरैजसो रङहरूमा रसायन मिसाइएकोले यसले छालामा क्यान्सर हुने डाक्टरहरूको भनाइ छ ।
रक्त चन्दन, बेसार, तथा अबिरले फागु खेल्दा स्वास्थ्यमा हानी गर्दैन । सिसा नमिसाइएको गुणस्तरीय अबिरले स्वास्थ्यमा खास हानी गर्दैन तर आजकाल बजारमा अबिरमा पनि रसायन मिसाउन थालेकाले अबिर किन्दा साबधान हुनु पर्दछ । रङको असरबाट छालालाई जोगाउनका लागि फागु खेल्नु अगाडि छालामा तथा केसमा क्रिम वा तेल लगाउने गर्दा रङ खेलिसकेपछि यसलाई हटाउन सहज हुन्छ । फागु खेल्दा सकेसम्म पूरै शरीर ढाक्ने पहिरन लगाउने गर्दा पनि छालालाई बचाउन सकिन्छ । रङमा रहेको केमिकलले हात तथा नङमा बढी असर गर्ने हुनाले फागु खेल्नु अगाडि यसबाट पनि सचेत हुनु आवश्यक छ । फागु रङले खेलिने भएतापनि काठमाडौं लगायत शहरी क्षेत्रमा पानकिो पनि अत्याधिक प्रयोग भएको देखिन्छ र त्यसैले सफा पानीको व्यवस्था गरेर मात्र रङ खेल्नु पर्दछ ।