तीन जिल्लाका सुरक्षा निकायको बैठक सन्धिखर्कमा

अर्घाखाँची-सिमाना जोडिएका जिल्लाहरुबिचको सम्बन्ध घनिष्ठ बनाउनका लागि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा तीन जिल्लाको सुरक्षा निकायको बैठक बसेको छ । अर्घाखाँची, पाल्पा र रुपन्देहीका सुरक्षा निकायको शुक्रबार बसेको बैठकले सुरक्षालाई मजवुत बनाउनका लागी सहकार्य गरी अगाडि बढ्ने निर्णय भएको छ ।
अर्घाखाँची, पाल्पा र रुपन्देहीका सिमानामा हुने गतिविधिमा सूचना आदानप्र्र्रदान गर्ने निर्णय भएको छ । बैठकले अपराध नियन्त्रण र शान्ति सुरक्षामा मद्दत पुग्ने उद्देश्यसहित पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ तथा अन्य सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा बैठक बसेको हो ।
तीन जिल्लाका सिमामा हुने सम्भावित अपराधिक क्रियाकलाप, संयुक्त सुरक्षा गस्ती, सवारी दुर्घटना न्यूनीकरण, विपद व्यवस्थापन, जंगली जनावरको आक्रमण लगायतका विषयमा छलफल भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए ।
अर्घाखाँची जिल्ला प्रशासनको पहलमा गुल्मी र प्युठानका सुरक्षा निकायसँग पनि बैठक सम्पन्न भएको छ ।