Logo

उपत्यकाबाहिरबाट ६ महिनामा एक लाखले लिए श्रमस्वीकृति

काठमाडौं– वैदेशिक रोजगारीको श्रमस्वीकृति सेवा विकेन्द्रीकरण गरेर घरपायक सेवा दिन थालेपछि ६ महिनामा १ लाख १ हजार १४५ युवाले श्रमस्वीकृति लिएका छन् ।

गत आवको ६ महिनामा ५७ हजार युवाले प्रदेशस्तरबाट श्रमस्वीकृति लिएका थिए । घरपायक सेवा विस्तारपछि हजारौं रुपैयाँ खर्च गरेर श्रमस्वीकृति लिन काठमाडौं धाउनुपर्ने झन्झट हटेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक मणिनाथ गोपले गत वर्षको तुलनामा प्रदेशस्तरबाट श्रमस्वीकृति लिनेको संख्या दोब्बर भएको बताए । श्रमस्वीकृतिको काम प्रदेशस्तरका ६ वटा श्रम कार्यालयबाट सुरु भएपछि चालु आवको साउनदेखि पुससम्म एक लाखभन्दा बढीले सेवा लिएका हुन् । अघिल्लो आवको पुसबाट प्रदेशस्तरबाट पूर्ण रुपमा श्रमस्वीकृति दिन सुरु गरिएकोमा सो आवमा २ हजार ५ सयले मात्र श्रमस्वीकृति लिएका थिए । विभागका निर्देशक गोपले प्रदेशस्तरमा रहेका श्रम कार्यलयबाट श्रमस्वीकृति लिनेको संख्या बढेसँगै ती कार्यालयमा कार्यबोझ समेत बढेको बताए ।

अघिल्लो आवको तुलनामा गत आवमा उपत्यकाबाहिरबाट श्रमस्वीकृति सेवा लिनेको संख्या ४४ प्रतिशतले वृद्धि भएको देखिन्छ । यस्तै, गत आवको तुलनामा चालु आवमा भने यस्तो संख्या ७७ प्रतिशतले बढेको छ । सरकारले २०७५ सालदेखि पुनः श्रमस्वीकृति सेवा प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयबाट दिन सुरु गरेकोमा गत वर्षदेखि श्रमस्वीकृति पनि दिन थालिएको हो ।

निर्देशक गोपले वैदेशिक रोजगार विभागबाट हुँदै आएको श्रमस्वीकति सेवा श्रम विभाग अन्तर्गतका कार्यालयबाट सोझै हुने गरेका कारण यसका लागि काठमाडौं आउनुपर्ने झन्झट हटेको बताए । श्रम विभाग मातहत श्रम कार्यालयका सीमित जनशक्ति प्रयोग गरेर पछिल्ला दुई वर्षदेखि प्रादेशिक स्तरमा श्रमस्वीकृति दिने काम भइरहेको छ ।

विभागले सबै श्रम तथा रोजगार कार्यालयबाट अनलाइनमार्फत संस्थागत, व्यक्तिगत र पुनः श्रमस्वीकृति सेवा प्रवाह हुने गरी पूर्वाधार तयार भएको जनाएको छ । हाल वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंका अतिरिक्त श्रम तथा रोजगार कार्यालय विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट अनलाइनमार्फत श्रमस्वीकृति सेवा विस्तार गरिएको छ । सरकारले श्रमस्वीकृति, मेनपावर र अभिमुखीकरण संस्थाले दिने सेवालाई विकेन्द्रीकरण गर्ने निर्णय गरेपछि यो काम सुरु भएको हो । नयाँ श्रमस्वीकृतिका लागि मागपत्र, सम्झौतापत्र लगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भएकाले कार्यसम्पादन केही ढिलो हुने गरेको छ ।

काठमाडौंबाहिर हाल करिब १३८ मेनपावरका शाखा कार्यालयले वैदेशिक रोजगारीका लागि श्रमिक छनोट र भर्नाको काम गरिरहेका छन् भने काठमाडौंमा ८७८ कार्यालय रहेका छन् । २०७५ सालदेखि धनगढी, सुर्खेत, पोखरा, जनकपुर, बुटवल, पोखरा र विराटनगरबाट पुनः श्रमस्वीकृतिको काममात्र हुँदै आएको थियो । वार्षिक औसत ७ लाख ७० नेपालीले आवेदन दिने श्रमस्वीकृतिको सेवा प्रदेशस्तरमा विस्तार गरेसँगै वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहचलमा भीडभाड कम भएको छ ।

प्रतिक्रिया दिनुहोस्