तीन सय उद्योग तथा फर्म खारेज

बाँके- चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ६ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा उद्योगतर्फ एक सय आठ र वाणिज्यतर्फ दुई सय ३८ उद्योग तथा फर्म खारेज भएका छन् । प्रमुख उद्योग अधिकृत बुढाथोकीका अनुसार छ महिनाको समय अवधिमा विभिन्न प्रकृतिका तीन सय ६८ नयाँ उद्योग र वाणिज्यतर्फ चार सय १० नयाँ फर्म दर्ता भएका छन् ।
कार्यालयका प्रशासन अधिकृत सुशील ढकालका अनुसार चालु आवको छ महिनाको समयमा उद्योगतर्फ ६ सय २७ र वाणिज्यतर्फ एक हजार दुई सय ५६ फर्म नवीकरण भएका छन् । त्यसैगरी, पुँजी वृद्धि, ठाउँसारी, नाम परिवर्तन, नामसारी, ठेगाना परिवर्तनलगायत उद्योगतर्फ तीन सय ४० र वाणिज्यतर्फ चार सय ७७ संशोधन गरिएको छ ।
त्यसैगरी, वाणिज्यतर्फ नयाँ फर्म दर्ता हुनेभन्दा खारेज गर्नेकै संख्या बढिरहेको छ । उद्योग अधिकृत बुढाथोकीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा प्राइभेट फर्म ६ सय ३४ र साझेदारी फर्म १४ गरी कुल ६ सय४८ नयाँ फर्म दर्ता भएका थिए । आर्थिक वर्ष ०७९/८० मा प्राइभेट फर्म आठ सय ५८ र साझेदारी फर्म १६ बुढाथोकीले जानकारी दिए ।
आर्थिक वर्ष ०८०/८१ मा प्राइभेट फर्म चार सय ५० र साझेदारी फर्म १२ गरी चार सय ६२ फर्म खारेजी भएका थिए भने आर्थिक वर्ष ०७९/८० मा तीन सय १२ प्राइभेट फर्म खारेजीमा परेका थिए । केही वर्षयता अघिल्लो आवमा भन्दा नयाँ आवमा क्रमश: दर्ता हुने क्रम घट्दै गएको हो भने खारेजी गर्ने क्रम बढ्दै गएको हो ।
कार्यालयको तथ्यांकले विगत चार वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्ने क्रम घटिरहेको र खारेजी गर्नेको संख्या बढ्दै गइरहेको देखाएको हो । नयाँ दर्ता/स्थापना भएका उद्योगहरुमा एक सय सात महिला र दुई सय ८६ जना पुरुष गरी जम्मा तीन सय ९३ जना उद्यमी छन् भने ६ सय २० जना महिला र आठ सय ८१ पुरुष गरी कुल एक हजार पाँच सय एक जनाले रोजगारी पाए छन् ।
नयाँ उद्योग दर्ता, नवीकरण, संशोधन लगायतबाट यस चालु आवको पुससम्ममा उद्योगतर्फ ४० लाख ४४ हजार र वाणिज्यतर्फ ७६ लाख ६१ हजार पाँच सय ८५ राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कार्यालयको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार विगत चार वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको संख्या घट्दै गइरहेको र खारेजी गर्नेको संख्या बढ्दै गइरहेको हो ।
गत आवमा विभिन्न प्रकृतिका सात सय ६० नयाँ उद्योग दर्ता भएका थिए भने दुई सय ३० उद्योग खारेज भएका थिए । आर्थिक वर्ष २०७९/८० मा आठ सय ७६ उद्योग दर्ता भएका थिए भने एक सय ६० उद्योग खारेजी भएका थिए । त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा एक हजार सात सय १२ उद्योग दर्ता भएका थिए सो वर्षमा एक सय ३८ उद्योग खारेज भएका थिए ।
आर्थिक वर्ष २०७७/७८ मा दुई हजार तीन सय ४१ उद्योग दर्ता भएकामा ९६ उद्योग खारेज भएका थिए । कार्यालयका अनुसार नयाँ दर्ता गरिएका उद्योगमा ८१ करोड ६५ लाख ७५ हजार र वाणिज्यतर्फ ५७ करोड ९५ लाख ३१ हजार बराबरको पुँजी लगानी छ ।