Logo

विकास बैंकको नाफामा सुधार, निष्क्रिय कर्जा बढ्यो

काठमाडौं– राष्ट्रिय स्तरका विकास बैंकको नाफामा केही सुधार देखिएको छ । पुस मसान्तसम्मको वित्तीय अवस्थाअनुसार विकास बैंकहरुको नाफा १४.७८ प्रतिशतले बढेको हो । पुससम्ममा विकास बैंकले २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा विकास बैंकको नाफा २ अर्ब २५ करोड थियो ।

राष्ट्रिय स्तरका ८ विकास बैंकमध्ये दुईवटाको नाफा घटेको छ भने बाँकी ६ को बढेको छ । नाफा घट्नेमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक र लुम्बिनी विकास बैंक छन् । सांग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा, महालक्ष्मी, ज्योति, गरिमा र मुक्तिनाथ विकास बैंकको नाफा बढेको छ ।

नाफामा सुधार भए पनि बैंकहरूको निष्क्रिय कर्जा बढेको वित्तीय विवरणले देखाएको छ । विकास बैंकहरूको न्यूनतम निष्क्रिय कर्जा ३.९८ प्रतिशत छ भने अधिकतम ४.९९ प्रतिशतसम्म पुगेको छ । आठ विकास बैंकले कर्जा असुली बढाउन नसक्दा निष्क्रिय कर्जा बढेको हो । समग्र प्रणालीमा समस्या आउँदा त्यसको असर विकास बैंकमा परेको गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय बताउँछन् ।

केन्द्रीय बैंकले कोरोनाको समयमा दिएका कतिपय सुविधा अहिले नहुँदा वित्तीय विवरणमा प्रभाव परेको उनले बताए । अहिले केही ठूला फाइल प्रक्रियागत रुपमा असुली गर्नुपर्ने अवस्थामा पुगेको उपाध्यायको भनाइ छ । प्रक्रियागत रुपमा असुली हुँदा त्यसले निष्क्रिय कर्जा घट्न मद्दत पुग्ने उनले बताए । ‘अर्थतन्त्रको सुस्तताका कारण अहिले विदेश जानेको संख्या बढेको छ, व्यवसायहरू बन्द भएका छन् । यी कारणले पनि अहिले कर्जा असुलीमा समस्या सिर्जना भएको हो । धितोका हिसाबले ती कर्जाहरू सुरक्षित अवस्थामा छन्,’ उनले भने ।

पुससम्ममा सबैभन्दा बढी नाफा गरिमा विकास बैंकको ५४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा यो बैंकको नाफा ५१ करोड २५ लाख थियो । गरिमाको नाफा ७.१६ प्रतिशतले बढेको छ । यो बैंकको निष्क्रिय कर्जा चालु आवको पुससम्ममा बढेर ४.७२ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.९५ प्रतिशत थियो ।

यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ९६.१० प्रतिशतले बढेर १९ करोड ६५ लाख पुगेको छ । गत आवको दोस्रो त्रैमासमा यो बैंकको नाफा १० करोड २ लाख थियो । यो बैंकको निष्क्रिय कर्जा न्यूनमात्रै बढेको छ । गत आवको पुसमा ४.८९ प्रतिशत रहेको सांग्रिला बैंकको निष्क्रिय कर्जा चालु आवको पुससम्ममा ४.९९ प्रतिशत पुगेको छ ।

कामना सेवा विकास बैंकको नाफा २४.५५ प्रतिशतले बढेर ३२ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत आवको पुस मसान्तमा २५ करोड ८९ लाख रुपैयाँ थियो । यो बैंकको निष्क्रिय कर्जा चालु आवको पुससम्ममा ४.३५ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ३.४२ प्रतिशत थियो ।

महालक्ष्मी विकास बैंकको नाफा ३.४० प्रतिशतले बढेर २८ करोड ७४ लाख पुगेको छ । गत आवको सोही अवधिमा २७ करोड ८० लाख नाफा थियो । यो बैंकको निष्क्रिय कर्जा चालु आवको पुससम्ममा ४.९३ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ४.२१ प्रतिशत थियो ।

ज्योति विकास बैंकको नाफा १४७.५७ प्रतिशतले बढेर २५ करोड १ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १० करोड १० लाख नाफा थियो । गत आवको पुससम्ममा ४.८८ प्रतिशत रहेको ज्योति विकास बैंकको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा ४.९८ प्रतिशत पुगेको छ ।

मुक्तिनाथ विकास बैंकको नाफा १९.७९ प्रतिशतले बढेर ५० करोड ३१ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ४२ करोड १७ हजार थियो । गत आवको पुससम्ममा २.५१ प्रतिशतमात्रै रहेको यो बैंकको निष्क्रिय कर्जा चालु आवको सोही अवधिमा ३.९८ प्रतिशत पुगेको छ ।

यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा १०.८७ प्रतिशतले घटेर ३३ करोड ८ लाखमा झरेको छ । गत आवको सोही अवधिमा ३७ करोड १२ लाख नाफा थियो । यो बैंकको निष्क्रिय कर्जा चालु आवको पुससम्ममा ४.४ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा २.६२ प्रतिशत थियो ।

लुम्बिनी विकास बैंकको नाफा ३०.४६ प्रतिशतले घटेर १४ करोड ७६ लाख भएको छ । गत आवको सोही अवधिमा २१ करोड २२ लाख नाफा थियो । यो बैंकको निष्क्रिय कर्जा चालु आवको पुससम्ममा ४.६८ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ३.५५ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्