Logo

गौतमबुद्ध विमानस्थलमा आरएनपी-एआर प्रणाली

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा आज (बिहीबार) देखि आरएनपी–एआर ( रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड) प्रणाली लागु हुँदैछ । यो भू–उपग्रहमा आधारित प्रणाली हो ।

कम प्रकाशमा उडान र अवतरणका लागि विमानस्थलमा आईएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) जडान भए पनि छिमेकी मुलुक भारतसँग सहमति हुन नसक्दा यो प्रविधि सञ्चालनमा छैन । आईएलएसको विकल्पमा भू–उपग्रहमा आधारित आरएनपी–एआर प्रणालीबाट जहाज उडान र अवतरण गराउन लागिएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार भू–उपग्रहमा आधारित आरएनपी–एआर एप्रोच विधिका लागि ४२ दिने सूचना प्रकाशन भएको थियो । यसअनुसार आजदेखि यो लागु हुन लागेको हो । हाल यो विमानस्थलमा यान्त्रिक विधि(आईएफआर)मार्फत अवतरण गर्दा न्यूनतम भिजिबिलिटी १८ सय मिटर चाहिन्छ । अब आरएनपी–एआर विधिमा ९०० मिटर भिजिबिलिटीमा पनि जहाज अवतरण गर्ने महाप्रबन्धक तिवारीले बताए । ‘यो प्रविधि एउटा फ्लाइङ रुट हो, जसमा कुन डाइरेक्सन, कुन एंगलबाट जहाज अवतरण गर्ने भन्ने निर्देशनहरु पाइलटले फलो गर्नुपर्छ,’ तिवारीले भने । यो प्रणालीले भिजिबिलिटीका कारण उडान र अवतरणमा आइरहने अवरोध हट्नेछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो प्रविधि प्रयोगमा आइसकेको छ । जहाज अवतरणका लागि रेडियो नेभिगेसन प्रणालीभन्दा भू–उपग्रहमा आधारित ‘आरएनपी–एआर’ प्रणाली उत्तम मानिन्छ । यो प्रणाली विमानस्थलमा कुनै उपकरण जोडेर लागु हुने नभई ए३२० र ए३३० स्तरका जहाजमा लागु हुने हो । ती जहाजमा आरएनपी–एआर लागु गर्न सकिने प्रणाली पहिल्यै हुन्छ, सबै जहाजमा यो प्रणाली हुँदैन ।

यो प्रणाली लागु भए पनि यसअनुसार उडान–अवतरण गर्न विदेशी एयरलाइन्स कम्पनीहरुले सम्बन्धित देश र नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम पूरा गरी अनुमति लिनुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपककुमार बज्राचार्यले बताए । अनुमति लिएपछि पाइलटहरुलाई यो विधिमा अवतरण गराउन तालिम (टेस्ट फ्लाइट) चाहिने हुँदा यी सबै प्रक्रिया पूरा गर्नुपर्छ । अहिलेसम्म कुन पनि विमान कम्पनीले यसको अनुमतिका लागि निवेदन नदिएको बज्राचार्यले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आरएनपी–एआर प्रणालीले ११ सय मिटरको न्यूनतम भिजिबिलिटीमा काम गर्छ भने गौतमबुद्ध विमानस्थलमा ९०० मिटर भिजिबिलिटी नै पर्याप्त हुने प्राविधिकहरुको भनाइ छ । मधेशमा मंसिर, पुस र माघमा बाक्लो हुस्सुले भिजिबिलिटी घट्ने समस्याले आन्तरिकमात्र नभई बाह्य उडान पनि स्थगन हुने गरेको छ । यो समस्या समाधानका लागि ‘आरएनपी–एआर’ प्रणाली लागु गर्न लागिएको हो ।

मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिराले भिजिबिलिटीको समस्या देखाउँदै एक महिनामात्रै उडान गरेर सेवा बन्द गरेका छन् । बाक्लो हुस्सुका कारण जजिरा र एयर एसियाले उडान रोक्दै आएकोमा अर्को हप्तादेखि सुरुवात गर्ने तालिका छ भने फ्लाई दुबईले अघिल्लो हप्तादेखि पुनः उडान सुरु गरेको छ । नेपाल एयरलाइन्सले भने साताको चार दिन उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्