सुस्त अर्थतन्त्रको प्रभावमा घरजग्गा कारोबार

चालु आर्थिक वर्षको पुससम्ममा घरजग्गा कारोबारबाट सरकारले पाउने राजस्वमा केही सुधार आएको छ । गत आर्थिक वर्षको पुससम्म जति राजस्व उठेको थियो, अहिले त्योभन्दा २ अर्ब ५७ करोड रुपैयाँले बढेको छ । त्यो भनेको १४ प्रतिशतको सुधार हो । यो वर्षका ६ महिनामा सरकारको कुल राजस्व पनि यही हाराहारीमा बढेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकअनुसार पुससम्ममा देशभरिको घरजग्गा कारोबारबाट २० अर्ब ८२ करोड रुपैयाँ राजस्व उठेको छ ।
गत आवको पुससम्ममा यस्तो राजस्व १८ अर्ब २५ करोड रुपैयाँ उठेको थियो । तर, यो अवधिमा जग्गा कारोबारको लिखत संख्या भने ४ हजारले घटेको छ । यो पुससम्ममा घरजग्गा कारोबारमा ७ लाख ७ हजार लिखत पास भएका छन् । गत वर्ष पुससम्ममा ७ लाख ११ हजार लिखत पास भएका थिए । लिखतको संख्या कम हुँदा पनि राजस्वमा थप सुधार आएको छ । सरकारले यो वर्ष काठमाडाैं उपत्यकालगायत देशका विभिन्न भागमा जग्गाको न्यूनतम मूल्यांकन बढाएको थियो ।
काठमाडौं उपत्यकामा मात्र जग्गाको न्यूनतम मूल्यांकन १० देखि १५ प्रतिशत बढाइएको थियो । लिखत संख्या घट्दा राजस्व बढ्नुमा एउटा कारण यसलाई मानिएको छ । यस्तै गत वर्षको तुलनामा यो वर्ष बढी महँगा घरजग्गा किनबेच भएर पनि राजस्व बढेको हुन सक्छ । यो अनुमान मात्र हो । सरकारले यसका बारेमा अनुसन्धान गरेको छैन । चालु आवमा अर्थतन्त्रमा सुधार आउने र घरजग्गा कारोबार पनि बढ्ने अपेक्षा धेरैको थियो । यो अपेक्षाअनुसार कारोबार बढ्न सकेको छैन ।
यो वर्ष राजस्व थोरैले बढेको छ । तर, यसबाट घरजग्गा कारोबार चलायमान भएको भन्न मिल्दैन । राजधानी काठमाडौं उपत्यकादेखि देशको कुनै पनि कुनामा घरजग्गा कारोबारमा बढोत्तरी आएको छैन । यो वर्षको ६ महिनाको कारोबार हेर्दा पनि यस्तै संकेत देखिन्छ । चालु आवको साउनमा घरजग्गा कारोबारका १ लाख १९ हजार ३ सय २४ लिखत पास भएका थिए । त्यसबाट २ अर्ब ९१ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै भदौमा १ लाख २० हजार ३ सय ८१ लिखत पास भए । यसबाट ३ अर्ब ४ करोड राजस्व असुली भयो ।
असोजमा १ लाख ४० हजार लिखत पास भएर ४ अर्ब ८ करोड राजस्व उठेको थियो भने कात्तिकमा ७७ हजार लिखत पास हुँदा २ अर्ब १६ करोड राजस्व असुली भयो । मंसिरमा आउँदा १ लाख २७ हजार लिखत पास हुँदा २ अर्ब ८६ करोड राजस्व संकलन भयो । यस्तै पुसमा १ लाख ४० हजार लिखत कारोबार हुँदा ४ अर्ब २५ करोड राजस्व असुली भएको छ । यो वर्षको ६ महिनाको यो तथ्यांकले घरजग्गा कारोबारमा कुनै पनि महिना उच्च दरले किनबेच र मूल्य दुवै बढ्न सकेको देखाएको छैन ।
देशभरको कारोबारमा थोरै परिमाणमा मात्र लिखत संख्या फरक परेको छ भने राजस्वको अवस्था पनि उस्तै छ । यो तस्बिरले यो वर्ष साउनमा जस्तो कारोबार थियो, अहिले पनि उस्तै छ भन्न सकिने बलियो आधार देखिन्छ । महिना र समयअनुसार थोरै मात्र तलमाथि रहेको छ । विगतमा दैनिकजसो घरजग्गाको मूल्य अकासिने गरेको थियो । दुई–चार वर्षभित्र लगानी दोब्बर नभएको उदाहरण थिएन । उच्च प्रतिफल दिने सबैभन्दा गतिलो लगानीको क्षेत्र घरजग्गा बनेको थियो ।
यही कारण घरजग्गा कारोबारमा उद्योगी–व्यापारी, सर्वसाधारण, दलका नेता– कार्यकर्ता सबैले लगानी गरेका थिए । विगतमा जोसँग लगानीका लागि पैसा थियो र जसले बैंकिङ क्षेत्रबाट कर्जा लिन सक्थ्यो, त्यस्ता व्यक्तिमध्ये अधिकांशको लगानी घरजग्गामा थियो । अहिले यसको कारोबार र मूल्यमा सुस्तता आएकाले सबैको लगानी फसेको छ । घरजग्गा कारोबार सुस्त भएको धेरै समय भइसकेको छ । कारोबार सुस्त हुनुमा धेरै कारण जोडिएका छन् ।
यसको पहिलो कारण जग्गा वर्गीकरण गर्ने र कित्ताकाट रोक्ने सरकारी नीति हो । कित्ताकाट रोकिएपछि नै घरजग्गा कारोबारमा मन्दी आउन सुरु भएको थियो । यही बीचमा आएको कोभिड महामारीले अर्थतन्त्रलाई नै ध्वस्त बनाएपछि सुस्त बनेको घरजग्गा कारोबार उठ्नै नसक्ने गरी थलिएको छ । अब अर्थतन्त्र चलायमान नभएसम्म घरजग्गा कारोबार उकालो लाग्नेछैन । यो निश्चित हो ।