Logo

३६ हजार मेगावाटका २१ ‘गेम चेन्जर’ आयोजना पाइपलाइनमा

निर्माणाधिन अरुण तेस्रो जलविद्युत परियोजना

काठमाडौं– देशभर अहिलेसम्म पहिचान भएका ५ सय मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनाको संख्या २१ पुगेको छ । यी आयोजना निर्माण हुने हो भने ३६ हजार २७२ मेगावाट विद्युत उत्पादन हुनेछ, जुन अहिलेसम्म उत्पादन भएको जलविद्युत क्षमताको ११ गुणा बढी हो ।

अहिले १ मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनाबाट कुल ३ हजार २४० मेगावाट विद्युत उत्पादन भइरहेको छ । यी आयोजनामध्ये ९ सय मेगावाटको अरुण तेस्रो आयोजनामात्र निर्माणाधीन छ । अन्य आयोजना अध्ययन र सर्वेक्षणका विभिन्न चरणमा छन् ।

अहिलेसम्म पहिचान र अध्ययनसमेत भएका मध्ये कर्णाली चिसापानी बहुउद्देश्यीय परियोजना सबैभन्दा ठूलो र धेरै विद्युत उत्पादन गर्ने आयोजना हो । यसको कुल विद्युत उत्पादन क्षमता १० हजार ८ सय मेगावाट छ । कर्णाली–चिसापानी आयोजनालाई सन् १९६२ मा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहयोगमा जापानी कम्पनी निप्पोन कोईले सम्भाव्यता अध्ययन गरेको थियो । त्यसपछि १९८६ देखि १९९० सम्म अन्तर्राष्ट्रिय विकास संस्था अर्थात् विश्व बैंकको ऋण सहयोगमा हिमालय पावर कन्सल्ट्यान्टले विस्तृत सम्भाव्यता अध्ययन भएको हो । अध्ययन प्रतिवेदनले ६ सय मेगावाट विद्युत उत्पादन गर्ने १८ वटा युनिट रहने र नेपाल र भारतमा क्रमशः १ लाख ९१ हजार हेक्टर र ३२ लाख हेक्टरमा सिँचाइ सुविधा पुग्ने लगायतका सम्भावना औंल्याएको थियो । यो आयोजना बेलाबेलामा निर्माण हुने चर्चा चले पनि अझै सुरु भएको छैन ।

दोस्रो धेरै विद्युत उत्पादन गर्न सक्ने आयोजना पञ्चेश्वर बहुउद्देश्यीय परियोजना हो । यो आयोजना नेपाल र भारतबीच निर्माण अघि बढाउनेबारे उच्चस्तरीय भ्रमणमा एजेन्डा बन्ने र छलफल हुने आयोजनामा पर्छ । सन् १९७१ मा भएको अध्ययन प्रतिवेदनले परियोजनाको १ हजार मेगावाट क्षमता देखाएको थियो । २० वर्षपछि सन् १९९१ मा प्राविधिक रुपमा यो आयोजनाको बाँध ३१५ मिटरको बनाउँदा ६ हजार ४८० मेगावाट विद्युत उत्पादन हुने पत्ता लाग्यो । त्यसमा रूपमालीगाड रि–रेगुलेटेड बाँधमार्फत थप २४० मेगावाट गरी कुल ६ हजार ७२० मेगावाट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ । नेपाल र भारतको सहलगानीमा परियोजना अघि बढाउन १५ वर्षअघि (९ मंसिर २०६६)मा पञ्चेश्वर विकास प्राधिकरण गठन गरियो । प्राधिकरणले विस्तृत आयोजना प्रतिवदेन तथा अन्य आवश्यक काम सम्पन्न गर्ने दुवै देशबीच सहमति भयो । तर, अझै आयोजना अघि बढ्ला भन्ने कुनै संकेत देखिँदैन । आयोजनाको डिपीआरमा दुवै देशका अधिकारीबीच असहमति छ । मुख्यतयाः पानी र मुनाफा बाँडफाँडलगायत विषयमा टुंगो लाग्न नसक्दा डिपीआरले अन्तिम रुप पाउन नसकेको हो ।

तेस्रो ठूलो सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय परियोजना लामो समयदेखि अड्किएर बसेको छ । नेपाल र भारत दुवै देशको सहभागितामा अघि बढाउन खोजिएको यो परियोजना विद्युत, सिँचाइ तथा बाढी नियन्त्रणको लागि उपयोगी मानिन्छ । सर्वेक्षणका आधारमा सन् १९८१ मा यो आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको थियो । विद्युत उत्पादनबाहेक नेपालमा ३.४१४ लाख हेक्टर र भारततर्फ ३.८३७ लाख हेक्टर सिँचाइ हुनेछ ।

चौथो ठूलो आयोजनामा १९०२ मेगावाटको मुगु–कर्णाली जलविद्युत आयोजना पर्छ । यसको सर्वेक्षण अनुमतिपत्र विद्युत उत्पादन कम्पनी (भियुसिएल) सँग छ । यो कम्पनीले सन् २०१८ मा आयोजनाको सर्वेक्षण अनुमति पाएको हो । कम्पनीले २०७९ वैशाखमा आयोजनाको पूर्वसम्भाव्यता अध्ययन सम्पन्न गर्‍यो । डेढ वर्षअघि २०८० असारमा निर्माण अनुमतिपत्र माग गरी विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीले आयोजनामा वित्तीय लगानी आह्वानको आशयपत्र २३ मंसिर २०८१ मा माग गरेको थियो । एक महिनापछि २३ पुसमा आशयपत्र खोल्दा एकमात्र चौधरी समूहअन्तर्गतको सीजी इनर्गोले प्रस्ताव हालेको कम्पनीले जानकारी दिएको छ । प्रस्तावको अहिले प्राविधिक अध्ययन भइरहेको छ । बाजुरा, हुम्ला र मुगुमा पर्ने आयोजनामा पर्ने निजी जग्गाको मुआब्जा निर्धारण गरेर वितरण गर्ने तयारी भइरहेको छ ।

कुल १ हजार २५० मेगावाटको संयुक्त पश्चिम सेती जलविद्युत आयोजनामा पश्चिम सेती र सेती नदी–६ आयोजना पर्छन् । यी दुवै आयोजनाको सर्वेक्षण अनुमतिपत्र भारतीय सरकारी कम्पनी नेशनल हाइड्रोइलेक्ट्रिसिटी पावर कर्पोरेशन (एनएचपीसी)लाई दिइएको छ । खिम्ती ठोसे शिवालय जलाशययुक्त जलविद्युत आयोजना अध्ययनकै चरणमा छ ।

बूढीगण्डकी जलविद्युत आयोजनाको अध्ययन सकेर अहिले जग्गा प्राप्ति र कम्पनीमार्फत निर्माण अघि बढाउने गरी तयारी भइरहेको छ । माथिल्लो अरुण जलविद्युत आयोजना, सुनकोशी दोस्रो जलविद्युत आयोजना र हुम्ला कर्णाली क्यासकेड आयोजना पनि अध्ययनकै चरणमा रहेका छन् ।

सूचीमा रहेका आयोजनामध्ये अरुण तेस्रो जलविद्युत आयोजनामात्र अहिले निर्माणाधीन छ । यो आयोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्युत विकास निगम (एसजेभीएन)ले निर्माण गरिरहेको छ । आयोजनाको अहिलेसम्म करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । यसबाहेकका अन्य आयोजना अहिले पनि अध्ययनका विभिन्न चरणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्