भन्सार विभागका अधिकृत भट्टराईलाई चेम्बरको सम्मान

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले ७३औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपाल प्रसाद भट्टराईलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले शाखा अधिकृत भट्टराईलाई सम्मान गरेको हो । कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले प्रमाणपत्र एवं अर्थसचिव रामप्रसाद घिमिरेले दोसल्लासहित शाखा अधिकृत भट्टराईलाई सम्मान गरे ।
भन्सार विभागमा उत्कृष्ट सेवा प्रवाह गरेकाले भट्टराईलाई सम्मान गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । विभागकै सिफारिसका आधारमा शाखा अधिकृत भट्टराइलाई सम्मान गरिएको चेम्बरका अध्यक्ष अग्रवालले बताए । भन्सार प्रशासनमा उत्कृष्ट सेवा गर्दै आएका कर्मचारीलाई भन्सार दिवसका अवसरमा चेम्बरले प्रत्येक वर्ष सम्मान गर्दै आएको छ ।
कार्यक्रममा चेम्बरका अध्यक्ष अग्रवालले भन्सार प्रशासन सुधारमार्फत व्यापार सहजीकरण गरिनुपर्ने बताए । अध्यक्ष अग्रवालले भन्सार प्रशासन सुधार गर्दै सीमामा हुने चोरी पैठारीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । विश्व भन्सार संगठनबाट निर्धारित मूल्यांकन पद्दति अनुसार भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ ।
सबै प्रकारका हार्मोनिक कोडमा अध्ययन पुनरावलोकन गरी १० डिजिटको हर्मोनिक कोड कायम गरिनुपर्ने अध्यक्ष अग्रवालले बताए । हार्मोनिक कोडको अस्पस्टताले गर्दा कुनै पनि प्रकारको भूत प्रभावित करको दायितत्व सिर्जना हुननहुने अध्यक्ष अग्रवालले बताए । भन्सार कार्यलयहरुमा प्रज्ञापन पत्र दर्ता देखि सामान जाँचपास हुने अवस्थासम्म सवै प्रक्रीयाहरु छिटो छरितो र भण्झट रहित बनाईनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए ।
विश्वव्यापार संगठन, विम्स्टेक र साफ्टा आदिमा गरिएका प्रतिवद्धता अनुसार विद्यमान भन्सारका दर घटाइनुपर्ने उनको भनाइ छ । चेम्बरका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले भन्सार प्रशासनलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । सीमाबाट हुने अवैध व्यापारलाई नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले भन्सार मूल्यांकन वास्तविक भन्दा बढी हुँदा समस्या भएको बताए । भन्सारमा सन्दर्भ मूल्य खारेज गरेर कारोबार मूल्यमान्यता दिए राजस्व असुलीमा वृद्धि गर्न सकिने वरिष्ठ उपाध्यक्ष मल्होत्राले बताए । अर्थसचिव घिमिरेले सरकार र निजी क्षेत्रसँगै मिलेर आर्थिक सुधारमा लाग्नुपर्ने भएकाले नीतिगत अफ्ठ्यारा सहज बनाउँदै लगिने बताए । सरकारले आर्थिक क्षेत्रमा देखिएका जटिलता अन्त्य गर्न विभिन्न अध्यादेश ल्याएकाले निजी क्षेत्रको मनोबल उकासिनुपर्ने घिमिरेले बताए ।