Logo

पर्यटकीय गाउँ लेसपारका सबै घरमा खानेपानी धारा

पर्वत– पर्वतको मोदी गाउँपालिका–४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ । वर्षौदेखि खानेपानीको अभाव झेल्दै आएको उक्त गाउँका २१६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो । कादुरी एग्रिकल्चर एड एसोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा सबै घरधुरीका साथै सामुदायिक विद्यालय र सामुदायिक भवनमा समेत धारा विस्तार गरिएको हो ।

कादुरी एग्रिकल्चर एड एसोसियट्स ब्रिटिस गोर्खाज नेपालले विसं २०८० मंसिर ५ गतेदेखि योजनाको काम सुरुवात गरेको थियो । काम सुरु भएको ६ महिनामै सम्पन्न भई गत जेठ पाँच गते लेसपार एक घर एक धारा खानेपानी योजना उपभोक्ता समितिलाई हस्तान्तरण गरेको थियो । जेठ महिनादेखि नै सबै घुरधुरीले सहज रुपमा खानेपानी उपभोग गर्दै आएको समाजसेवी तथा योजनाका पहलकर्ता नरसिंह पुनले जानकारी दिए ।

पुनका अनुसार २११ घर, एक विद्यालय र चारवटा सामुदायिक भवनमा धारा विस्तार गरिएको छ । यो योजनाबाट लेसपारका झण्डै एक हजार बासिन्दा लाभान्वित भएको उनले बताए । खानेपानी योजना एक करोड ३६ लाख ५८ हजार रुपैयाँको लागतमा सम्पन्न भएको हो । जसमध्ये १९ लाख, ७१ हजार रुपैयाँ बराबरको स्थानीयले जनश्रमदान गरेका छन् भने संस्थामार्फत् एक करोड १६ लाख ८६ हजार रुपैयाँ खर्चिएको आयोजना प्रमुख बुद्ध पुनले जानकारी दिए ।

आयोजना प्रमुख पुनका अनुसार खानेपानी विस्तारका लागि दुईवटा इन्टेक टंकी, दुईवटा फिल्टर टंकी, एक वितरण च्याम्बर, पाँचवटा रिजभ्र्वायर टंकी निर्माण गरिएको छ । बस्तीभन्दा माथि रहेको जंगलका लाटाखर्क र सिस्नेरा गरी दुईवटा मुहानबाट पानी ल्याइएको छ । गाउँभर ६७ सय ६२ मिटर लामो पाइपलाइनमार्फत् पानी वितरण गरिएको पुनले जानकारी दिए ।

घरघरमै खानेपानी सुविधा उपलब्ध भएपछि खोला, कुवा र खोल्सामा धाउनुपर्ने स्थानीयको बाध्यता हटेको लेसपार एक घर एक धारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भीमबहादुुर पुनले बताए । स्थानीयले खानेपानी उपभोगका लागि मात्र नभएर व्यावसायिक तरकारीखेतीमा समेत प्रयोग गर्दै आएका छन् । वर्षौंदेखि खानेपानीको जोहो गर्न सास्ती खेप्दै आएका स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको उनले बताए ।

मगर समुदायको मात्र बसोबास रहेको लेसपार पछिल्लो समय पर्यटकीय गाउँको रुपमा विकास हुँदै गएको छ । ढुंगैढुंगाको छानाले छाएका घर, मगर समुदायको कला र संस्कृति तथा घरवासमा बस्नका लागि यहाँ विभिन्न क्षेत्रबाट पर्यटक आउने गर्दछन् । अन्नपूर्ण चक्रिय पदमार्गको वैकल्पिक मार्गको रुपमा विकास भएको नयाँपुल–देउपुर–लप्सीवोट–देउराली–लेसपार हुँदै पर्यटक पर्वतको जलजलादेखि म्याग्दीको नागी, पुनहिल लगायतका ठाउँमा जानका लागि यो मार्ग प्रयोग गर्दै आएका छन् ।

जर्मन, रसिया, चाइना, हङकङ, बेलायत लगायतका मुलुकका पर्यटक यही मार्ग हुँदै आउनेजाने गरेको पर्यटन व्यवसायी समेत रहेका नरसिंह पुनले जानकारी दिए । बाह्य पर्यटकका साथै स्थानीय पर्यटकसमेत होम–स्टेमा बास बस्ने, स्थानीय परिकारको स्वाद लिनुका साथै मगर समुदायको कला संस्कृतिबाट मनोरञ्जन लिने गरेको उनको भनाइ छ । यहाँका झण्डै एक दर्जन घरमा घरवास सुविधा रहेको छ । एक घर एक धारा विस्तार भएपछि घरवास सेवासमेत प्रभावकारी बनेको र गाउँ सफासुघ्घरसमेत बनेको उनले बताए ।

खानेपानी व्यवस्थापनका लागि स्थानीय कुलबहादुर पुन र रेशम पुनलाई जिम्मेवारी समेत संस्थाले दिएको छ । उनीहरूले नियमित मर्मत, मिटर रिडिङदेखि अन्य व्यवस्थापनको काम गर्दै आएका छन् । यसैबीच उक्त खानेपानी आयोजनाको यही माघ १५ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ । योजनाको उद्घाटन कादुरी च्यारिटिबल फाउण्डेसन हङकङका डाइरेक्टर पेटर पावल डेगरोटले गर्ने कार्यक्रम रहेको आयोजना प्रमुख बुद्ध पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्