रामग्रामदेखि लुम्बिनीसम्म नि:शुल्क विद्युतीय बस सञ्चालन

बुटवल– नवलपरासी पश्चिमको रामग्रामबाट बुद्ध जन्मस्थल लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन सुरु भएको छ । लुम्बिनी विकास कोषले पर्यटकको सुविधाका लागि बुद्धको अस्तीधातु रहेको स्थान रामग्राम स्तुपाबाट सिधा लुम्बिनीसम्म बस सञ्चालन गरेको हो ।
बुधबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले विद्युतीय बसको सुभारम्भ गर्दै बसमा सवार गरेका थिए । कोषले बृहत्तर लुम्बिनी क्षेत्रका पर्यटकलाई सेवा दिने उद्देश्यले अनुदानमा प्राप्त गरेको विद्युतीय बस कानुनी उल्झनका कारण सञ्चालन हुन सकेको थिएन ।
कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले सेतो नम्बर प्लेटका कारण बस सेवा सञ्चालन गर्न नसकेको अवस्थामा सबैको गुनासो आएपछि दानपेटिका राखेर परीक्षण स्वरुप बस सञ्चालन गरिएको बताए । उनले रामग्राम र बुद्धजन्मस्थल लुम्बिनी जोड्नका लागि हप्ताको तीन दिन विद्युतीय बस सञ्चालन गरिएको र भविष्यमा दैनिक एक वटा बस सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।
रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले आफूहरूले लामो समयदेखि विद्युतीय बस सञ्चालनका लागि माग गरेकोमा त्यसको सुरुवात भएको बताए । उनले रामग्राम र लुम्बिनी जोड्नका लागि विद्युतीय बसले ठूलो भूमिका खेल्ने उल्लेख गरे । यादवले विजुली बस नियमित सञ्चालनका लागि आवश्यक वातावरण बनाउन स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग हुने प्रतिबद्धता जनाए । रामग्रामबाट लुम्बिनीका लागि हप्ताका तीन दिन सोमबार, बुधबार र शुक्रबार विहान ९ बजे बस चल्नेछ ।
रामग्राम स्तुपबाट बुद्धचौक, परासी बजार, धकधई, बेलहिया भैरहवाको देवकोटा चौक, बुद्धचोक एयरपोर्ट हुँदै लुम्बिनीसम्म बस चल्ने गरी रुट मिलाइएको कोषका देवदह कार्यालयका प्रमुख दामोदर सापकोटाले बताए । उनका अनुसार देवदह र रामग्राममा शनिबारलाई आलोपालो गरी रुट बनाइने छ । लुम्बिनीदेखि सिधा बस सञ्चालन भएपछि रामग्राम आउने तीर्थयात्रुलाई सहजता हुनेछ । बसमा सवारले स्वेच्छिक रूपमा दानपेटिकामा सहयोग गर्न सक्नेछन् तर, कोषले भाडावापत भने शुल्क लिने छैन ।
कार्यक्रममा रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी, रामग्राम का वडाअध्यक्ष, रवीन्द्र यादव, नेपाल पत्रकार महासंघ नवलपरासी (पश्चिम) का अध्यक्ष केशव पराजुली, रामग्राम विकास कोषका प्रतिनिधि लगायतको सहभागिता थियो । लुम्बिनी विकास कोषले कानुनी उल्झनका कारण सञ्चालन गर्न नसकेका पाँच वटामध्ये दुईवटा बस धम्मयात्रा लेखेर पुस ३ गतेदेखि परीक्षण स्वरुप बेलहियाबाट लुम्बिनीसम्म विद्युतीय बस सञ्चालन भएको थियो ।
बृहत्तर लुम्बिनी क्षेत्रका तीर्थयात्रुको सेवालाई लक्षित गरी देवदह र रामग्रामबाट पनि लुम्बिनीका लागि बस सञ्चालन सुरु गरिएको हो । एसियाली विकास बैंकको अुनदान सहयोगमा पाँचवटा बस र १४ वटा विद्युतीय भ्यान संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले २०७९ साल जेठ १२ गते हस्तान्तरण गरेको थियो । तर सडकमा चल्न सकेको थिएन ।