Logo

सन् २०२५–२०३५ लाई पर्यटन दशक मनाइने

दुई वर्ष अगाडिका योजना कार्यान्वयन हुँदै

काठमाडौं– सरकारले पर्यटक दशक मनाउने तयारी गरेको छ । सन् २०२५–२०३५ लाई सरकारले पर्यटन दशकको रूपमा मनाउने तयारी गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सन २०२५–०३५ सम्मका लागि पर्यटन दशकको रूपमा मनाउने र यसको लागि अहिले कार्य योजना बनिरहेको बताए ।

मंगलबार प्रदेश सरकार, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशद्वारा आयोजित स्वागत कार्यक्रममा मन्त्री पाण्डेले पर्यटन दशकले नेपाललाई ठूलो लाभ प्राप्त हुने बताएका हुन् । मन्त्री पाण्डेले भने,‘सन् २०२२ देखि सुरू हुने भनिएको पर्यटक दशक कोभिड–१९का कारणअघि बढ्न सकेन । वैदेशिक मुद्रा आर्जनको भरपर्दो पर्यटन उद्योगलाई बढवा दिनको लागि पर्यटन दशक सफल हुने छ ।’

पर्यटक दशक सफल बनाउनको लागि फोकल मन्त्रालय भए पनि होटल व्यवसायी र पर्यटन व्यवसायीको ठूलो योगदान रहने उनको भनाइ थियो । तत्कालीन मन्त्रिपरिषद्ले सन् २०२२ मा अवधारणा पत्र स्वीकृत गरेर सन् २०२३–२०३३ लाई पर्यटन दशक मनाउने निर्णय गरेको थियो । तर, अवधारण पत्र स्वीकृत भएर बजेटमा व्यवस्था भए पनि कार्यान्वयनमा आउन नसक्दा कार्यक्रम तुहिएको थियो ।

पर्यटन दशक मनाउने काम निकै महत्त्वकांक्षी रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले पर्यटन दशकले स्वदेशमै स्वरोजगार सिर्जना गर्न सक्ने विश्वास व्यक्त गरे । मन्त्री पाण्डेले पर्यटन दशकले विदेशमा रहेकालाई समेत स्वदेशमै लगानी गरौं, यहीँ केही गरौं भन्ने वातावरण सिर्जना हुने बताए । पर्यटन क्षेत्र मुलुकको आर्थिक मेरुदण्डको मूल आधार रहेको बताउँदै अथितिदेवो भव: को मुल मन्त्रलाई आत्मसाथ गरी अघि बढ्नुपर्नेमा मन्त्री पाण्डेले जोड दिए ।

कोशी पर्यटन मन्त्रालयले २०२५ लाई पर्यटन वर्षको रूपमा मनाउँदै छ । पर्यटन दशकबाट मुलुकले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ठूलो लाभ लिने विश्वास व्यक्त गरिएको छ । सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नु पर्छ भन्ने ध्येयले गर्दा कार्य योजना बनाएर काम गरिरहेको पर्यटन मन्त्रालयका सहसचिव इन्दु घिमिरेले बताइन् । उनले भनिन्,‘सबै सरोकारवाललाई समेटेर काम गरिरहेका छौं । कसरी जाने त्यसको लागि सरोकारवाला विज्ञहरूसँगको छलफल पनि जारी राखेका छौं । तयारी अन्तिम चरणमा रहेको छ ।’

सन् २०२५ को सुरुवातमा तयारी गर्छौ र सन् २०२५ को मध्यदेखि सन् २०३५ सम्म पर्यटक दशकको रुपमा मनाउँदै जाने सहसचिव घिमिरेको भनाइ छ । सबै प्रदेशका पर्यटन मन्त्रीसँग पनि मन्त्रालयले छलफल गरिसकेको तथा सरोकारवालासँग पनि छलफल गरिसकेकाले चाडैं मुक्त रूप पाउने मन्त्रालयको विश्वास छ । पर्यटक दशकमा कति पर्यटक आगमनको लक्ष्य राख्ने त्यसका लागि कस्ता प्रचारप्रसारका कार्यक्रम गर्ने भन्ने बारेमा मन्त्रालयले छलफल जारिराखेको उनको भनाइ छ ।

सन् २०२४को पर्यटन आगमनले ९७ प्रतिशत पर्यटन पुनरुत्थान भएको छ भने आगामी दिनमा थप वृद्धि हुँदै जाने गरी प्रचारप्रसारका कार्यक्रम बनाउन मातहतका निकायसँग सहकार्य गरिरहेको सहसचिव घिमिरेले बताइन् । पर्यटनलाई कसरी प्राथमिकता दिएर काम गर्न सकिन्छ र पर्यटक आगमनमा कसरी वृद्धि गर्न सकिन्छ भनेर कार्ययोजना बनाएर मन्त्रालयले काम गरिरहेको उनको भनाइ छ ।

सन् २०२० मा घोषणा गरेको नेपाल भ्रमण वर्ष कोभिड–१९का कारण कार्यान्वयनको चरणमा आएर रद्द गरिएको थियो । विगत वर्षमा बजेटमा कृषि, शिक्षा, प्रविधिलगायतका क्षेत्रमा विकास दशक घोषणा भएको क्रममा पर्यटन विकासका लागि सरकारले घोषणा गरेको पर्यटन विकास दशक २०२३–२०३२ र २०२५ मा आयोजना गर्ने भनिएको विशेष पर्यटन वर्ष कार्यान्वयनमा आउन सकेको थिएन ।

पर्यटक दशकको रूपमा मनाउने र वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत पर्यटन उद्योगको विकासका लागि सरकारले पर्यटन उद्योगलाई प्राथमिकता दिने जनाउँदै आएको छ । तर, कार्यान्वयन भने हुन सकेको छैन । चालु आर्थिक वर्षमा भने सरकारले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्