Logo

जिल्लामा राजस्व संकलन बढ्यो

दाङ– चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा राजस्व संकलनमा वृद्धि भएको छ । चालु आवको पुस मसान्तसम्म अघिल्लो वर्षको तुलनामा राजस्व संकलन बढेको हो । प्रदेशतर्फ गत आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म ३५ करोड ६ लाख राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्म ४० करोड ५२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । प्रदेशमा चालु आवको पुस मसान्तसम्मको अवधिमा पाँच करोड ४६ लाख राजस्व बढेको छ ।

जिल्लाको राजस्व संकलनमा तलमाथि हुनुमा विभिन्न कारण रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले बताएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय घोराहीका कोष नियन्त्रक रोमा पाण्डेले कोलेनिकामा बढेको राजस्व संघले स्थानीय तहमा पठाएकोले संघीय सशर्त अनुदान खर्च नभई फिर्ता भएको रकम देखिएको बताइन् । उनले मालपोत तथा नापीमा जग्गा कारोबार, प्रशासनमा राहदानी तथा भन्सारमा आर्थिक गतिविधिका कारण राजस्व घटबढ हुने गरेको बताइन् ।

संघीय कार्यालयको अवस्था
गत आर्थिक वर्षको पुस मसान्तसम्म एक अर्ब ९४ लाख राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालयले यो आर्थिक वर्षको सोही अवधिसम्म एक अर्ब २३ करोड राजस्व संकलन गरेको छ । गत वर्षको ६ महिनामा २८ लाख ४० हजार रुपैयाँ राजस्व उठेको इलाका र जिल्लाको नापी कार्यालयमा यस वर्ष ३९ लाख राजस्व उठेको हो । गतवर्ष एक करोड ५४ लाख राजस्व उठेको शिक्षा विकास तथा समन्वय इकाईमा यस वर्ष ५३ लाख राजस्व उठेको छ ।

६ लाख राजस्व संकलन भएको उच्च अदालत तुलसीपुरमा २३ लाख, एक करोड ३६ लाख राजस्व संकलन भएकोे जिल्ला अदालतमा एक करोड ६० लाख संकलन भएको छ । गत वर्ष २२ लाख राजस्व संकलन गरेको सघन सहरी तथा भवन निर्माण आयोजनाले यस वर्षको पुस मसान्तसम्म २५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले भने यस वर्ष गत वर्षको तुलनामा कम राजस्व संकलन गरेका छन् । गतवर्ष ६ करोड ९० लाख राजस्व संकलन भएकोमा यस वर्ष पाँच करोड ५० लाख संकलन भएको छ । गत वर्ष दुई करोड ३६ लाख राजस्व संकलन गरेको सडक डिभिजन दाङले यस वर्ष एक करोड १४ लाख संकलन गरेको छ ।

८१ लाख राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस वर्ष एक करोड संकलन गरेको छ । हुलाक निर्देशनालय दाङमा गत आर्थिक वर्षको पुस मसान्तसम्म २१ लाख राजस्व उठेकोमा यो वर्ष १७ लाख उठेको छ । मालपोततर्फ जिल्लाका तीन वटै कार्यालयबाट गत वर्ष २९ हजार राजस्व उठेकोमा यस वर्ष तीन लाख संकलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयमा गत वर्ष १८ करोड राजस्व जम्मा भएकोमा यस वर्ष एक अर्ब ४३ करोड जम्मा भएको छ ।

प्रदेश सरकारका कार्यालयतर्फ
आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म २४ करोड ३५ लाख राजस्व संकलन गरेको यातायात व्यवस्था कार्यालय तुलसीपुरले यस वर्षको सोही अवधिसम्म २८ करोड चार लाख राजस्व संकलन गरेको छ । सात करोड ७० लाख राजस्व संकलन गरेको प्रदेश लेखा इकाई कार्यालयले यस वर्षको ६ महिनामा ९ करोड १७ लाख राजस्व संकलन गरेको छ ।

गत वर्ष ६१ लाख रुपैयाँ संकलन गरेको डिभिजन वन कार्यालयले यस वर्ष एक करोड ८२ लाख संकलन गरेको छ । गत वर्ष ७७ लाख राजस्व संकलन गरेको घरेलु तथा साना उद्योग कार्यालयले यस वर्ष ८५ लाख संकलन गरेको छ । त्यसैगरी ३३ लाख ६७ हजार राजस्व संकलन गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यस वर्ष एक लाख रुपैयाँ संकलन गरेको छ ।

कृषि ज्ञान केन्द्रले यस वर्ष १३ हजार चार सय रुपैयाँमात्रै राजस्व संकलन गरेको छ । ४ लाख राजस्व संकलन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले यस वर्षको ६ महिनासम्म राजस्व संकलन गर्न सकेको छैन । एक लाख ६५ हजार राजस्व संकलन गरेको सामाजिक विकास कार्यालयले यस वर्ष दुई लाख ३४ हजार रुपैयाँ संकलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्