Logo

सकियो म्याग्दी महोत्सव दस करोडको कारोबार

पर्वत– म्याग्दी सदरमुकाम बेनीबजारमा दस दिन सञ्चालित म्याग्दी महोत्सवमा १० करोड भन्दा बढीको कारोबार भएको छ । महोत्सवमा राखिएको स्टलका रेष्टुरेन्ट, स्थानीय तथा स्वदेशी विदेशी फेन्सी, भाँडासमेतका पसलबाट १० करोडको कारोबार भएको अनुमान गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको १० दिने आठौं ‘प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला, तथा म्याग्दी महोत्सव’को अवसरमा स्थलमा व्यावसायिक स्टल तथा बाहिर बजारका होटल, रेष्टुरेन्ट एवं प्रायोजक सहयोगसमेत १० करोड बढी आम्दानी भएको आयोजकको दावी छ ।

‘बेनी जस्तो सानो सहरमा १० दिनमा १० करोड भन्दा बढीको आर्थिक कारोबार हुनु आर्थिक चलयमानको हिसावले उपलब्धीमूलक रह्यो । आयोजक समितिका पदाधिकारीले व्यवसायीसँग लिएको तथ्यांकको आधारमा तयार पारेका हौं’ म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले भने, ‘महोत्सव अवधिमा व्यावसायिक स्टलमा एउटा रेष्टुरेन्टले सामान्य दैनिक एक लाखको र फेन्सी पसलले दैनिक ६० लाखसम्मको व्यापार गरे । कलाकारको पारिश्रमिक पनि राम्रो पाए ।’

आयोजकका अनुसार दिनको रातको गरी दुई फरक–फरक रंगका टिकट बिक्रीको रेकर्ड अनुसार एक लाख भन्दा बढी आन्तरिक तथा बाहृय पर्यटकले महोत्सव अवलोकन गरेका छन् । महोत्सवमा आयोजक, स्टल राख्ने व्यवसायी, स्थानीय पालिका, खेलाडी, सुरक्षाकर्मीसमेत ५ हजारले नि:शुल्क पासको उपयोग गरेका थिए ।

महोत्सवमा निर्माण गरिएका २३० वटा व्यापारिक स्टलमध्ये १९० वटा व्यावसायिक उपयोगमा आएका थिए । बाँकी ३० वटा स्थानीय उत्पादन गर्ने लघुउद्यमी, कृषक, स्थानीय पालिका, शैक्षिक संस्थाहरुलाई नि:शुल्क उपलब्ध गराइएको आयोजकको भनाइ छ । प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला भनिएपनि महोत्सवमा अधिकांस स्टलमा विदेशी उत्पादनका सामग्री नै बढी बिक्री भए ।

महोत्सवमा जिल्लाका स्थानीय लघुउद्यमका उत्पादनहरुले खासै व्यापार नभएको गुनासो गरेका छन् । आयोजकले स्थानीय उत्पादन प्रर्वद्धन गर्न स्थानीय उत्पादन संकलन गरी ल्याएर राखेको अर्गानिक कृषि लघु उद्यमबाट उत्पादित पसललाई नि:शुल्क स्टल र पसलमा सामान बेच्ने दुई जनालाई खाना बस्न व्यवस्था गरिदिएको थियाो ।

प्रतिक्रिया दिनुहोस्